राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले नागरिकलाई दुषित पानी खुवाउने गरेको आरोप लगाएका छन्।
बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
उनले सरकारले पानी खुवाएको तर खुवाएकोमध्ये ८० प्रतिशत जनतालाई दुषित पानी खुवाएको बताए।
उनले नागरिकमाथिको यस्तो व्यवहार सरकारले गर्नु नहुने बताए।
उनले शिक्षामा पनि विद्यार्थीलाई दिवा खाजाको प्रलोभन देखाएर भर्ना गर्ने तर शिक्षाको गुणस्तर सुधार गर्नेतर्फ अघि नबढेको बताए।
उनले तथ्यांकमा अब्बल देखाउनका लागि मात्रै गरिएको कामले प्रतिफल नदिने बताए।
उनले भने, ‘हामीले पानी त ख्वायौं तर दुषित पानी खुवाइरहेका छौं। यो त गम्भीर विषय भयो नि। बरू नखुवाउँदै ठिक हुन्छ नि। खानेपानी हामीले ९० प्रतिशतभन्दा माथि जनसंख्यालाई खुवायौं भनेका छौं। तर करिब त्यो मध्येको ८० प्रतिशत जनतालाई त दुषित पानी खुवाएका छौं। जिउँदै मार्ने टाइपको। यो विषय कति गम्भीर छ। शिक्षाको बारेमा जनतालाई ललिपप देखाएर आफूतिर आकर्षित गरेजस्तो गरेर स्कुलमा धेरै भर्ना गर्नको निम्ति खाजाको व्यवस्था गरिएको हुन्छ। त्यही पनि त्यसको गुणस्तर त आफ्नो ठाउँमा छ। किन १० लाख, १५ लाख विद्यार्थी सुरूमा हुन्छ, अन्तिममा पुग्दा माध्यमिक विद्यालयसम्म पुग्दा ५ लाख पनि हामी बुझाउन धौधौ। हामी डाटामा आफूलाई अब्बल देखाउनको निम्ति खाजा भन्ने वस्तु देखाउँछौं, र भर्नातिर ल्याउँछौं। क्वान्टिटीमा बढी ध्यान दिने तर क्वालिटीमा छैन।’
अध्यक्ष दाहालले कति सडक, बिल्डिङ र उद्योग बने भन्ने कुराले मात्रै नेपाली जनताको मापन गर्ने नभइ नेपाली जनताको जीवनस्तरमा कति प्रगति भयो भन्नेबारेमा मापन गर्न जरुरी रहेको बताउनु भयो ।