नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले फागुन १ गतेलाई वर्षेनी 'जनक्रान्ति दिवस' का रूपमा मनाउन प्रस्ताव गरेका छन्।
यस्तो दिवस राज्य, सबै दल र जनताको तर्फबाट मनाउनुपर्ने भट्टराईको भनाइ छ।
'जनयुद्ध दिवस' का अवसरमा बिहीबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै पूर्वमाओवादी नेता भट्टराईले लेखेका छन्, ‘शब्दको जुंगाको लडाइँ छोडौं, फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक वर्ष 'जनक्रान्ति दिवस' को रुपमा मनाऔं।’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री भएका बेला 'जनयुद्ध दिवस' मा सरकारले बिदा दिने निर्णय गरेको थियो। उक्त विषयलाई लिएर आलोचनासमेत भएको थियो।
पछि सर्वोच्च अदालतले 'जनयुद्ध दिवस' मा बिदा नदिन आदेश दिएको थियो। संघीय सरकारले सार्वजनिक बिदा नदिए पनि माओवादी केन्द्रले जितेका केही स्थानीय तहहरूमा फागुन १ गते बिदा दिने गरिएको छ।
भट्टराईले फागुन १ गते नेपालको युगान्तकारी जनविद्रोह 'जनयुद्ध' सुरू भएको दिन भन्ने उल्लेख गरेका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न उक्त दिनले सुरूवात गरेको भट्टराईको भनाइ छ।
‘त्यो महायज्ञमा अमूल्य ज्यान अर्पण गर्ने महान शहीदहरू, बेपत्ताजन, घाइते/अपांग योद्धाहरू सबैमा अन्तरहृदयदेखि उच्च सम्मान,’ उनले भनेका छन्।
१९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२-६२ सालको सशस्त्र 'जनयुद्ध', २०६२/६३ सालको संयुक्त जनआन्दोलन, मधेस विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोड्नुपर्ने पनि भट्टराईको भनाइ छ।