राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्।
आइतबार राति उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए। राणालाई उपचारका निम्ति सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा परिवारको जिम्मा लगाइएको उनले बताए।
'उहाँको मुखमा क्यान्सर भएको ठाउँमा मासु पलायो र परीक्षण गर्दा राम्रो उपचारको आवश्यकता छ भनेर मात्र उहाँको श्रीमतीको जिम्मामा हाजिर जमानीमा रिहा गरिएको हो,' उनले भने।
राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख/केन्द्रीय कार्यसम्पादन समिति सदस्य मोहनकुमार श्रेष्ठले पनि आफ्नो सामाजिक सन्जालमार्फत् राणा रिहा भएको जानकारी दिएका छन्।
राप्रपा महामन्त्री राणा करिब तीन महिना भारतका विभिन्न अस्पतालमा क्यान्सरको उपचार गरेर गत पुसमा स्वदेश फर्किएका थिए। त्यसपछि उनी राजनीतिमै सक्रिय रहँदै आएका थिए।
उनले स्वास्थ्य उपचारका लागि हिरासत मुक्त गरिदिन आग्रह गर्दै आएका थिए।
चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शन भड्काएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।