नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेस सरकारको नेतृत्वमा रहँदादेखि नै समावेशी विधान निर्माणको चुनौतीपूर्ण यात्रा प्रारम्भ गरेको र तत्कालीन प्रतिकूलताका बावजुद संविधानको मर्म तथा युगको आवाजलाई आत्मसात् गर्दै यसमा अडिग रहेको बताएका छन्।
उनले उक्त वैचारिक निष्ठा र प्रतिबद्धताका लागि भविष्यमा जस्तोसुकै मूल्य चुकाउन तयार रहेको दृढतासमेत व्यक्त गरे।
सुनसरीमा शुक्रबार आयोजित नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बू) संघको प्रथम ऐतिहासिक महाधिवेशनलाई सम्बोधन गर्दै महरले नेपालको राष्ट्रिय स्वाभिमान, अखण्डता र दिगो समृद्धिको यात्रा मूलबासी समुदायहरूको अक्षुण्ण अधिकार, जीवन्त पहिचान र समावेशी विकासको जगमा मात्रै सम्भव हुनेमा जोड दिए।
‘नेपालका मूलबासी समुदायहरू हाम्रो राष्ट्रियताका जीवित सम्पदा, सांस्कृतिक विविधताका पालक र ऐतिहासिक पहिचानका आधारस्तम्भ हुन्। उनीहरूको मौलिक अधिकार, भाषा, संस्कृति, ज्ञान-सीप र समग्र विकासलाई सुनिश्चित नगरी राष्ट्रले समृद्धिको सार्थक उडान भर्न सक्दैन। सबैका लागि समान अवसर, न्याय र सम्मानयुक्त समाज निर्माण आजको हाम्रो पवित्र ध्येय हो,’ उनले भने।
पहिचानको मुद्दा आजको विश्व राजनीतिको एक अकाट्य प्रवृत्ति भएको उल्लेख गर्दै महरले एकातिर मार्क्सवादी दर्शनको क्षयोन्मुख अवस्था र अर्कोतिर पुँजीवादी व्यवस्थाले सिर्जना गरेका अनेकौं सामाजिक-आर्थिक असन्तुष्टि र बढ्दो असमानता एवं शोषणको पृष्ठभूमिमा, विश्वभरि नै पहिचानको मुद्दाले विस्तारित र संस्थागत हुने उर्वर भूमि पाएको उनले बताए।
संविधानको पूर्ण, निष्पक्ष र प्रभावकारी कार्यान्वयन नै वर्तमान नेपालको सर्वोपरि राजनीतिक कार्यसूची भएको उनको भनाइ थियो। आदिवासी जनजाति आन्दोलनलाई समग्र मानव सभ्यतालाई नै गतिशील र न्यायपूर्ण दिशामा अगाडि बढाउने ऐतिहासिक अभियानका रूपमा लिनुपर्नेमा उनले जोड दिए।
नेता महरले वर्तमान समयमा विभिन्न रूपमा देखा परिरहेका केही व्यवस्था विरोधी आन्दोलनहरू आदिवासी जनजाति, महिला, मधेसी, दलितलगायत ऐतिहासिक रूपमा सीमान्तकृत समुदायले कठिन संघर्षबाट प्राप्त गरेका महत्वपूर्ण अधिकारविरुद्ध लक्षित रहेको बताए।