नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कूटनीति र न्याय सेवालाई छुट दिई अन्य सेवामा कुलिङ पिरियड राख्न नहुने बताएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा बोल्दै उनले संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा विभेदकारी नीति राख्न नहुने बताए।
उनले सरकारले सबै कर्मचारीहरूलाई समान व्यवहार गर्नुपर्ने बताए।
सबै सेवाका कर्मचारीहरूको हकमा कम्तीमा दुई वर्ष कुलिङ पिरियड राख्नु उपयुक्त हुने उनको भनाइ छ।
उनले विधेयकलाई टुंगोमा पुर्याउन गठित उपसमितिमा पाँच जनाले कुलिङ पिरियड एक वर्ष राख्नुपर्ने भन्दै नोट अफ डिसेन्ट लेखेका थिए।
सांसद थानीले भने, ‘कुलिङ पिरियडको विषयमा न्यायाधीश र कूटनीतिकहरूको बारेमा के राखिएको बताइदिनुपर्यो। यसमा सबैलाई समान अधिकार र व्यवहार गर्नुपर्छ भन्ने हो। जे नेपाली नागरिकले पाइरहेको छ त्यो सबैले पाओस् भन्ने दृष्टिकोण मेरो हो। उपसमितिका सदस्यहरूमध्ये कसैले दुई वर्षको राख्ने भन्नुभएको छ। कसैले एक वर्षको राख्नुभएको छ। के गर्दाखेरि उपयुक्त हुने हो? म त दुई वर्षकै पक्षमा हो। दुई वर्ष राख्दाखेरी नै यो मुलुकको भविष्य राम्रो हुन्छ भन्ने कुरा म राख्न चाहन्छु।’
उनले निजामती कर्मचारीहरूले आचारसंहिता पालना गर्ने नगरेको गुनासो आउने गरेको भन्दै आचारसंहिता पालना गर्न बाध्यकारी व्यवस्था गर्नुपर्ने बताए।
उनले कर्मचारीलाई आचारसंहिता पालना गराउन कारबाहीको व्यवस्था गर्न सभापतिसमक्ष सुझाव दिए।
उनले संघीय निजमती विधेयक सर्वसम्मतिले पारित गरेर पठाउन समेत आग्रह गरे।
उनले कर्मचारीका मागहरू सम्बोधन गर्न नसकिए शिक्षकहरू जस्तै सडकमा आउने स्थिति बन्नसक्ने भन्दै कर्मचारीमैत्री ऐन बनाउन जरूरी रहेको पनि बताए। —न्युज एजेन्सी नेपाल