नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पटक-पटक धोका भएको भन्दै शिक्षकहरूलाई निरन्तर आन्दोलन गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूका मागबारे गम्भीर रूपमा वार्ता नगरेको पनि उनको आरोप छ।
‘म शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन अपिल गर्छु,’ नेपाल कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार भएको कार्यक्रममा प्रचण्डले भने, ‘तपाईंहरू पटक पटक आन्दोलन गर्नुभएको छ, पटक पटक सम्झौता भएको छ र पटक पटक धोका भएको छ। यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ।’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नकारात्मक भइदिएपछि शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिनुपरेको पनि बताए।
‘शिक्षकका समस्या माओवादी वा कुनै पार्टी विशेषका समस्या त होइन। यो त राष्ट्रकै समस्या हो। शिक्षकहरूले माग गरेको कुनै नयाँ कुरा पनि होइन, हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भनेको हो। सम्झौताअनुसारको ऐन बनाइदेऊ भनेको हो,’ उनले भने, ‘तर त्यसमा प्रधानमन्त्री असाध्यै नकारात्मक भइदिएपछि एमालेकै शिक्षा मन्त्रीले राजीनामा दिनुभयो, यसबाट पनि सरकार कति गैरजिम्मेवार छ भन्ने नयाँ प्रमाण प्रस्तुत भएको छ। यो सरकार आफ्नै बोझमा दबिएर सिध्धिन्छ। सरकारले बुद्धि पुर्यायोस्।’