दैलेखको दुल्लु नगरपालिका–१, डुंगेश्वरमा वादी समुदायको एउटा गाउँ छ। ३६ घरधुरीभएको यो गाउँमा दुई हप्ताअघि खानेपानीको एउटा योजना पूरा भयो।
बस्तीमा खानेपानी पुगेपछि बासिन्दाहरू गदगद भए। स्थानीय शान्ताको लागि त बाँचुन्जेल सम्झिने खुसी थपियो।
'यहाँ पानीको धारो कलकल बगेको दिन त मलाई अब हामी पानी मात्र खाएर पनि बाँच्न सक्छौं जस्तो लाग्यो। अहिले पनि उस्तै खुसी छु,' २२ वर्षीया शान्ता वादीले भनिन्, 'पानी आएपछि घरको आँगन सफा भएर चिटिक्क भएको छ।'
बस्तीमा खानेपानी नहुँदासम्म यहाँका बासिन्दा करिब २० मिनेट ओह्रालो हिँडेर खोलाको पानी भर्थे र आधा घन्टा उकालो हिँडेर घर आउँथे।
खोलाको पानीको गुणस्तरको कुरा अर्कै, झन्डै एक घण्टा लगाएर ल्याएको पानी मनखुसी चलाउन पनि नपाई, जोगाएर चलाउनुपर्थ्यो।
डुंगेश्वरको वादी समुदायले यसअघि यस्तै दुई वटा खुसी पाएको थियो। बस्ती खोला किनारमा थियो। हरेक वर्ष बाढीले दुःख दिन्थ्यो। सरकारले २०६९ सालमा घर बनाइदिएर हालको ठाउँमा सारेको थियो। त्यो बेला खुसी भएको यो बस्ती हालसालै एउटा गैरसरकारी संस्थाले घरघरमा आधुनिक शौचालय बनाइदिएपछि मख्ख परेको थियो। केही घरमा अहिले पनि शौचालय बन्ने क्रम चल्दै छ।
तर खानेपानी आएपछि भने सिंगो गाउँको आँतमा खुसी भरिएको छ। आँतै रसाउने गरी खानेपानी पुगेको भन्दै बस्तीबासी पुलकित छन्।
यसको श्रेय देवीसरा वादीले पाएकी छन्।
वादी बस्तीकी देवीसरा वडाबाट चुनिएकी जनप्रतिनिधि हुन्। सम्भवतः वादी गाउँबाट जनप्रतिनिधि बनेकी पहिली महिला उनै हुन्। उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा वडा नम्बर १ मा आरक्षित 'दलित महिला' वडा सदस्य पदमा निर्वाचित भएकी थिइन्।
उनै देवीसराले गर्दा यति छिटो आफ्नो गाउँमा पानी आएको शान्ताको बुझाइ छ।
'पानी नहुँदा हामीलाई कम्ता सास्ती थिएन। दिनरातै पानीकै तनाव हुन्थ्यो। पानी आको दिन हामी गाउँले मनै भरिने गरी खुसी भएका थियौं। त्यो दिनको खुसी बाँचुन्जेल सम्झिने छ,' उनले भनिन्, 'हाम्रोबाट चवानी सदस्य (वडा सदस्य) भएको यो एउटा फाइदा भएको छ।'
देवीसरकाले गाउँमा पानी ल्याउन आफू र गाउँलेहरूको उत्तिकै हात रहेको बताइन्।
'गाउँमा खानेपानी ल्याउन एउटा संस्थाले सहयोग गरेको हो। वडा सदस्य भएपछि मैले पनि मेरो गाउँको खानेपानी योजना पूरा गर्न वडाका बैठकहरूमा अड्डी कसेकी थिएँ,' उनले भनिन्, 'मेरो अगुवाइमा सबै गाउँले मिलेर दबाब दियौं। खानेपानी आएपछि सजिलो भयो, खोलाको पानी खानुपर्ने बाध्यता हट्यो।'
वडाध्यक्ष तर्कबहादुर खड्का पनि देवीसराले बस्तीमा पानी ल्याउन सुरूदेखि नै पहल गरेको बताए।
'त्यो बस्तीमा पानीको अभाव थियो। हामीले पहल गरिरहेका थियौं। देवीसराजीले त सुरूदेखि नै त्यहाँ पानी लैजाने अडान राख्नुभयो,' उनले भने, 'उहाँले बस्तीको माग चाहिँ प्रत्येक बैठक र कार्यक्रमहरूमा उठाउनुहुन्छ, त्यो बस्तीलाई हामीले पनि विशेष रूपमा सम्बोधन गर्ने प्रयास गरिरहेका छौं।'
