नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने काममा अघि बढेको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले फेरि कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने गरी आफूहरू अघि बढिरहेको उल्लेख गरे।
चुनौतीका विरूद्ध लड्ने संकल्पसहित फेरि विचार, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने गतिका साथ काम गरिरहेको उनको जिकिर छ।
अध्यक्ष दाहालले अहिले प्रतिक्रियावादी, अवसरवादी अझ बढी आफूहरूविरूद्ध घेराबन्दी गर्ने, भ्रमहरू छर्ने काममा लागेको आरोप लगाए।
उनले नेताहरूलाई देवत्वकरण गर्न नहुने पनि बताए।
अध्यक्ष दाहालले भने, ‘नेताहरूप्रति हामीले बुझ्दा देवत्वकरण गरेर बुझ्यो भने पनि गलत हुन्छ। त्यसको विकृत तरिकाले बुझ्यो भने त झन गलत हुन्छ। प्रत्येक पार्टी र नेताहरूका पनि सीमा हुन्छन्। कमजोरी पनि हुन्छन्। महान लेनिनले भनेको झैँः सीमा र कमजोरी नभएको मान्छे अहिलेसम्म जन्मिएको छैन। कुनै पार्टी पनि जन्मिएको छैन। जन्मिदा पनि जन्मिँदैन। सही नेताले नै कमजोरी सकेसम्म नगर्न बल गर्दछ, भए सच्याउँछ। त्यसलाई नै इतिहासले महान भन्छ। त्यसलाई नै जनताले आदर्शका रूपमा हेर्दछन्।’
उनले अघि भने, ‘अहिले देशमा जस्तो परिस्थिति छ, हामी फेरि कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने धेरै चुनौतीहरू हाम्रो अगाडि यतिबेला छन्। हामी ती चुनौतीका विरूद्ध लड्ने संकल्पसहित हामी फेरि विचारलाई, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजान खोजेका छौँ। हामीले यसो गर्न खोजे बापत् प्रतिक्रियावादी, अवसरवादी अझ बढी हाम्रो विरूद्ध घेराबन्दी गर्ने, हाम्रा विरूद्ध भ्रमहरू छर्ने, अनेक किसिमको षड्यन्त्रहरू भएका छन्। यो स्वाभाविक रूपले भइ पनि राख्छन्।’
अध्यक्ष दाहालले समाजवादको बाटो तयार गर्न अविचलित भएर अघि बढ्नुपर्ने बताए। —न्युज एजेन्सी नेपाल