प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएको विषयमा बोलेका छन्।
आफूसँग असहमति नभई स्वास्थ्यका कारण भट्टराईले राजीनामा दिएको प्रधानमन्त्रीको भनाइ छ।
नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसका अवसरमा मंगलबार भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मन्त्री भट्टराईको राजीनामालाई प्रधानमन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएको पनि बताए।
यो पनि: शिक्षक आन्दोलन चर्किरहेका बेला यसकारण दिइन् शिक्षा मन्त्री भट्टराईले राजीनामा
‘उहाँ मैले बनाएको मन्त्री हो, मैले काम लगाइरहेको छु, सहयोग गरिरहेको छु, सिकाइराखेको छु। ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो। यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन,’ प्रधानमन्त्री ओलीले भने।
शिक्षा मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएकी थिइन्।
प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गर्दै एमाले र कांग्रेससँगको सहमति बमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने बताए।