भनिन्छ — जीवनमा जसले आफ्नो खुसी सोच्छ; ऊ सुखी पनि हुन्छ, सफल पनि हुन्छ।
यो स्टोरीमा म एक यस्तै महिलाको कुरा गर्दैछु, जसले अरू कसैको परवाह नराखी आफ्नो खुसी रोजिन्।
उनी हुन्, सुलोचना जिसी।
बत्तीस वर्षीया सुलोचनाले आफ्नो खुसीको निम्ति सुरू गरेको अचार व्यापारले एक सफल ब्रान्डको रूप लिएको छ। त्यो ब्रान्ड हो — सुलोचनाज् क्रिएसन।
उनले खासमा नर्सिङ पढेकी हुन्। पढाइ सकेर नर्सको जागिर सुरू गर्दा २१ वर्षकी थिइन्। त्यही उमेरमा बिहे पनि गरिन्।
उनको वैवाहिक सम्बन्ध त्यति लामो टिकेन। आठ वर्षपछि उनले श्रीमानसँग सम्बन्ध विच्छेद गरिन्।
यसपछि उनका अगाडि धेरै समस्या आए। ती समस्या मूलत: सामाजिक र पारिवारिक थिए। त्यसबीच उनलाई नर्सिङ कामबाट खुसी महसुस भएन। उनले त्यसमा सन्तुष्टि पाउन सकिनन्।
आखिरमा उनले जागिर छाडिन् र एक्लै बस्न थालिन्।
'म आफ्नै सर्तमा जिन्दगी बाँच्न चाहन्थेँ। मलाई जागिरले खुसी दिन सकेन। मलाई आफ्नै काम गर्न मन थियो। धेरैले लोक सेवा जाँच दिन वा विदेश जान सल्लाह दिन्थे। हामीकहाँ लोक सेवा पास गर्नु वा विदेश जानुलाई नै सफलताको मानक मान्ने चलन छ। मलाई भने यी दुवै काममा रूचि थिएन। म नेपालमै बस्न चाहन्थेँ र यस्तो काम गर्न चाहन्थेँ जसमा म खुसी हुन्छु,' सुलोचनाले भनिन्।
उनी नयाँ काम सुरू गर्ने सोचमा त थिइन्, तर के गर्ने थाहा थिएन। नियमित आम्दानीको स्रोत नभएकाले कोठा भाडा तिर्न पनि गाह्रो थियो। उनी भक्तपुरको थिमिमा डेरा लिएर बस्थिन्। अहिले पनि त्यहीँ बस्छिन्।
उनलाई सानैदेखि स्विमिङमा रूचि थियो। उनी राम्रो पौडी खेल्छिन् र अरूलाई पनि सिकाउन जानेकी छन्। कोठा भाडा तिर्न गाह्रो भएपछि उनले स्विमिङ सिकाएर केही समय गुजारा चलाइन्।

कहिलेकाहीँ चारैतिर अन्धकार छाएका बेला जूनकिरीको उज्यालोले पनि बाटो देखाउँछ। सुलोचनालाई त्यस्तै भयो।
नयाँ काम गर्ने इच्छा हुँदा हुँदै बाटो नदेखेर अलमलिएकी सुलोचनालाई एकदिन घरबेटी दिदीले आफ्नै हातले बनाएको लप्सीको अचार खुवाउन ल्याइन्।
अचारको स्वाद उनको जिब्रोमै झुन्डियो।
उनले सोचिन् — यति तिख्खर अचार त पक्कै धेरैलाई मन पर्छ। व्यावसायिक रूपमा सञ्चालन गर्ने हो भने राम्रो बजार लिन सक्छ।
उनले धेरै दिन यसबारे मनमा कुरा खेलाइरहिन्। डिपार्टमेन्ट स्टोरहरू घुमेर बजारमा पाइने विभिन्न ब्रान्डका अचार हेरिन्। ती अचारको माग बुझिन्।
जब उनलाई त्यस्ता तयारी अचारले राम्रो बजार लिइरहेको थाहा भयो, तब आफ्नै व्यवसाय सुरू गर्ने निधो गरिन्।
त्यति बेलासम्म उनलाई अचार बनाउने ज्ञान थिएन। उनले घरबेटी दिदी र युट्युबको मद्दतले विभिन्न किसिमका अचार बनाउने तरिका सिकिन्। यसका लागि खासै धेरै लगानी नचाहिने रहेछ भन्ने थाहा पाएपछि झन् उत्साहित भइन्।
