कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद भवनको काममा विगतका कमीकमजोरी दोहोरिन नदिने गरी काम भइरहेको बताएका छन्।
संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारीबारे जानकारी गराएका थिए।
उनले समयमा काम नसक्ने निर्माण व्यवसायीप्रति मन्त्रालय निर्मम हुने पनि बताए।
समिति सदस्यहरूले उठाएका जिज्ञासामा जबाफ दिँदै मन्त्री सिंहले नयाँ संसद् भवन निर्माणको काममा ढिलाइ गर्न नहुने पनि बताए। थप भएको अवधिभित्रै काम सक्ने विश्वसनीय कार्ययोजनाअनुसार अहिले काम भइरहेको र सो कार्यको मन्त्रालय तथा विभागबाट अनुगमन भइरहेको उनले बताए।
‘नयाँ संसद् भवनको काम समयमै नसकिएकोबारे सबै जानकार छौं। तोकिएको समयमा काम नगर्नेहरूमाथि मन्त्रालयले कडाइ गरिरहेको छ। कीर्तिपुर क्रिकेट स्टेडिममा जरिवाना लगाएर काम भइरहेको छ। संसद भवनको काम पनि कार्यतालिका बनाएर अघि बढेको छ। सरकारले विगतका कमी, कमजोरीहरूलाई नियालेर उक्त कमजोरी अब दोहोरिन नदिने गरी काम गरिररहेको छ,’ उनले भने।
काम समयमै सक्नका लागि मन्त्रालयदेखि सम्बन्धित इन्जिनियर, महानिर्देशक र आयोजना प्रमुखलाई समेत बोलाएर निर्देशन दिइसकेको उनले बताए।
मन्त्रालयका सचिव गोपाल सिग्देलले पुस दोस्रो साता काम सम्पन्न गरिसक्ने गरी कार्यतालिका बनाएर काम भइरहेको बताए।
आउने अधिवेशन नयाँ संसद भवनबाटै सञ्चालन गर्ने गरी काम अघि बढेको भन्दै तालिकाअनुसार काम अघि बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए।