कीर्तिपुर नगरपालिकामा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आगामी उपनिर्वाचनका लागि तालमेल गरेका छन्।
आइतबार दुई पार्टीको नगर समिति स्तरीय प्रतिनिधिहरूबीच चुनावी तालमेल गरी संयुक्त रूपमा सहभागी हुने सम्बन्धमा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।
कीर्तिपुरमा माओवादी मेयर र वडा-४ को अध्यक्ष उम्मेदवारलाई जनता समाजवादीले र वडा-१ को अध्यक्षमा जसपाका तर्फबाट प्रस्तुत उम्मेदवारलाई माओवादीका तर्फबाट साझा उम्मेदवारमा प्रस्तुत गर्ने भएको छ।
मेयरमा माओवादीका शिव शरण महर्जन तथा वडा- १ को वडा अध्यक्षमा जसपाका सरल गोपाल महर्जन र वडा- ४ को वडा अध्यक्षमा माओवादीका नारायण विष्टलाई साझा उम्मेदवार बनाउने निर्णय गरिएको दुई पार्टीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।
यस्तै, सबै उम्मेदवारहरूले माओवादीको चुनाव चिह्नलाई साझा चुनाव चिह्नको रूपमा लिएर अगाडि बढ्ने समेत भनिएको छ।
यसअघि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवारलाई नेकपा (एकीकृत समाजवादी) ले पनि समर्थन गर्ने भनेको थियो। यस्तै, काठमाडौं महानगर वडा-१६ को वडा अध्यक्ष पदमा एकीकृत समाजवादीका मिनबहादुर मानन्धरलाई माओवादीले समर्थन गर्ने भएको भनिएको थियो।
मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।