राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश जारी भएको छ।
मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।
यसअघि न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको थियो। सोमबार उक्त इजलासले हेर्न नमिल्नेमा राखेको हो।
लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा आइतबार रिट दायर गरेकी थिइन्।
यसअघि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजालसले गरेको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो। चैत ३१ गते भएको सुनुवाइमा सर्वोच्चले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो।
लामिछाने हाल रूपन्देही कारागार कार्यालयमा थुनामा छन्।
रूपन्देहीको सुप्रिम सहकारी ठगी र संगठित अपराधमा उनलाई जिल्ला अदालतले एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो।
उच्च अदालतले जिल्लाको फैसला बदर गर्दै चैत २२ गते उनलाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो।