जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको नेपाल सरकारले निन्दा गरेको छ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी पर्यटकमाथि भएको हमलाको कडा शब्दमा निन्दा गर्दै शोकसन्तप्त परिवारहरूप्रति समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको हो।
'नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो । आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्,' विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि घटनाको निन्दा गर्दै दुःखद घडीमा नेपाल भारत सरकारको साथमा रहेको बताएका छन्।
'आतंकवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भर्त्सना गर्दछ,' प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले आक्रमणमा नेपाली नागरिक पनि परेको भन्ने विवरण प्राप्त भएको र त्यसको पुष्टीका लागि सम्बन्धित निकायहरूसँग सरकारले समन्वय गरिरहेको बताए।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी २६ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।
मृतकमध्ये अहिलेसम्म दुई जना विदेशी नागरिक, एक नौसेना जवान र दुई जना स्थानीयको पहिचान खुलेको सञ्चार माध्यमहरूले जनाएका छन्।
गोली चलेको आवाज सुनेपछि सुरक्षाकर्मीहरू पहलगम पुगेका थिए। मिनी स्विट्जरल्यान्ड भनेर चिनिने पर्यटकीय क्षेत्र पहलगम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ। यो पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो। घटनास्थलसम्म हिँडेर वा घोडाबाट मात्र जान मिल्ने भएकाले उद्धार काम कठिन भएको अधिकारीहरूले बताएका छन्।
घटनामा घाइते भएका कम्तीमा १२ जना अस्पतालमा भर्ना भएको र उनीहरूको अवस्था सामान्य रहेको स्थानीय डाक्टरले बताएका छन्।
'द रेसिस्टेन्ट फ्रन्ट' नामक समूहले घटनाको जिम्मेवारी लिएको बताइएको छ।
यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठूलो नागरिकमाथिको आक्रमण भएको अधिकारीहरूले बताएका छन्।