नेकपा एकीकृत समाजवादीको कोशी अधिवेशनमा अध्यक्षका आकांक्षीहरूको लर्को लागेपछि 'सहमति खोज्न' भन्दै बन्दसत्र स्थगित भएको छ।
मंगलबार सुरू भएको प्रदेशको पहिलो अधिवेशनको उद्घाटन कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले प्रदेश नेतृत्व 'सर्वसम्मत रूपमा छान्नुपर्ने' भन्दै प्रतिस्पर्धा रोक्ने प्रस्ट सन्देश दिएका थिए।
बुधबार दिनभरि चलेको बन्दसत्रमा प्रतिवेदनहरूमाथि छलफल भएको र बिहीबार ११ बजे सुरू हुने गरी बुधबारको बन्दसत्र साँझ स्थगित भएको पोलिटब्युरो सदस्य अशेष घिमिरेले जानकारी दिए।
पार्टी अध्यक्ष माधवकुमार नेपालले मंगलबार सुनसरीको इटहरीमा उद्घाटन गरेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ। एमालेबाट विभाजित भएर बनेको यो पार्टी पनि 'प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्ने' एमालेकै जस्तो मान्यता राख्छ। तर चुनावी प्रतिस्पर्धा गराउन भने नेताहरू सधैं हच्किरहेको देखिन्छ।
केन्द्रीय महाधिवेशनमा पनि नेताहरू आफैले नेतृत्व चयन गरेको एकीकृत समाजवादीमा भर्खरै मोरङमा पनि नेताहरूले प्रतिनिधि घर पठाएर ६ दिनपछि पार्टी कार्यालयको भित्तामा नाम टाँसेका थिए।
'केन्द्रदेखि जिल्लासम्म यस्तो अभ्यास गरेको पार्टीको प्रदेश नेतृत्व चयनमा कस्तो अभ्यास होला?,' पोलिटब्यूरो सदस्य घिमिरेले भने, 'सहमतिमा नेतृत्व चयन सबैभन्दा उन्नत लोकतान्त्रिक विधि हो। सकेसम्म त्यही उन्नत विधिमार्फत नेतृत्व चयन हुन्छ। सहमति जुट्न नसकेको खण्डमा अपनाउनु पर्ने विधि पार्टीले अवलम्बन गर्नेछ।'
एकीकृत समाजवादीको प्रदेश अध्यक्षका लागि पाँच जना नेताहरूले दाबी पेस गरेका छन्। बुधबार साँझसम्म निर्वाचन कार्यक्रम प्रकाशन भने भएको छैन।
पोलिटब्युरो सदस्यहरू धर्मराज निरौला र महेश रेग्मी, केन्द्रीय सदसयहरू सरिता खड्का र केशव विष्ट र उदयपुरका पार्टी अध्यक्ष विनोद खड्काले अध्यक्षमा दाबी गरिरहेका छन्।
बन्दसत्र सञ्चालन भएको ठाउँमा रहेका वरिष्ठ नेता घनेन्द्र बस्नेत, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षद्वय जगन्नाथ खतिवडा र जयन्ती राई, उपमहासचिव राजेन्द्र राई लगायत नेताहरू आकांक्षीहरूबीच सहमति जुटाउने प्रयासमा छन्। तर, सहमतिको प्रयास विफल भएपछि बिहीबार बिहानसम्मलाई बन्दसत्र स्थगित भएको हो।