छब्बीस सय वर्षको कालान्तरमा शान्तिका दूत भगवान् गौतम बुद्ध कहलिएका राजकुमार सिद्धार्थ जन्मनेबित्तिकै सात पाइला हिँडेका थिए?
उनी जन्मिँदा आकाशबाट पुष्पवृष्टि भएको थियो?
राजकुमार सिद्धार्थलाई त मायादेवीले माइतबाट फर्किंदा बाटामा एउटा रूखमुनि जन्माएकी थिइन् भनिन्छ त!
गौतम बुद्धको जन्मस्थल शान्तिभूमि हो भने, त्यहाँको माटोले आनन्द र शान्ति मिल्छ भने, लुम्बिनी दरबारको वरिपरिका बस्तीमा संसारको सबैभन्दा ठूलो शान्ति छाउनुपर्ने हो नि, होइन?
राजकुमार सिद्धार्थ मध्यरातमा दरबार छाडेर हिँड्दा उनकी पत्नी यशोधराको मनस्थिति कस्तो भयो? उनी दुःखी भइन्? सिद्धार्थलाई कठोर मनले बिदा गरिन् कि ससम्मान? कि अश्रुधारा बगाइन्?
सात दिनका शिशुप्रतिको भावनात्मक सम्बन्धले सिद्धार्थको हृदयमा के चल्यो?
भगवानलाई मान्छेका रूपमा व्याख्या गर्नु सम्भवतः सर्वथा कठिन काम हो।
उसले घिमिरे युवराजकृत ‘नाटक लस्ट एन्ड फाउन्ड’ पढ्दा र त्यसको मञ्चन हेर्दा त्यही कठिनाइ अनुभव गरेको छ।
सिद्धार्थ गौतम जन्मनासाथ सात पाइला हिँडेका थिए भनेर परम्परागत विश्वासको भर परूँ कि नाटककी भूमिले झैं नपत्याऊँ! कि नाटकको सागरले झैं दुनियाँको जो गर् सोही गर् भनूँ!
उसलाई बडो द्विविधा भएको छ।
उसलाई यस्तो द्विविधामा पारिदिएको लस्ट एन्ड फाउन्डले नै हो। यसमा शंका छैन।
आखिर समाज भन्नु मान्छेहरूको संग्रह न हो, पुस्तकको संग्रह पुस्तकालय भएजस्तो!
प्रत्येक मान्छेको आफ्नै मन हुन्छ, विचार हुन्छ, भावना हुन्छ, संवेग हुन्छ। यी सबै भएपछि एउटा मान्छे अर्कोसँग फरक हुन्छ; लस्ट एन्ड फाउन्डकी भूमि पूरै मटेरियलिस्टिक भएझैं र सागर आध्यात्मिक हुने मार्गमा लाग्न चाहेझैं।
भूमिलाई सिद्धार्थ गौतम जन्मनासाथ सात पाइला हिँडेका थिए भन्ने चल्तीको विश्वासमा शंका छ, सागरलाई दुनियाँका सबैले हिँडेकै थिए भनेपछि हिँडेकै थिए होला भन्ने लागेको छ।
भूमिकी आमा रजनीलाई उमेर ढल्केका पुरुषहरू चिप्ला हुन्छन् भन्ने लाग्थ्यो। भूमिलाई पनि त्यसै हो कि जस्तो लाग्छ।
लस्ट एन्ड फाउन्ड नामको एउटा ट्राभल एजेन्सी छ। भूमि त्यसकै टुरिस्ट गाइड हो, पर्यटकहरूका साथ घुम्छे। लुम्बिनी मात्रै सातपटक पुगिसकी।
उमेर २५ को छ तर १८ की झैं अनुभव गर्छे, मोजमस्तीमा मन छ। आई लभ फूड, आई लभ सेक्स, आइ लभ टु स्लिप भन्छे। तीनतीन महिनामा ब्वाई फ्रेन्ड बदल्छे।
भूमिलाई आत्मा र परमात्माभन्दा बढी सपना मन पर्छ। सपना जादुमयी खेलजस्तो लाग्छ। आफ्नै पौरखमा विश्वास गर्छे।
आफूबाहेक कसैलाई विश्वास गर्छे छ त आफ्नी आमालाई।
भूमिलाई भोगले स्वाद दिन्छ, स्वादले अनुभूति दिन्छ। अलिलेसम्म रिलिजन र स्पिरिचुअल कुराबाट टाढै बसेकी छे।
तब न भन्छे– आई एम टोटल्ली मटेरियलिस्टिक, भौतिवादी।
जिन्दगी उसको हो, निजी हो। अर्कोले किन टाउको दुखाउनु!
सन्तान जन्माउन बिहे हुनै पर्छ?
