अर्घाखाँचीस्थित पाणिनी तपोभूमि सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली पाणिनी पुगेका छन्।
काठमाण्डौंबाट हेलिकोप्टरमार्फत तपोभूमि पुगेका प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका हुन्।
लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनी गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले संयुक्त रुपमा सम्मेलन आयोजना गरेका हुन्।
पाणिनी संस्कृत व्याकरणको रचना गरेको स्थलको रुपमा देशभर प्रचलित छ। पाकिस्तानको लाहोरबाट सयौं वर्षपहिले अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पाणिनि गाउँपालिका १ र २ को पणेना जंगलमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको इतिहास रहेको छ।
ऐतिहासिक एवं प्राचिन स्थल रहे पनि प्रचारप्रसार हुन नसकेको भन्दै प्रदेश सरकार र दुईवटा पालिकाले पाणिनी सम्मेलन आयोजना गरेका हुन्।
दुईदिनसम्म चल्ने सम्मेलनले संस्कृतको पुनरुत्थानसँगै पर्यटनको विकास, स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सांस्कृतिक गौरवको पुनर्जागरणका लागि कोशेढुंगा सावित हुने विश्वास गरिएको छ।
नेपाल सरकारले २०७६ सालमा समेटेका १ सय पर्यटकीय गन्तव्यमध्ये पाणिनी तपोभूमिलाई पनि समेटिएको थियो।
विश्वको प्राचीन भाषा संस्कृत व्याकरणको उत्पत्ति र रचना भएको पाणिनि तपोभूमिको गरिमा र महत्वलाई सम्मेलन मार्फत प्रचारप्रचार गरी संसारभर चिनोउने उद्देश्य राखिएको छ।