नेकपा (एमाले) का सचिव योगेश भट्टराईले स्थानीय तह, प्रदेशलाई बढीभन्दा बढी साधन स्रोत दिएर संघीयतालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
सोमबार आयोजित संघीयतामा बजेटसम्बन्धी कार्यक्रममा उनले अहिले पनि केन्द्रीकृत मानसिकता हाबी भइरहेको र त्यसलाई संघीयता प्रभावकारी रूपमा कार्यान्वयन गरेर हटाउँदै जानुपर्ने बताए।
स्थानीय तह घटाएर वडा बढाउने विषयमा छलफल भइरहेको उनले बताए।
‘अधिकारको बाँडफाडदेखि अरु थ्रुपैमा पुनरावलोकन जरुरी छ। विशेषतः स्थानीय र प्रदेशलाई कसरी अझ अधिकार सम्पन्न बनाउने त्यसमा पुनरावलोकन गर्नुपर्छ। पुनरावलोकन गर्ने भनेको मैले संघीयता खारेज भन्न खोजेको होइन। अहिलेको संघीयतालाई अझ प्रभावकारी बनाउने भनेको हो। स्थानीय तह, प्रदेशलाई बढी भन्दा स्रोत साधन सम्पन्न बनाउने, कार्यान्वयन गर्ने क्षमता पनि उसको बढाउँदै जाने केन्द्रले बढी नीति र महत्वपूर्ण कामको जिम्मा लिनुपर्छ। अरु बिस्तारै हस्तान्तरण गर्दै जानुपर्छ,’ उनले भने, ‘स्थानीय तहको ७५३ ओटा संख्या ज्यादा भयो। यसलाई घटाउन सकिन्छ भने घटाएर ५ सयको सेरोफेरोमा ल्याऔं बरु वडाहरूको संख्या बढाऔं भन्ने छलफल सुरू भइसकेको छ।’
(न्युज एजेन्सी नेपाल)