केही समयको तयारीपछि जब उनलाई एक हदसम्मको आत्मविश्वास आयो, तब जम्मा ११ सय रूपैयाँ लगानी गरेर आफ्नै कोठामा अचार बनाउन थालिन्। यो आजभन्दा दुई वर्षअघि सन् २०२३ को कुरा हो।
सुरूका केही साता उनले आफ्नै साथीहरूलाई अचार किन्न लगाइन्। उनका साथी र चिनजानका मान्छे धेरै थिए। सुलोचनाको संघर्ष बुझेका साथीहरू उनलाई मद्दत गर्न तयार भए।
उनी अचार बनाएर आफै साथीहरूको घरमा डेलिभरी गर्न जान्थिन्।
अचारको चर्चा एक कान, दुई कान हुँदै मैदान भयाो। जहाँ उनी डेलिभरी गर्न जान्थिन्, त्यहीँ वरपरका मान्छेले पनि अर्डर गर्न थाले।
त्यति बेला उनी सानो आकारको प्लास्टिकको भाँडामा अचार बेच्थिन्। मूल्य दुई सय रूपैयाँ थियो। पहिलो चरणमा उत्पादन गरेको अचारबाट चार हजार रूपैयाँभन्दा बढी कारोबार भएको उनी बताउँछिन्। सबै खर्च कटाउँदा तीन हजार नाफा निस्क्यो।
त्यसपछि त के चाहियो!
सुलोचना दिनरात अचार बनाउन थालिन् र जहाँ जहाँबाट अर्डर आउँथ्यो, त्यहीँ त्यहीँ डेलिभरी गर्न गइन्।
दोस्रो खेपमा बनाएको अचार बेचेर एक साताभित्रै दस हजार रूपैयाँ आम्दानी गरेको उनी सम्झन्छिन्।

'सुरूका दिनमा मेरो नियमित ग्राहक भनेका साथीहरू र चिनजानका मान्छे नै थिए,' उनले भनिन्, 'त्यसले मलाई स्वादमा के समस्या छ, मरमसला पुगेको छ कि छैन थाहा पाउन सजिलो भयो। उनीहरू मलाई अझै तिख्खर स्वाद कसरी बनाउने भनेर सरसल्लाह दिन्थेँ। मैले उनीहरूकै सुझावका आधारमा काम गर्दै, सिक्दै गएँ।'
यहाँसम्म आइपुग्दा उनलाई अचार व्यवसाय राम्ररी चल्छ भन्ने भान भइसकेको थियो। त्यसपछि आफ्नै कम्पनी दर्ता गर्ने तयारीमा लागिन्। त्यसमा चार-पाँच महिना गयो।
त्यसैबीच अचार बनाउन चाहिने मरमसला र सरसामग्री कहाँ सस्तो पाइन्छ भनेर बजार चहार्दै पनि हिँडिन्।
'मलाई ती सबै काममा रमाइलो लागिरहेको थियो। एक किसिमको सन्तुष्टि र खुसी महसुस गरिरहेकी थिएँ,' उनले भनिन्, 'नियमित अर्डर र काममा स्थिरता आउन थालेपछि मैले एक जना सहयोगी कर्मचारी राखेँ।'
काम गर्ने साथी भएपछि उत्पादन पनि बढ्यो। उनले अचार राख्न कम्पनीको लोगो सहितको बट्टा तयार पारिन्।
सन् २०२४ डिसेम्बरमा उनले आफू बस्दै आएको घरको तल्लो तलामा सिंगै फ्ल्याट लिइन्। फराकिलो ठाउँ पाएपछि भान्सा, स्टोरसँगै अफिस राख्ने ठाउँ पनि भयो। त्यसपछि थप एक जना कर्मचारी भर्ना गरिन्। अहिले सुलोचनाले तिनै दुई जनाको सहयोगमा आफ्नो अचार व्यवसाय चलाइरहेकी छन्।
फरक के भने; अहिले उनी अचार उत्पादन, ब्रान्डिङ र अर्डर लिने काम मात्र गर्छिन्। डेलिभरीको निम्ति 'नेपाल क्यान मुभ' सँग सहकार्य गरिरहेकी छन्।
