नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले नेकपा (माओवादी केन्द्र) सत्ताको लोभबाट बाहिर निस्किन नसकेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले माओवादी अहिलेको सरकार हटाएर कांग्रेस नेतृत्वको सरकार बनोस् भन्ने पक्षमा रहेको बताए।
उनले कांग्रेसको अहिलेको नेतृत्व आएर देशका सबै समस्या समाधान हुन्छन्? भन्दै प्रश्न गरे।
उनले कांग्रेस लायक पार्टी नभएको आरोप लगाए।
उनले माओवादीले गणतन्त्र आफूले ल्याएको र यसको भोग पनि आफूले मात्रै गर्न पाउनुपर्ने तर्क गरेर हिँडिरहेको भन्दै यसबाट देश बन्न नसक्ने जिकिर गरे।
उनले प्रधानमन्त्रीको विरूद्धमा अहिले देशभर नै नारा लागिरहेको भन्दै जनतामा विश्वास नरहेको जिकिर गरे। त्यसको जबाफमा वैशाख ११ गते जनसागर उतार्ने कुरा गर्नु दुःखद् भएको बताए।
उनले प्रदर्शनमा आउनेहरूले 'आई लभ यु केपी बा' नभई क्रान्तिको हिसाब माग्नुपर्ने बताए।
उनले भने, ‘मैले पटक पटक भन्ने गरेको छु, कांग्रेस पार्टी भनेको न लायक पार्टी हो, न नालायक पार्टी हो। त्यो अरू नालायक भए भने लायक भएर देखिन्छ, अरू लायक भए भने त्यसको महत्व नै रहँदैन। अर्को एउटा क्रान्तिकारी हाम्रो सहयात्री पार्टी छ। नेकपा (माओवादी केन्द्र)। माओवाद भनेर नाम राखेको छ। के हो माओवाद? व्याख्या पनि गर्न सक्दैन। किन राखेको हो थाहा छैन। लुकिङ लण्डन, टकिङ टोकियो। माओवाद भनेको यता हेरेर उता कुरा गर्ने। सिद्धान्त कता हो थाहा छैन। के सन्दर्भमा छ? माओवादबाट हेर्दा समाज, भूराजनीति के कता देखिन्छ? अर्कै देखिन्छ। त्यस्तो सिद्धान्त लिएर हिँडेको छ। त्यसले क्रान्ति गर्नै सक्दैन।’
उनले अगाडि भने, ‘त्यसले यस्तै गर्दछ, हाम्रा बलमा गणतन्त्र आयो, गणतन्त्र हामीले ल्याएको हो, यो हामीले ल्याएको हो त्यसैले यसको भोग पनि हामीले गर्न पाउनुपर्छ। तर्क प्रणाली यही हो। मधेस यात्रामा छ आँखा काठमाडौंमा छ। कहिले यो सरकार गएर कांग्रेस आओस् भन्छ, साँच्चै अहिलेको कांग्रेस नेतृत्वको सरकार बनेर यो समस्या समाधान हुने हो? एउटा जिम्मेवार मान्छेले बोल्दा त्यस्तो भन्छ।’
महासचिव भूसालले देश डुबिरहे पनि दलाल पुँजीपतिहरू फाइदामा रहेको बताए।
उनले नेता सफल तर देश असफल भइरहेको अवस्था रहेको जिकिर गरे।—न्युज एजेन्सी नेपाल