उपचारका लागि भारतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले आफू आजै स्वदेश फर्कने र सोमबार प्रदर्शनीमार्गमा हुने कार्यक्रममा सहभागी हुने बताएका छन्।
चैत १५ गते तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि राणा पक्राउ परेका थिए। आफू बिरामी रहेको भन्दै उनले उपचार गर्न समय माग गरेअनुसार उनलाई हाजिरी जमानीमा प्रहरीले छाडेको थियो।
नवराज सुवेदी संयोजक रहेको 'संयुक्त जनआन्दोलन समिति' मा पनि उनी आन्दोलन परिचालन समितिमा छन्।
‘राजसंस्था र हिन्दुराष्ट्रको निमित्त समान विचार बोक्ने दल, संघ संस्था, अभियान ,समूहद्वारा आयोजना हुने कार्यक्रमहरूमा साथ सहयोग रहने हाम्रो पार्टी राप्रपा र जनआन्दोलन समितिले पहिल्यै नै निर्णय गरिसकेको अवस्थामा यो कार्यक्रममा सक्रिय सहभागिताको निमित्त हार्दिक अपिल गर्दछु। भारतमा स्वास्थ परिक्षण पश्चात् आजै बेलुकी स्वदेश फर्कदै छु, भोलि प्रदर्शनीमार्गमा भेटौ, म पनि त्यही हुनेछु,’ महामन्त्री राणाले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
उनी उपचारका लागि गत वैशाख १० गते भारतको मुम्बई गएका थिए। उनी तीन महिना भारतका अस्पतालमा उपचार गरी गत वर्ष पुसमा स्वदेश फर्केका थिए।
सोमबार कमल थापा नेतृत्वको राप्रपा नेपालको आयोजनामा 'आस्थाका बन्दीहरूलाई तत्काल रिहाइ र विचारका आधारमा बन्देज लगाउने ऐन बनाउन पाइँदैन' भनेर प्रदर्शन गर्न लागेको र उक्त कार्यक्रममा आफू सहभागी हुने राप्रपा महामन्त्री राणाको भनाइ छ।