नेपाल प्रहरी सम्बन्धी विधेयकले प्रहरी जवानदेखि प्रहरी महानिरीक्षक (आइजिपी) सम्मको अवकास पाउने उमेर हद बढाउने प्रस्ताव गरेको छ।
मंगलबार संसदमा दर्ता भएको नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकले अवकास पाउने उमेर हद बढाउने प्रस्ताव गरेको हो।
प्रतिनिधि सभामा दर्ता भएको विधेयक पारित भई राष्ट्रिय सभामा पुग्नेछ। राष्ट्रिय सभामा पनि पारित भएपछि कानुनी हैसियत प्राप्त गर्नेछ।
यो नयाँ विधेयकले ३० वर्षे सेवा अवधिबाट अवकास पाउने व्यवस्था भने हटाएको छ।
प्रहरी नियमावली २०७१ मा आइजिपीको उमेर हद ५८ छ। यो विधेयकले त्यो उमेर हदलाई बढाएर ६० वर्ष बनाउने प्रस्ताव गरेको छ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वा प्रहरी नायब महानिरीक्षक (डिआइजी) ५६ वर्षमा अवकास हुँदै आएकोमा त्यसलाई ५९ बनाउने प्रस्ताव भएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वा प्रहरी उपरीक्षक (एसपी)को ५५ वर्षमा अवकास पाउँदै आएकोमा ५८ वर्ष बनाइने भएको छ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) ५४ वर्ष र प्रहरी निरीक्षक (इन्स्पेक्टर) अवकास पाउँदै आएको छ। दुबै पदको अवकास पाउने उमेर हदलाई ५७ वर्ष बनाउन सरकारले प्रस्ताव गरेको हो।
त्यस्तै प्रहरी वरिष्ठ नायब निरीक्षक वा प्रहरी नायब निरीक्षक ५२ वर्ष, सहायक निरीक्षक ५१, प्रहरी वरिष्ठ हवलदार, प्रहरी हवल्दार, प्रहरी सहायक हव्दार वा प्रहरी जवानको ४८ वर्षमा अवकास पाउने व्यवस्था छ।
अब नयाँ विधेयकले वरिष्ठ नायब निरीक्षक, नायब निरीक्षक र सहायक निरीक्षकको ५४, वरिष्ठ हवल्दार, हवल्दार, सहायक हवल्दार र प्रहरी जवानको ५१ वर्ष बनाउने प्रस्ताव गरेको हो।
कार्यालय सहयोगीको भने उमेर घटबढ गरिएको छैन।
पदावधिबाट अवकास पाउने व्यवस्थामा पनि हेरफेर भएको छ।
आइजिपी ४ वर्ष, एआइजी/डिआइजी पाँच वर्ष, एसएसपी ६ वर्ष र एसपी १० वर्षमा अवकास पाउने व्यवस्था छ।
अहिलेको विधेयकले भने आइजिपीको पदावधि घटाएर तीन वर्ष बनाएको छ। एआइजीको तीन वर्ष, डिआइजीको पाँच वर्ष, एसएसपीको आठ वर्ष र एसपीको १० वर्ष कायम गर्ने प्रस्ताव विधेयकमा छ।