सत्तारुढ नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालको महाधिवेशन स्थलमा अध्यक्ष क्षितिज थेबे पक्षले नाराबाजी गरेका छन्।
पोखरामा शुक्रबार शुरु महाधिवेशनको बन्दसत्र पोखरा सभागृहमा जारी छ।
सभागृह प्रांगणमा संघका अध्यक्ष क्षितिज थेबेका पक्षमा उनी निकट युवाहरुले नाराबाजी गरेका हुन्। उनीहरुले 'क्षितिज थेबे जिन्दावाद', 'युवा संघले के भन्छ, क्षितिज थेबे ले भन्छ' जस्ता नारा लगाएका छन्।
युवा संघ निकट एक नेताका अनुसार अध्यक्षमा वर्तमान अध्यक्ष थेबे र महासचिव सुमन पुरीले दाबी गरेका छन्। युवा संघका ती नेताले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पनि थेबेलाई समर्थन गरेको दाबी गरेका छन्।
युवा संघको बन्द सत्र जारी रहेकाले निर्वाचनका कार्यक्रम सुरूवात नभएको संघले जनाएको छ।
महाधिवेशनमार्फत आइतबार नयाँ नेतृत्व टुंगो लगाउने कार्यतालिका छ।
अध्यक्ष ओलीले शुक्रबार महाधिवेशनको उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न र बाह्य घुसपैठ नगर्न निर्देशन दिएका थिए।
युवा संघका इन्चार्ज राजीव पहारीले उद्घाटन सत्रमा नेपालका सबै स्थानीय तह र जिल्लाबाट महाधिवेसनमा प्रतिनिधी आएको जानकारी दिएका छन्।