तीन जना युवा मिलेर काठमाडौं ओमबहालको सानो सटरबाट सुरू गरेको 'मिस्टर वाफल्स' ले चार महिनामै नयाँ शाखा विस्तार गरेको छ।
२५ वर्षभन्दा कम उमेरका सफल शाक्य, सिद्धार्थ तन्डुकार र उज्ज्वल शाक्यले यसै वर्ष वैशाख महिनामा 'मिस्टर वाफल्स' को पहिलो आउटलेट खोलेका थिए। त्यसको चार महिना नबित्दै पाटनको मंगलबजारमा दोस्रो आउटलेट खोलेका छन्। अब बौद्धमा तेस्रो आउटलेट खोल्ने तयारी पनि गर्दै छन्।
सानो स्तरबाट सुरू भएको यो व्यवसाय यति कम समयमै कसरी फैलियो त?
हामीले यसका तीन सञ्चालकसँग यसबारे कुराकानी गरेका छौं।
खासमा 'मिस्टर वाफल्स' ले ओमबहालको पहिलो आउटलेटबाटै निकै चर्चा कमाएको थियो। सानो ठाउँमा खोलेको भए पनि त्यहाँ वाफल खानेहरूको घुइँचो लागिरहन्छ। पालो पर्खेर, लाइन लागेर भए पनि मानिसहरू वाफल खान आउँछन्।
तर एउटा कुरा भने उनीहरूलाई सुरूदेखि नै खट्कियो।
ओमबहालको पसल मूल सडकभन्दा अलि भित्र पर्ने भएकाले सबैले सजिलै पत्ता लगाउन सकेनन्। ठाउँ साँघुरो भएकाले ग्राहकहरूले वाफल खाँदै जमघट गर्न पनि पाएनन्। धेरै ग्राहकले अलि फराकिलो ठाउँमा स्टोर खोल्न सल्लाह दिए।
यही अनुभवका आधारमा पहिलो आउटलेट खोलेको दुई महिना नबित्दै नयाँ ठाउँमा शाखा विस्तार गर्ने तयारीमा लागेको सफल बताउँछन्।
'हामी यस्तो ठाउँको खोजीमा थियौं, जसले हाम्रो यो परिकारलाई नयाँ उपभोक्तासम्म पुर्यायोस् र जमघट गर्ने थलो पनि बनोस्,' तीन सञ्चालकमध्येका सफलले भने, 'पहिलो शाखा बौद्धमा खोल्ने हाम्रो योजना थियो। तर जति खोज्दा पनि भनेजस्तो ठाउँ फेला परेन।'
त्यसपछि बौद्धको योजना थाती राखेर उनीहरू पाटनको मंगलबजारमा ठाउँ खोज्न थाले।
धुइँपत्ताल खोजेपछि बल्लतल्ल एउटा पुरानो घर फेला पर्यो, जसको मर्मतसम्भारमै धेरै पैसा खर्च भएको अर्का सञ्चालक सिद्धार्थले बताए।
'हामीले पहिलो आउटलेटको दाँजोमा दोस्रो आउटलेट खोल्न सजिलो होला भन्ने सोचेका थियौं। तर त्यस्तो भएन। हरेकचोटि नयाँ आउटलेट खोल्दा शून्यबाटै काम सुरू गर्नुपर्ने रहेछ,' मंगलबजार शाखा खोल्दाको अनुभव सुनाउँदै सिद्धार्थले भने, 'माटोको घर भएकाले छत कमजोर थियो। सफासुग्घर गर्दै जाँदा दलिन झर्न थाल्यो। जति काम अघि बढायौं, समस्या उति बढ्दै गयो। हुँदा हुँदा एकदिन त दलिन नै खस्ला कि भन्ने डर भयो।'
यसबाहेक पुरानो घरमा साङ्ला लगायतका कीराहरूले पनि हैरान पारेको उनले अनुभव सुनाए।
अर्का सञ्चालक उज्ज्वलले यसैमा थप्दै अगाडि भने, 'पुरानो घरलाई बलियोसँग पुनर्निर्माण र सफासुग्घर गर्न निकै दु:ख भयो। यही समस्या ओमबहालमा झेल्नुपरेको थिएन। नयाँ घर भएकाले सबथोक बलियो थियो। हामीले खाली फर्निचर र डिजाइनमा मात्र ध्यान दिएका थियौं।'
मंगलबजारको आउटलेट उद्घाटनमा तीन सञ्चालक। तस्बिर स्रोत: मिस्टर वाफल्सको इन्स्टाग्राम
अहिले मंगलबजारको आउटलेटबाट उनीहरू खुसी छन्। पहिलेभन्दा बढी लगानी भए पनि फर्निचर र बत्तीको डिजाइनमा नयाँ प्रयोग गर्न पाएको बताउँछन्।
