नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता परिवर्तनबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भनेको जस्तो सत्ता परिवर्तन सम्भव नरहेको बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठकको निर्णय सुनाउने क्रममा उपमहासचिव गिरीले सत्ता परिवर्तनबारे प्रचण्डको अभिव्यक्ति केबल उनको चाहना मात्रै रहेको बताएका हुन्।
'त्यस्तै भइदिए हुन्थ्यो भन्ने उहाँको चाहना हो। सुरूदेखि नै समीकरण नबनोस्, सहयात्रा अगाडि नबढोस् भन्नेमै हुनुहुन्थ्यो। सत्ताबाहिर एकदिन पनि उहाँलाई धेरै गाह्रो भएको छ भन्ने प्रकट गरिराख्नुभएको छ,' ज्ञवालीले भने।
ज्ञवालीले कांग्रेस र एमालेबीच अझै खेल्न सकिन्छ कि भन्ने प्रयासका रूपमा प्रचण्डको अभिव्यक्तिलाई लिएको बताए।
नत्र अहिलेको परिस्थितिमा असम्भव, निरर्थक र अलोकप्रिय विषय उठाउनुपर्ने कारण नभएको उनले बताए।
'पहिलो यो असान्दर्भिक कुरा हो। मुलुककासामु समस्याहरू छन् त्यहाँ काहीँ पनि सरकार परिवर्तनको विषय चर्चा हुनु न नेपाली जनताले मन पराउँछन् न त्यो कुनै समाधान हो,' उनले भने।
सत्तामै रहेका दलका नेताहरूले गरेको आलोचना सरकारले अझै राम्रो काम गरोस् भन्ने सुभेच्छा रहेको उपमहासचिव ज्ञवालीले बताए।