जन्माउनु, जन्मनु प्राकृतिक घटना हो; बिहे सामाजिक घटना। बिहे चाहिएको प्रकृतिलाई होइन, परिवारलाई हो, परिवारलाई भन्दा बढी समाजलाई। अझ बढी त राज्यलाई!
बालबिहे फरक कुरा, सामान्यार्थमा बिहे गर्नु भनेको सन्तान जन्माउन तयार छु भन्ने आत्मस्वीकृति हो।
प्रकृतिले सन्तान दिन खोज्नु स्वाभाविक हो।
भूमि त सरकारी जागिरे हुनै सक्दिनँ किनभने नागरिकता छैन। राज्यले नागरिकता दिँदैन। नागरिकताको के कुरा, जन्मदर्ता त छैन!
जन्म दर्ता हुन नाम चाहिन्छ। नाम राख्न न्वारान गर्नुपर्छ।
भूमिका आमाबाबुको बिहे भएको छैन। छोरी जन्मेको समेत थाहा छैन भूमिका बाबुलाई। बाबु बेपत्ता छ।
राज्य प्रकृति स्वीकार गर्दैन।
नाटकमा एउटा संवाद छ– छोरी छे, नौ महिनाकी भई, न्वारान भएको छैन, नाम छैन, जन्मदर्ता छैन।
जन्मदर्ता किन नभएको?
जबाफ छ– तिनका बजेलाई बाउ चाहियो रे, नागरिकता र कागजपत्र गाउँमै छुट्यो, बाउ जेलमा छ, छोरी गर्भमै भएका बेला जेल परेको हो।
भूमिको सुझाब छ– तिमी नै हौ उसकी क्रिएटर, जन्तमदाता, ईश्वर, तिमीबाहेक कसैमा छैन उसको नाम राख्ने अधिकार।
यस्ता अनागरिक कति होलान्!
आमाको बिहे नै नभई बाबु बेपत्ता भएका भूमिजस्ता अनागरिक कति होलान् संसारका राज्यहरूमा!
परिवार र समाजका नाममा बाध्यताहरूको जञ्जाल कम्ती बलियो छैन।
त्यही जञ्जालमा जेलियो सागर। एउटी केटी मन परायो, आमाबुबालाई केटीको जात मन परेन। सागरले आमाबुबाको चित्त दुखाउन चाहेन।
बिहे भएको एक वर्षमा पिएचडीका लागि विदेश गयो तर पिएचडी कहिल्यै सकेन, कमाउनतिर लाग्यो।
सायद आजका आमयुवाले झेलेको र झेल्नु परेको यथार्थ यही हो।
सन्तानकै सन्दर्भमा नाटकको अर्को पाटो पनि छ।
बिहे भए पनि धेरै वर्ष सन्तान भएन भने ती विवाहिताको मनमस्तिष्कमा के गुज्रिन्छ?
उसले बिहे भएको धेरै वर्ष सन्तान नजन्मेकी महिलाको कथामा आधारित फिल्म हेरेको छ। यस्ता निःसन्तान महिलालाई पात्र बनाएर लेखिएका कथा पढेको छ। कतै त निःसन्तान महिलाले शिशु चोरी गरेको घटनाको समाचार पनि पढेको छ।
यस्ता घटनामा उसको मन निकै संवेदनशील हुन्छ, बिथोलिन्छ।
बिहे भएको बीस वर्षसम्म सन्तान नहुँदा मायादेवीभित्र के बित्यो होला? उनले केके संकट भोगिन् होला?
यी प्रश्नले यशोधराको मथिंगल किन नघुमाओस्!
यशोधरा भन्छे– विवाह भएको तेह्र वर्षसम्म सन्तान नजन्मिँदा मेरो मनमा के गुज्रियो होला भन्ने तिमीहरूले अनुमान पनि लाउन सक्दैनौ। मतलब, पुरुषहरूले कल्पनासम्म गर्न सक्दैनन्।
राजकुमार सिद्धार्थले दरबार त्याग्ने रात सिद्धार्थका र यशोधराका मनमा चल्ने हुरी र दम्पतीको संवादमा उसले मानवमनको यथार्थ अनुभव गरेको छ।
त्यसैले भनेको भगवानलाई मान्छेका रूपमा प्रस्तुत गर्नु सजिलो छैन। मान्छे भगवान् हुन सजिलो छैन।
के राजकुमार सिद्धार्थ दरबारबाट सरक्क निस्केर जान सक्यो? यशोधराले सजिलै बिदा दिई?
सिद्धार्थ संकट पर्यो– कसरी निस्कने होला यो संकटबाट? परिवारको चाहना पूरा गर्दागर्दै जिन्दगी बितिजाने हो कि!
