प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार नेपाल–भारतको सुगौली सन्धि (१८१६) बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत काली (महाकाली) नदीको पूर्वका सबै भूभाग नेपालको हो भन्नेमा दृढ रहेको बताएका छन्।
विनियोजन विधेयक लगायतको सन्दर्भमा मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा १९५० को शान्ति तथा मैत्री सन्धि लगायत विद्यमान द्विपक्षीय सन्धि तथा सम्झौताहरूलाई परिमार्जन र अद्यावधिक गर्न एवं सीमा सम्बन्धी विषयलाई स्थापित कुटनीतिक संयन्त्रहरूमार्फत समाधान गर्ने सहमति भएको बताए।
उनले परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा कर्मचारीबाट औचित्यपूर्ण, आवश्यक र निर्दिष्ट उद्देश्यकासाथ विदेश भ्रमण भएको पनि बताए।
‘उच्चस्तरीय भ्रमणहरूको समन्वय, संयोजन तथा व्यवस्थापन समेत परराष्ट्र मन्त्रालयले गर्ने गरेको छ। नेपालको अन्तर्राष्ट्रिय सीमाबारे सम्मानित सदन, माननीय सदस्यहरू, नेपाल सरकार र हामी सबै स्पष्ट र दृढ छौं। यस विषयमा हाम्रो राष्ट्रिय सहमति छ। मिति २०७७ असार ४ मा मा संविधानको दोश्रो संशोधनमार्फत नयाँ नक्सा समेटी संविधानको अनुसुची ३ मा रहेको नेपालको निशाना छाप अद्यावधिक गरिएको तथ्य यहाँहरूलाई अवगत नै छ। नेपाल सरकार नेपाल–भारतको सुगौली सन्धि (१८१६) बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत काली (महाकाली) नदीको पूर्वका सबै भूभाग नेपालको हो भन्नेमा दृढ छ,’ उनले भने।