यति मात्र होइन, उनी मासुको अचार मात्र बनाउँछिन्। उनको ब्रान्डमा कुखुरा र राँगाको गरी दुई किसिमका मासुको अचार पाइन्छ। पछिल्लो समय मासुको अचारको माग धेरै देखेर यसमै केन्द्रित भएको उनी बताउँछिन्।
'अहिलेलाई यिनै दुइटा मासुको अचार बनाइरहेकी छु,' उनले भनिन्, 'चल्दै गएपछि अरू मासुको अचार बनाउन पनि सोच्नुपर्ला।'
उनका अनुसार अचेल प्राय: घरको भान्सामा अचार अनिवार्य भइसकेको छ। अचार नभई खाना नरूचाउनेहरू बढ्दै गएको उनले अनुभव गरेकी छन्। यसले पहिलेभन्दा बजार विस्तार भएको उनको भनाइ छ।
'पहिले जति अर्डर आउँथ्यो, त्यति मात्र उत्पादन गर्थेँ। अहिले बिनाअर्डर पनि अचार बनाउँछौं र स्टक राख्छौं,' उनले भनिन्।

मान्छेहरू सुलोचनाको अचार निकै रूचाउँछन्। एकचोटि चाखेपछि दोहोर्याइ–तेहर्याइ किन्न आउँछन्। पछिल्लो दुई वर्षमा उनको ग्राहक निकै बढेको छ। नियमित उनकै अचार खानेहरू टन्नै छन्।
आफ्नो घर वरिपरि खुलेका मिनी मार्टले व्यापार प्रवर्द्धन गर्न सहयोग गरेको उनी बताउँछिन्। उनको अचार त्यस्ता मिनी मार्ट र खुद्रा पसलहरूमा पाइन्छ। खोज्नेहरूले सजिलै फेला पार्छन्।
अचार बेच्न पहिले उनी प्लास्टिकको बट्टा प्रयोग गर्थिन् भने अचेल सिसाको भाँडामा बेच्छिन्। चारवटा फरक तौलमा अचार उपलब्ध छन्। १५० ग्रामको तीन सय रूपैयाँ, २५० ग्रामको पाँच साय, ५०० ग्रामको हजार र एक किलोको दुई हजार रूपैयाँ मूल्य पर्छ।
अचारमा प्रयोग हुने मरमसाला उनी महाबौद्धबाट ल्याउँछिन्। मासु भने सानो थिमिको 'मिट मास्टर' बाट किन्ने गरेकी छन्। उनी हरेक दिन ताजा मासु ल्याएर अचार बनाउँछिन्। एकचोटिमा पाँच-पाँच किलो कुखुरा र राँगाको मासु किन्छिन्। महिनाको १२० देखि १५० किलोसम्म मासु खपत हुन्छ। त्यसरी बनाएको अचार कहिले तुरून्तै बिक्री हुन्छ भने कहिले स्टकमा पनि राख्नुपर्छ।
अहिलेसम्म उनले मिनी मार्ट र अनलाइनबाट मात्र व्यापार गरिरहेकी छन्। भविष्यमा आफ्नो छुट्टै पसल खोल्ने योजना पनि छ।
'श्रीमानसँग सम्बन्ध विच्छेद गरेर एक्लै बस्न थालेपछि धेरैले मेरो कुरा काटे। एक्ली महिलाले केही गर्न सक्दिन भने,' उनले भनिन्, 'म आफ्नै मिहिनेतले यहाँसम्म आइपुगेकी हुँ। महिलाले पनि एक्लै व्यवसाय गर्न सक्छन् र सफल हुन सक्छन् भनेर मलाई साबित गर्नुछ।'
उनी अचार सँगसँगै अन्य स्थानीय खानेकुराको व्यापार पनि सुरू गर्न चाहन्छिन्। खासगरी नेपालका विभिन्न ठाउँमा पाइने स्थानीय चिजको व्यापार सुरू गर्ने उनको योजना छ। त्यसको तयारीमा लागिरहेको उनी बताउँछिन्।
'अचार त सुरूआत हो, म यो व्यवसायलाई निकै अगाडि लिएर जान चाहन्छु,' उनले भनिन्, 'नेपालका विभिन्न ठाउँमा पाइने स्थानीय खानेकुरालाई कसरी व्यवसायको रूप दिन सकिन्छ भन्ने सोचमा छु।'
***