नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ताको दुरूपयोग भइरहेको आरोप लगाएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
उनले सत्ताको बारेमा आफूले कुनै कुरा नगरेको उल्लेख गर्दै सरकारले संविधान र संसदलाई उपेक्षा गरेको बताए।
उनले संसदको बैठकलाई छलेर र विधेयकहरू समितिमा विचाराधीन रहेको अवस्थामा अध्यादेश ल्याउन नहुने बताए।
अध्यादेश ल्याउनका लागि समितिमा विचाराधीन विधेयक पहिला फिर्ता गर्नुपर्ने बताए। अध्यादेश ल्याउँदा पनि सबैसँग छलफल भए विवाद कम हुने बताए।
उनले भने, ‘मैले सत्ताको बारेमा केही भनेको छैन। सत्ताको दुरूपयोग भइरहेको छ। सरकारले संविधानलाई र संसदलाई उपेक्षा गर्ने काम गरिरहेको छ। संसदको बैठकलाई छलेर त्यसमा पनि विधेयकहरू समितिमा विचाराधीन रहेको अवस्थामा अध्यादेश ल्याउने काम भएको छ। यो नियम विपरीतको काम हो। यस्तो कामहरूको बारेमा सरकारलाई हामीले खबरदारी गर्नुपर्छ। यस्ता कुराबाट पछि हटोस् भनेर त्यसको निम्ति दबाब दिनुपर्छ। विधि प्रक्रियाको उल्लंघन हुनु भएन। विधेयक समितिमा छ भने समितिबाट पहिला फिर्ता हुनुपर्छ। बल्ल अध्यादेशको रूपमा आउनसक्छ। विधेयक समितिमा विचाराधीन हुँदाहुँदै त्यसमा अध्यादेश ल्याउन पाइँदैन। अध्यादेश ल्याउनै छ भने छलफलको विषय बनाउँदा विवाद कम हुन्छ। छलफलपछि राम्रो हुन्छ। सरकारले राम्रो काम गरोस् भन्ने शुभेक्षा छ।’
अध्यक्ष नेपालले सरकारले राम्रा काम गरोस् भन्ने आफूहरूको शुभेक्षा रहेको बताए। —न्युज एजेन्सी नेपाल