प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलहरूप्रति लक्षित गर्दै देशको नेतृत्व गर्ने जिम्मा दिन नसकिने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गाडी चलाउन नजान्ने ड्राइभरलाई चलाउने जिम्मा दिन नसकिने बताए।
उनले राजनीति गर्नेहरूले राजनीति गर्न नहुने र राजनीति गर्न नजान्नेलाई राजनीति गर्न दिनुपर्ने कुरा नसुहाउने बताए।
उनले राजनीति बुझेका व्यक्तिलाई राजनीतिक डुंगा चलाउन नदिँदा डुंगा डुब्ने खतरा रहेको बताए।
उनले नेकपा एमालेलाई महाप्रलयका साथ हमला गर्दा पनि एमाले माथि उठेर देशको प्रमुख राजनीतिक दल भएको बताए।
प्रमुख पार्टीका रूपमा आइसकेपछि पनि एमालेलाई नबुझेको उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले भने, ‘नेकपा एमाले यस्तो शक्ति हो। एउटा त यस्तो महाप्रलयका साथ हमला गर्दा सकिएन त। प्रमुख पार्टीको रूपमा आयो त बुझ्नु पर्दैन अझै। अझै पनि ट्याईं ट्याईं गर्छन्। भुइँफुट्टाहरूले। राजनीति कसरी गर्न खोजेका छन्, देख्नुभएन। राजनीति गर्नेहरूले राजनीति गर्न हुँदैन अरे। माझीलाई डुंगा चलाउन नदिने, म चलाउँछु भनेर बगाइदिने, घोप्ट्याइदिने, डुबाइदिने। ड्राइभरलाई गाडी चलाउन नदिने, सिक्दै नसिकेका मान्छे आएर यसले चलाएन, यो बुढो ड्राइभर, यसले पहिलेदेखि चलाएको छ। यो २० वर्ष भयो चलाएको कहाँ पाउँछ, म अब सिटमा बसेर चलाउँछु भन्छ। कहिल्यै चलाएको छैन। त्यसले के हुन्छ? त्रिशूलीमा खसाल्दैन? त्रिशूलीमा पुर्याउँदै, पुर्याउँदैन यहीँ पर्तिर खसालिहाल्छ नि। यस्ताहरूलाई जिम्मा दिन सकिन्छ? जसले मेसिन चलाएको छैन, उसले मेसिन चलाउने, सेफलाई खाना बनाउन नदिने, अनि अनाडि कहिल्यै आमाले बनाएको चिया बाहेक आफूले एक कप चिया बनाएर पनि नखाएकोले म खाना बनाएर खुवाउँछु भनेर चामल पनि डडाउँछ, दाल पनि तरकारी पनि डडाउँछ। नुन हाल्दैन, बेसार नै बेसार बनाउँछ। काम लाग्छ? नयाँ पनि हामीले देख्यौँ।’
प्रधानमन्त्री ओलीले राजनीति कसरी गरिरहेका छन् भन्नेकुरा मनन गर्न पार्टीका नेता/कार्यकर्ताहरूलाई आग्रह गरे। —न्युज एजेन्सी नेपाल