श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक रहेको बताएका छन्।
बुधवार ताहचलस्थित श्रम विभागमा विभागबाट भइरहेका काम र कर्मचारीको अवस्थाको अनुगमनका क्रममा मन्त्री अर्यालले मन्त्रीहरुले मन्त्रालयमा बसेर निर्देशन दिने भन्दा पनि कार्यस्थलको अध्ययन र अनुगमन गरी कर्मचारीहरुलाइ उत्साह जगाउन आवश्यक रहेको बताएका हुन्।
उनले एक घन्टामा श्रम स्वीकृत गर्ने काम कार्यान्वयनमा ल्याएपछि विभागले सेवा ग्राहीलाई कसरी सेवा दिइरहेको विषयमा अनुगमन गर्न कार्यस्थलमा गएको बताए।
‘एक घण्टामा श्रम स्वीकृत गर्ने काम धेरै मेहनतपछि कार्यान्वयनमा ल्याएका छौं। त्यसको प्रभाकारी कार्यान्वयन भएको छ की छैन भन्ने अनुगमन थियो,’ उनले भने,‘कर्मचारीहरुले अत्यन्तै शान्त रुपमा काम गर्नुभएको छ। श्रम विभागबाट हुने सेवामा सुधार भएको छ।’
उनले एक घण्टामा श्रम स्वीकृत अनलाइनमार्फत हुने व्यवस्थाले श्रम विभागमा श्रम स्वीकृतिको लागि आउनेहरु मानिसहरु कमी देखिएको बताए।
‘त्यसले गर्दा सेवाग्राही विभागमा आइरहनु परेन। ठगिनु भएन। मन्त्रीले मन्त्रालयमा बसेर निर्देशन र आदेश मात्रै दिने होइन। कार्यस्थलमा कर्मचारीहरुको अवस्था र उहाँहरुलाई उत्साह जगाउन जरुरी छ,’ मन्त्री अर्यालले भने। (न्युज एजेन्सी नेपालबाट)