सिद्धार्थले जहाँ सुख छ भन्ने ठानेको थियो त्यसैले धेरै पिरोल्यो। किन खुसी क्षणभरमै बिलाई जान्छ र दुःख लामो समय बसिरहन्छ भन्ने प्रश्नले कहिल्यै छाडेन।
उसले लस्ट एन्ड फाउन्डमा यी प्रश्नको जबाफ फेला पारेको छ। घिमिरे युवराजले भगवानलाई मान्छेका रूपमा सशक्त ढंगले प्रस्तुत गर्न सकेको उसले ठानेको छ।
बुद्ध त भगवान् भइहाले। उनका बारेमा अनेक ग्रन्थ छन्, अनेक अनुसन्धान कृति छन्। पढ्नका लागि सर्वत्र ग्रन्थहरू उपलब्ध छन्। राजकुमार सिद्धार्थ शान्तिका दूत गौतम बुद्ध बन्नमा पत्नी यशोधराको पनि कुनै भूमिका थियो? कि लोग्नेका सामान्ने निरीह थिई?
भूमि भन्छे– टेक्स्टमा यशोधराबारे केही पाइँदैन; सबै बुद्धकै पछि कुदेका छन्, त्यो पनि धार्मिक व्याख्यानहरूमा मात्रै।
उसको मनको द्विविधा नाटक लस्ट एन्ड फाउन्ड पढेर, मञ्चन हेरेर यशोधराको मनोवेग बुझ्न पायो। उसको मन केही शान्त भयो।
सम्भवतः हरेक महिलालाई प्रेममा आफ्नो तुलनामा पुरुष बढी अनुदार हुन्छ भन्ने लाग्छ।
भूमि प्रश्न गर्छे– के प्रेममा रूख हुन सम्भव छ? जो अपेक्षा गर्दैन, दिन्छ मात्रै।
कल्पना गर्छे– कस्तो सुन्दर हुन्थ्यो होला यदि मान्छेले चरा र रूखको प्रेमगीत गाउन जानेको भए।
कल्पना यतिमै किन सकिन्थ्यो– सायद सारा पुरुषहरूसँग विश्वास गुमिसकेपछि महिलाहरूले अन्त्यमा रूखसँग प्रेम गर्नेछन्।
भूमिको बाबु को हो? कहाँ छ? आमाबाबुको बिहे किन भएन?
यति थाहा पाउन उसले धैर्यले नाटक पढ्नुपर्यो, त्यसरी नै नाटक हेर्नुपर्यो।
हेर्नुअघि उसले आद्योपान्त पढेको हो तैपनि अलमलमा थियो। हेरेपछि फेरि पढ्यो।
रहस्यमयी! रहस्यमयी!
मावनमन सूक्ष्म ढंगले पर्गेल्दै, मानवमनका द्वन्द्वहरू कतै छताछुल्ल पार्दै त कतै सचेत ढंगले समेट्दै युवराजले केही प्रश्नहरूका साथ सफल अवतरण गराएको उसको अनुभव छ।
प्रश्न परिवारसँग छ, समाजसँग छ, राज्यसँग छ।
प्रकृति त शाश्वत छ।
नाटक लस्ट एन्ड फाउन्ड भन्छ– प्रकृतिमाथि नियन्त्रण नगर।
उसले नाटकका संवादहरूमा हास्यव्यंग्य पनि उत्तिकै अनुभव गरेको छ।
दृष्टान्त एक– गौतम बुद्धको समयमा आधुनिक शौचालय नभएकाले यसलाई पुरातात्विक नै बनाउन चाहन्छ क्या नेपाल सरकार, त्यही भएर यहाँ ट्वाइलेट नबनाएको रे!
दृष्टान्त दुई– बाउले रक्सी फ्याक्ट्रीमा ठूलो लगानी गरे, लगानी डुबेर झन्डै जोगी भइयो।
खासमा बाबुले रक्सी खाएर सम्पत्ति सकेका रहेछन्!
मञ्चमा देखिने चार जना पात्रमा आजको समाजका भूमि र सागर, छब्बीस सय वर्ष अघिका मायादेवी, राजकुमार सिद्धार्थ, सिद्धार्थपत्नी यशोधरा, भूमिकी आमा रजनी र प्रकारान्तर भूमिको बाबु संयोजन गर्नु सामान्य कल्पनाशीलता होइन।
हार्दिक बधाई युवराज!
कल्पनाशीलता र कलम झन् झन् सशक्त बन्दै जाओस्! हार्दिक शुभकामना युवराज!
मञ्चमा कलाकारहरूको अभिनय उसलाई शानदार लाग्यो। सबै कलाकार बधाईका पात्र छन्। मञ्च संयोजन लोभलाग्दो देख्यो। निर्देशन त युवराजकै भइहाल्यो।