भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने अमेरिका भ्रमणमा छन्।
आफ्नो निमन्त्रणामा अमेरिका पुगेका मोदीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार नै ह्वाइट हाउसमा स्वागत गरे। त्यहाँ उनीहरुबीच विभिन्न विषयमा लामो कुराकानी भएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्।
कुराकानीपछि ह्वाइट हाउसमा संयुक्त पत्रकार सम्मेलन गरी के-के विषयमा छलफल भयो भन्नेबारे ट्रम्प र मोदीले पत्रकारहरूलाई ब्रिफिङ गरे।
ट्रम्प र मोदीबीच आप्रवासीदेखि व्यापारलगायत विभिन्न विषयमा छलफल भएको छ। पत्रकार सम्मेलनमा दुवैले एक अर्काको तारिफ गरेका थिए। ट्रम्पले मोदीलाई आफूभन्दा कडा वार्ताकार र मध्यस्तकर्ता भनेका छन् भने मोदीले राष्ट्रहितलाई सर्वोच्च कसरी कायम राख्ने भन्ने ट्रम्पबाट सिक्न सकिने बताएका थिए।
ट्रम्पले विश्वका सबै देशहरूलाई 'रेसिप्रोकल' महसुलको लगाउने तयारी गरेका छन्। रेसिप्रोकल महसुल भनेको अमेरिकी समानमा कुनै देशले जति महसुल लगाउँछन्, ती देशका सामान अमेरिकामा आयात हुँदा त्यति नै भन्सार दर लगाउने भनेको हो।
मोदीसँगको भेटमा ट्रम्पले भारतमाथि पनि रेसिप्रोकल महसुल लगाइएको बताएका छन्। 'उनीहरू हामीलाई जति महसुल लगाउँछन्, हामी पनि त्यति नै महसुल लगाउँछौं,' ट्रम्पले भने।
यद्यपि द्वीपक्षीय व्यापार वृद्धि गरी आगामी २०३० सम्ममा ५ खर्ब डलर पुर्याउने सहमति गरेका छन्। यसका लागि दुई देशका प्रतिनिधिले आपसी समन्वय गरी व्यापार सम्झौता तयार गर्ने भनिएको छ।
द्वीपक्षीय विकास, उत्पादन, प्रविधि आदानप्रदान गर्ने र दुवै देश आणविक ऊर्जाको क्षेत्रमा लगानी बढाउन सहमत भएका छन्। भारतले अमेरिकाबाट तेल र ग्यासको खरिद वृद्धि गर्ने भनिएको छ।
यसपालिबाट भारतमा सैनिक हात हतियारको व्यापार बढाउने पनि बताएका छन्। पत्रकार सम्मेलनमा ट्रम्पले भारतलाई लडाकू विमान एफ-३५ दिने प्रक्रिया थालिने बताएका छन्।
'यही वर्षदेखि भारतसँगको सैनिक हातहतियार व्यापार वृद्धि गर्नेछौं। भारतलाई एफ-३५ लडाकु विमान प्रदान गर्ने बाटो पनि यसैपालि खोल्दैछौं,' ट्रम्पले भने।
भारतीय अधिकारीहरूले भने लडाकु विमान सम्झौता नभई प्रस्तावमात्रै रहेको र त्यसमा कुनै प्रक्रिया सुरू नभएको बताएका छन्।
ह्वाइट हाउसमा पत्रकारहरूले अदानी समूहबारे पनि प्रश्न गरेको थियो।
मंसिर ५ गते अमेरिकाको धितोपत्र आयोग र न्यायाधीवक्ता कार्यालयले अदानीलाई घुसखोरीको अभियोग लगाएको थियो।
सौर्य ऊर्जाको ठेक्का पाउनका लागि भारतका सरकारी अधिकारीलाई २५ करोड डलर भन्दा धेरै घुस खुवाउने प्रस्ताव गरेको अभियोग लगाएको थियो।
त्यसबारे के कुराकानी भयो भनेर पत्रकारहरूले सोधेका थिए। जबाफमा मोदीले त्यस विषयमा कुराकानी नभएको बताए।
'दुई प्रमुख नेताहरूबीचको छलफलमा व्यक्तिगत मामिलाहरू समावेश हुँदैनन्,' मोदीले पत्रकारहरूलाई भने।
मोदीले अमेरिकामा अवैध रूपमा रहेका भारतीय आप्रवासीहरूलाई फिर्ता लिन आफू तयार रहेको पनि ट्रम्पसँग बताएका छन्।
यद्यपि यसअघि डिपोर्ट भएका भारतीयहरूलाई अमानवीय ढंगले हातखुट्टा बाँधेर पठाइएकोबारे मोदीले प्रश्न गरेनन्।
ट्रम्पले भारत-मध्यपूर्व-युरोप आर्थिक करिडोर (आइएमइसी) मा लगानी गर्ने दुवै राष्ट्रप्रमुख सहमत भएको बताएका छन्।
'यो सबैभन्दा ठूलो व्यापारिक मार्गमध्येको हो। यो एक ठूलो विकास हो। यसमा धेरै पैसा खर्च हुनेछ र हामीले पहिले नै केही खर्च गरिसकेका छौं र धेरै खर्च गर्ने तयार छौं,' ट्रम्पले भने।
