नेपाली कांग्रेसभित्र तीन जना नेतामाथि स्पष्टीकरण सोध्नुपर्ने विषय उठेको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा नेता शेखर कोइरालासहित तीन जनामाथि स्पष्टीकरण सोध्नुपर्ने विषय उठेको हो।
यो पनि: गृहमन्त्रीले 'म पद छोडिदिन्छु छानबिन गर' भने हुन्छ: शेखर कोइराला
गृहमन्त्री रमेश लेखकले 'म पद छाड्छु, छानबिन गर' भने हुने अभिव्यक्ति दिएका शेखरसहित नेताहरूलाई सभापति देउवाले स्पष्टीकरण लिनुपर्ने नेताहरूको भनाइ थियो। हालै विराटनगर पुगेका शेखरले गृहमन्त्रीले मार्गप्रशस्त गरे हुने अभिव्यक्ति दिएका थिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक विवादमा तानिएका छन्।
यस्तै प्रतिनिधि सभा सांसदहरू राजेन्द्र बजगाई र सुनिल शर्मामाथि पनि स्पष्टीकरणको माग भएको छ। बजगाईले सभापति देउवालाई इमेलमार्फत पत्र नै पठाएर भ्रष्टाचार आरोप लागेका र कमजोर कार्यक्षमता भएका मन्त्रीहरूलाई पार्टीले फिर्ता बोलाउनुपर्ने माग राखेका थिए।
यो पनि:
भ्रष्टाचार आरोपी र कमजोर प्रदर्शन गर्ने मन्त्रीहरूलाई तुरून्त फिर्ता बोलाउन देउवालाई सांसद बजगाईको पत्र
पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा नेता शेखरलाई पनि बोलाउने गरिन्थ्यो तर आज शेखर सहभागी थिएनन्। उनी उपत्यकाबाहिर छन्।
बैठकमा शेखरसहित तीन नेतामाथि स्पष्टीकरण सोध्नुपर्छ भन्ने प्रस्ताव कसले राखेका थिए अझै स्पष्ट हुन सकेको छैन। तर बैठक सकिएपछि पत्रकारहरूसँगको कुराकानीमा पूर्वमहामन्त्री शशांक कोइरालाले शेखरसहित तीन जनामाथि स्पष्टीकरण सोध्ने विषय उठेको र सभापति सोध्नुपर्ने धारणा राखे।
‘हामीले सभापतिलाई उनीहरूलाई बोलाउनुस् र के भएको हो सोध्नुस् भनेका छौं। किनभने यसको समाधान निकाल्नुपर्यो नि,’ शशांकले भने, ‘शेखर, सुनिल र राजेन्द्रसँग स्पष्टीकरण सोध्नुस् भनेर बैठकमै राखेको हो।’
सभापति शेरबहादुर देउवाले भने नेताहरूलाई स्पष्टीकरण लिनेबारे हुन्छ वा हुन्न भनेनन्, हेर्छुमात्रै भनेका थिए।
‘मलाई लाग्छ, स्पष्टीकरण सोध्नैपर्छ, अरू उपाय नै छैन,’ उनले भने। नेताहरूले बाहिर कुरा राख्दा पार्टीभित्र मतभेद हुने र त्यसले पार्टीलाई नै हानि पुर्याउने कुरा शशांकको छ।
भिडिओ: