राप्रपा नेपालको आयोजनामा सोमबार भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रम रत्नपार्कको शान्तिबाटिकामा हुने भएको छ।
पार्टीका महामन्त्री राजाराम बर्तौलाले आइतबार बेलुकी प्रेस नोट जारी गर्दै कार्यक्रमस्थल परिवर्तन गरिएको जानकारी दिए।
चैत १५ गते तीनकुने घटनामा पक्राउ परेकाको तत्काल रिहाई र राजसंस्था र धर्मनिरपेक्षताको विरोधमा बन्देज लगाउने कानुन निर्माण हुन लागेकामा त्यो तत्काल रोकिनुपर्ने भन्दै सोमबार हुने जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको समेत उनले जानकारी दिए।
'पार्टीको झण्डामा नभई कार्यक्रम राष्ट्रिय झण्डामा आयोजना हुनेछ। समान विचार भएका दल, समूह, अभियान, संघ-संस्था र व्यक्तिहरूलाई सक्रिय सहभागिताका लागि पत्राचार गरेका छौं। सबैको साथ, सहयोगको प्रतिबद्धता पाएका छौं, हामी उत्साहित छौं,' उनले भने।
'पार्टी अध्यक्ष कमल थापाले विभिन्न शीर्ष नेताहरूसँग सम्पर्क, समन्वय गर्नुभएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टसँग अध्यक्षज्यूको कुरा भएको छ। आउने वचन दिनुभएको अध्यक्षज्यूबाट जानकारी भएको छ,' बर्तौलाले थपे।
उनका अनुसार राष्ट्र बचाउ अभियान, नेपाली कांग्रेस (बिपी), शिव सेना नेपाल लगायत विभिन्न संघ, संस्थाहरूसँग पनि समन्वय भएको र निमन्त्रणा गरिएको छ।
पार्टीको सम्पूर्ण संयन्त्र परिचालन भएको, तल्लो तहसम्म क्रियाशील भएको र भ्रातृ संगठनहरू चलायमान भएको पनि उनले बताए।
अनावश्यक घुसपैठ नहोस् भनेर स्वयंसेवकको व्यवस्था गरिएको छ भने कार्यक्रमपछि सरसफाईको निमित्त भ्रातृ संगठन समन्वय विभागले टिम निर्माण गरिसकेको पार्टीले जनाएको छ।