डुंगेश्वरका वादी परिवारसँग सम्पत्तिका नाममा सरकारले २९ वर्गमिटरमा बनाइदिएको एउटा घर मात्र छ। गरिखाने जमिन छैन। घर पनि आफ्नो नाममा छैन।
गाउँघरमा मजदुरीबाट हुने कमाइमा चित्त बुझाउनेहरू गाउँमै बसेका छन्। कोही मजदुरीका लागि भारत गएका छन्। कसैको सिंगो परिवार भारतमा छ। त्यस्ता परिवारका घर रित्ता छन्।
यही बस्तीबाट देवीसरा पहिलो जनप्रतिनिधि बनिन्।
चुनावमा उम्मेदवार बन्दासम्म उनी कुनै पनि किसिमले राजनीतिमा संलग्न थिइनन्। विगतका निर्वाचनहरूमा मतदान गरेकी थिइन् तर कुनै पनि दलमा थिइनन्। जहिले पनि नेपाली कांग्रेसलाई मतदान गर्थिन्।
निर्वाचनको मनोनयन दर्ता हुने केही दिनअघि नेकपा एमालेका स्थानीय नेताहरूले उनलाई भेटे, एमालेका तर्फबाट वडा सदस्य उम्मेदवार हुन आग्रह गरे।
उनले वास्ता गरिनन्। आफू उम्मेदवार बन्न उचित नठानेर अस्वीकार गरिन्। नेताहरूले उम्मेदवार भए जित हुने पक्का छ भनेर आश्वस्त बनाउने प्रयास गरे।
उनका अनुसार ती नेताहरूले तपाईंका श्रीमानले हामीलाई लगाएको गुन तिर्नु छ, तपाईं उम्मेदवार हुनुभयो भने जिताएर गुन तिर्छौं भनेर विश्वासमा लिने प्रयास पनि गरे।
देवीसराका श्रीमान पहिलो स्थानीय तह निर्वाचनका समयमा बितेका थिए। उनी तामा र पित्तलका भाँडा मर्मतको काम गर्थे। श्रम बापत अन्न, नुनतेल, तरकारी इत्यादि पाउँथे। वरिपरिका गाउँमा क्षेत्री समुदायको बसोबास थियो।
यसरी देवीसराका श्रीमान 'खलोप्रथा' मा काम गर्थे। उनको परिश्रमको अन्नपात र देवीसराको मजदुरीले घरमा चुलो बल्ने गरेको थियो।
देवीसरालाई उम्मेदवार बनाउन आएका नेताहरूले 'तिर्ने' भनेको 'गुन' उनका श्रीमानले जीवनभर 'खलोप्रथा' मा गरेको गाउँलेको सेवा बापतको थियो।
उनी नेताहरूको वचनको भरमा परिनन्, आफ्नो बस्तीमा सल्लाह गरिन्। बस्तीका सबैजसो परिवारलाई एक ठाउँमा जम्मा गरेर सोधिन्, 'म चुनावमा वडा सदस्यमा उठ्ने (उम्मेदवार हुने) भनेकी छु। तिमीहरूको भनाइ के छ? उठेँ भने मलाई भोट दिन्छौ कि दिँदैनौ?'
भेला भएका सबैले उम्मेदवार हुन सल्लाह दिए, भोट दिने प्रतिबद्धता जनाए।
अन्ततः उनी नेकपा एमालेका तर्फबाट उम्मेदवार बनिन्। आफू उम्मेदवार बनेको पार्टीका अन्य उम्मेदवारसँगै प्रचारप्रसारमा लागिन्।
मतदान भयो। उनी विजयी भइन्। डुंगेश्वरको वादी समुदायबाट पहिलोपटक जनप्रतिनिधि भइन्।
'मैले चुनाव जितेपछि त मेरो पदमा कांग्रेस र माओवादीबाट उठेका उम्मेदवारहरू पनि छक्क परे। केही नहुने वादीले हामीलाई हराइदिई भन्ने सोचे होला,' उनले भनिन्, 'अरू केही उम्मेदवार त मसँग रिसाए पनि। राजनीतिमा लागेपछि अरूले रिस पनि गर्दा रहेछन् भन्ने थाहा पाएँ।'
वडाको चुनावी नतिजा घोषणा हुँदा देवीसरा घरमै थिइन्। उनका छोराले आमाले चुनाव जितेको थाहा पाए। तुरून्तै मोटरसाइकल मगाएर आमालाई मतगणना भइरहेको ठाउँ दुल्लु पुर्याए।
विजेताहरू जितको खुसी मनाइरहेका थिए। देवीसरा पनि सहभागी भइन्।