आइएमसीबारे सन् २०२३ मा भारतमा भएको जी-२० सम्मेलनमा सम्झौता भएको थियो। यसमा दुईवटा करिडोर समावेश छन्।
पूर्वी करिडोर भारतबाट खाडी मुलुक जोडिन्छ भने र उत्तर करिडोर खाडीबाट युरोप हुँदै अमेरिका पुग्छ।
'भारतबाट इसराइल, इटाली हुँदै अमेरिका पुग्ने करिडोरले हाम्रा साझेदारहरूलाई जोड्ने छ। यसमा सडक, रेलमार्ग, पानीजहाज मार्ग समावेश हुनेछन्,' ट्रम्पले भने।
उक्त सम्झौतामा भारत, अमेरिका, साउदी अरब, संयुक्त अरब इमिरेट्स, युरोपेली युनियन, इटाली, फ्रान्स र जर्मनीले हस्ताक्षर गरेका छन्।
ह्वाइट हाउसको भेटमा चीन र भारतबीचको सीमा विवादबारे पनि ट्रम्पले चासो दिए।
उनले आवश्यक परे आफू मध्यस्तकर्ताको भूमिका खेल्न तयार
'भारत र चीनबीच सीमानामा विवाद छ। त्यहाँ झडप पनि भए। आगामी दिनमा पनि नहोला भन्न सकिन्न। आवश्यक पर्छ भने समस्या समाधानका लागि अमेरिका मध्यस्तकर्ताको भूमिका खेल्न तयार छ,' ट्रम्पले भने।
उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि आफ्नो घनिष्ट सम्बन्ध भएको बताए। चीन र भारत दुवै देशसँग आफ्नो सम्बन्ध राम्रो भएकाले दुई देशबीचको विवाद समाधान गर्न आफू मध्यस्तकर्ताको भूमिका खेल्न तयार भएको ट्रम्पले बताएका हुन्।
'मध्यस्तकर्ताको आवश्यकता छ भने म तयार छु,' ट्रम्पले भने।
मोदीले रूस र युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले खेलेको भूमिकाको प्रशंसा गरे। उनले रूस र युक्रेन दुवै देशसँग भारतको राम्रो सम्बन्ध भएको बताउँदै त्यहाँ शान्ति स्थापना हुन जरूरी रहेको बताए।
सन् २००८ नोभेम्बर २६ मा मुम्बईमा भएको आतंकवादी आक्रमण घटनाको एक अभियुक्तलाई सुपुर्दुगी गर्न पनि ट्रम्प तयार भएको बताइएको छ।
मुम्बईमा भएको आतंकवादी हमलाको एक अभियुक्त तहववुर राना लस एन्जलसको जेलमा छन्। उनी पाकिस्तानी मूलका क्यानाडेली नागरिक रहेको पाकिस्तानी मूलकै अमेरिकन 'आतंककारी' डेभिड कोलम्यान हेडलीका निकट पात्र रहेको भनिएको छ।
कोलम्यान मुम्बईमा भएको आतंकवादी आक्रमणको मुख्य योजनाकारमध्येका एक रहेको भनिएको छ।
'अमेरिका एक हिंस्रक व्यक्तिलाई भारत फिर्ता पठाउँदैछ,' ट्रम्पले ह्वाइट हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने।
मोदीले आफ्नो देशमा भएको आतंकवादी हमलामा संलग्नलाई सुपुर्दुगी गर्ने निर्णयप्रति ट्रम्पलाई धन्यवाद दिए।
मुम्बईको नरसंहार भएको घटनाको अभियुक्त भारतलाई दिने निर्णय भएकोमा राष्ट्रपतिप्रति आभारी छु। अभियुक्तबारे भारतको अदालतले उचित निर्णय गर्नेछ,' मोदीले भने।
ट्रम्प र मोदी दुवैले आतंकवादविरूद्ध अमेरिका र भारत मिलेर अघि बढ्ने बताए। ट्रम्पले बाइडेन प्रशासन र भारतबीच राम्रो सम्बन्ध नरहेको पनि बताए ।
'हामी भारतको मस्ट वान्टेड अपराधी उसैलाई दिँदैछौं। र अपराधविरूद्ध दुई देश मिलेर काम गर्नेछौं,' ट्रम्पले भने।
भारतको विदेश मन्त्रालयले यसअघि पनि तहवुर रानालाई सुपुर्दुगी गर्न अनुरोध गर्दै पत्राचार गरेको थियो। तहववुरले आफूलाई भारत सुपुर्दुगी नगर्न अदालतमा अपिल गरेका थिए। उनको अपिललाई जनावरी २१ मा अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदिएको थियो।
त्यसपछि उनलाई भारत ल्याउने बाटो खुलेको हिन्दुस्तान टाइम्सले जनाएको छ। ट्रम्पले उक्त प्रक्रिया तत्कालै सुरू हुने भनेका छन्।