बागमती प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीको शपथ स्थगित भएको छ।
बुधबार मुख्यमन्त्री बहादुर सिं लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए।
उनीहरुको शपथ बिहीबार दिउँसो १ बजे हुने तय थियो।
तर प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अस्वस्थ भइ उपचारका लागि काठमाडौं आएपछि नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम स्थगित भएको हो।
प्रदेश प्रमुखको कार्यालयकाका प्रवक्ता देवेन्द्र सापकोटाले विज्ञप्ती जारी गरी प्रदेश प्रमुख देवकोटा स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि बिहानै काठमाडौं गएकाले शपथ ग्रहण कार्यक्रम स्थगित भएको जानकारी दिएका छन्।
'बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रिज्यूहरुको सपथ ग्रहण समारोह मिति २०८२ श्रावण १५ गते बिहीबार दिनको ०१:०० बजेको लागि तोकिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात समस्या आएकोले उपचारार्थ आज बिहानै काठमाडौं प्रस्थान गर्नुभएको हुँदा माननीय प्रदेश प्रमुखज्यूको निर्देशानुसार अर्को सूचना प्रकाशन नभएसम्मका लागि सपथ ग्रहण कार्यक्रम हाललाई स्थगन गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ,' विज्ञप्तीमा भनिएको छ।
बागमतीमा पाँच मन्त्रीले राजीनामा दिएपछि बुधबार मात्रै मुख्यमन्त्री लामाले लम्साल, श्रेष्ठ र गुरूङलाई मन्त्री नियुक्त गरेका थिए।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । श्रेष्ठ र गुरूङको भने जिम्मेवारी तोकिन बाँकी छ।
बागमतीमा कांग्रेसका चार मन्त्रीहरू; आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठले साउन ९ गते राजीनामा दिएका थिए।
बिहीबार मात्रै संसदीय दलको निर्वाचनमा हालका मुख्यमन्त्री लामा दल नेतामा पराजित भएका छन्।
बागमतीमा अब इन्द्र बानियाँ कांग्रेसको दल नेता छन्। दल नेता परिवर्तन भएको अवस्थामा लामा मुख्यमन्त्रीमा कायम रहने/नरहने भन्ने विवाद सुरू भएको छ।
बानियाँ पक्षले दलको नेता परिवर्तन भएपछि स्वतः मुख्यमन्त्री परिवर्तन हुने बताएका छन् भने लामा भने संविधान अनुसार मुख्यमन्त्री हुन दलको नेता अनिवार्य नरहने दाबी गर्दै आफू मुख्यमन्त्रीमा कायमै रहने बताउँदै आएका छन्।
पढ्नुस्ः ईन्द्र बानियाँ संसदीय दल नेता जिते, बन्लान् बागमतीको मुख्यमन्त्री?