'दुल्लु पुगेपछि मलाई त उचालेर काँधैकाँध एक ठाउँबाट अर्को ठाउँमा पुर्याइदिए। अबिर र मालाले टाउकोसम्म पुरिदिए,' खुसी हुँदै उनले भनिन्, 'मैले त कहिल्यै त्यसरी मान पाएकी थिइनँ। धेरै खुसी भएँ।'
उनी जीवनमा पहिलोपटक त्यसरी सम्मानित भएकी थिइन्।
डुंगेश्वर बजारमा बोलाएर व्यापारीले पनि सम्मान गरे। व्यापारीहरूले नोटको माला र अबिर लगाइदिए। केही दिन उनी यसै गरी व्यस्त भइन्। जनप्रतिनिधि भएकी हुनाले उनको बस्तीका बासिन्दाहरू उनीसँग आशावादी छन्।
बस्तीकी प्रतिनिधि भन्नु उनी एक्लै हुन्।
उनले गाउँमा खानेपानी आयोजना ल्याउन र पूरा गर्न आफूले पहल गरेको बताइन्।
उनले भनिन्, 'सुरूमा पानी ल्याउन पहल गरेँ। दाता अरू नै भए पनि समयमै काम सक्नुपर्छ भनिरहेँ। अहिले गाउँमा पानी आएको छ, सबैलाई पुगेको छ।'
सामूहिक धारा जडान गरिएका छन्। चाँडै घरघरै धारा पुर्याउने योजना छ। त्यसका लागि गाउँलेबाट थोरै नगद सहयोग लिएको उनले बताइन्।
देवीसरा वडामा जनप्रतिनिधिले गर्ने काम र निर्णय प्रक्रियाका बारेमा जानकार हुँदै छिन्। वडाको बैठकमा जानुअघि बस्तीमा छलफल गर्छिन्।
'म सहमत हुन नसक्ने निर्णय गरेका रहेछन् भने सही नै गर्दिनँ, कहिलेकाहीँ आफू जान नपाएको बैठकमा केही निर्णय भएको रहेछ भने सबै पढ्न लगाउँछु, सचिवले पढेर सुनाउँछन्,' उनी भन्छिन्, 'चित्त बुझ्यो भने सही गर्छु नत्र सच्याउनु पर्यो भन्छु।'
देवीसरासँग आफ्नो बस्तीका लागि मुख्य दुई वटा चाहना छन्। उनी बस्तीको नजिकमा स्वास्थ्य चौकी स्थापना गर्न र बस्तीका घर पहिरोबाट सुरक्षित गर्न पर्खाल लगाउन चाहन्छिन्।
'स्वास्थ्य चौकी टाढा छ। हाम्रो बस्तीका महिलाहरू बच्चा बोकेर खोप लगाउन उकालो हिँडेर स्वास्थ्य चौकी जानुपर्छ। नजिकै सानै भए पनि एउटा स्वास्थ्य चौकी भए हुन्थ्यो,' उनी भन्छिन्, 'बस्तीको तल्लो भागको जमिन कमजोर छ, वर्षातको सिजनमा चर्किन्छ। यहाँ सबैतिर घरका आँगनमुनिबाट पक्की पर्खाल लगाउनु छ।'
कहिलेकाहीँ बस्तीका बासिन्दाले उनलाई 'तिमीले काम गर्न सकिनौ' पनि भन्छन्।
जनप्रतिनिधिका रूपमा देवीसराको कामको सीमा छ। उनी वडा सदस्य हुन्, निर्णय उनले गर्ने होइन। त्यो सीमा गाउँलेहरू बुझ्दैनन्।
'तिमीलाई जिताएर पठायौं। हाम्रा लागि काम नगर्ने भयौ भन्छन्,' उनले गुनासो गरिन्, 'उनीहरूले भन्न पाउँछन् तर मैले भनेको कुरा सबै लागु हुँदैन। मैले भनेको जति काम हुँदैन।'
देवीसराका अनुसार उम्मेदवार बन भनेर आग्रह गर्न आउने नेताहरूलाई उनले बस्ती सुरक्षित गर्न तलपट्टि पर्खाल लगाउनुपर्छ भनेकी थिइन्।
'तिमी वडा सदस्य भयौ भने पर्खाल लगाउने काम हामी गराउँछौँ भनेका थिए तर अहिलेसम्म आश्वासनमै सीमित छ।
आफ्नो कार्यकालभरिमा स्वास्थ्य चौकी बनाउने र पर्खाल लगाउने काम गरेरै छाड्ने उनको अठोट छ। जनप्रतिनिधि भएका बेला यी दुई काम गर्न सके आफू मरेपछि पनि गाउँलेहरूले सम्झिने थिए भन्ने उनलाई लागेको छ।