प्रथम युवा कानुन व्यवसायी सम्मेलन दुई वटा निर्णय गर्दै सकिएको छ।
नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समितिको संयोजनमा बुधबार सम्मेलन भएको थियो।
यो सम्मेलनले नेपाल बार एसोसिएसनभित्र स्थायी युवा वकिल समितिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
युवा वकिलहरूको सर्वेक्षण प्रतिवेदनको निरन्तर कार्यान्वयन सुनिश्चित गर्नुपर्ने र युवा वकिलहरूलाई सक्रिय रूपमा भाग लिन र कानुनी पेशाको दिशालाई प्रभाव पार्न सशक्त बनाउन पनि सम्मेलनले भनेको छ।
सम्मेलनमा सात सय जनाभन्दा बढी कानुन व्यवसायीहरू सहभागी रहेका थिए।
सम्मेलनमा कानुन व्यवसायीहरूको सरोकारका विषयलाई सम्बोधन गर्न समूहगत छलफल र देशभर रहेका युवा कानुन व्यवसायीहरूबीच गरिएको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको थियो।
सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। प्रधानमन्त्री ओलीले देश र जनताप्रति निष्ठा राखेर तथा इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिएका थिए।
अधिवक्ता सेमन्त दाहालका अनुसार बार एकातिर र युवा कानुन व्यवसायीहरू अर्कोतिर हुन नदिई युवाहरूको कम्पनप्रति जानकार रहन र युवा कानून व्यवसायीहरूका मुल समस्या तथा चुनौतीलाई पहिचान गर्न सम्मेलन गरिएको थियो।