अब उनीहरूको चासो नयाँ ठाउँका नयाँ ग्राहकलाई आफ्नो परिकार चिनाउनु हो। हुन त टिकटक, इन्स्टाग्राम चलाउने जेन–जी पुस्तामाझ 'मिस्टर वाफल्स' चर्चित नै छ। तैपनि धेरै स्थानीयका लागि यो नौलो परिकार हो। त्यसमाथि यहाँ वरपर म:म र नेवारी खाजाका पसल धेरै छन्। यो भिडमा वाफलको स्वाद लोकप्रिय बनाउनुलाई उनीहरूले चुनौतीका रूपमा लिएका छन्।
सँगसँगै, बौद्धमा तेस्रो शाखा खोल्न तयारी पनि जारी रहेको उनीहरू बताउँछन्।
काठमाडौं उपत्यकालाई बेल्जियमको परिकार 'वाफल' को स्वाद चखाउनुका साथै उद्यमशीलताको अनुभव बाँडिरहेका यी तीन युवा व्यावसायिक साझेदार मात्र होइनन्, पुराना साथी पनि हुन्।
सफल र उज्ज्वलको भेट कक्षा १० को अन्तिम परीक्षा दिएपछि जिम सेन्टरमा भएको थियो भने सफल र सिद्धार्थ काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा सँगै बिबिए पढ्थे। सफलकै माध्यमबाटै सिद्धार्थ र उज्ज्वल पनि आपसमा जोडिए।
यी तीन जनाबीच पहिल्यैदेखि व्यावसायिक आइडियाबारे कुराकानी भइरहन्थ्यो। भेट बाक्लिँदै जाँदा नयाँ काम गर्ने योजना पनि बलियो हुँदै गयो।
आफ्नो पुस्ताका अधिकांश युवा बिदेसिएका बेला नेपालमै बसेर के गर्दा ठीक होला — उनीहरूले निधो गर्न सकेका थिएनन्। उनीहरूको रूचि पनि भिन्न भिन्न थियो।
सफललाई सानैदेखि जागिरभन्दा आफ्नै काम गर्नुपर्छ भन्ने लाग्थ्यो। थोरबहुत पर्यटनमा रूचि राख्थे। सिद्धार्थलाई भने डिजाइनिङ र फोटोसप मन पर्थ्यो। स्कुल छँदा कार्यक्रमहरूमा ब्यानरसमेत बनाउँथे। उज्ज्वलको रूचि भने खाना बनाउनु र नयाँ परिकारको स्वाद चाख्नु हो। कोरोना लकडाउनमा उनले धेरै नयाँ परिकार बनाएर साथीहरूलाई खुवाए। उनले फुड एन्ड वेभरेजमा डिप्लोमा पनि गरेका छन्। केही समय नेपाली लुगाको ब्रान्ड जूजू वेयर्समा काम गरेको अनुभव पनि थियो।
यसरी अलग पृष्ठभूमि र रूचि भएका तीन जनालाई नै सहज हुने काम के होला भन्ने सोच्दै जाँदा दिमागमा खानेकुरा आयो।
तर के खानेकुरा?
यही अलमलबीच एक दिन उनीहरूले रिल्स बनाए। 'नेपाली केरा' नाममा टिकटक र इन्स्टाग्राम अकाउन्ट खोले र लेखे, 'के साँच्चै नेपालमा बसेर काम छैन? कि हाम्रा युवा अल्छी भएका हुन्?'
त्यसपछि उनीहरूले निरन्तर यस्तै भिडिओ बनाएर हाल्न थाले। उनीहरूका भिडिओमा चासो बढ्दै गयो। सल्लाह, सुझाव र प्रेरणा दिनेहरू बढ्दै गए।
त्यतिञ्जेल उनीहरूले केको व्यवसाय गर्ने भन्ने निधो गर्न सकेका थिएनन्।
'हामीले त ३० दिनसम्म कुनै व्यवसाय चलाउन सकेनौं भने नेपाली केरा अकाउन्ट डिलिट नै गर्ने सोचेका थियौं,' सिद्धार्थले सुनाए, 'त्यो बेला हाम्रो लागि आफ्नो उमेरको रोलमोडल कोही थिएन। कसैलाई हेरेर हामी पनि नेपालमै केही गर्छौं भन्ने कोही भएन। त्यसैले हामी विदेशी व्यवसायीका पोडकास्ट सुन्न थाल्यौं। गीतभन्दा बढी पोडकास्ट सुनेर धेरै सिक्यौं।'
के काम गर्ने भनेर टुंगो नभए पनि कहाँ गर्ने भन्ने चाहिँ पक्का भयो। मानिसहरूको धेरै आउजाउ हुने काठमाडौंको मुटु वसन्तपुर छेउको ओमबहाल उपयुक्त लाग्यो। त्यहीँ एउटा सानो सटर भाडामा लिए।
'सोच्दै जाँदा हामीलाई वसन्तपुर क्षेत्रमा बेग्लै र अलि ट्रेन्डी डिजर्ट (मिठाइ) परिकार कम भएको महसुस भयो। खोजबिन गर्दै गयौं र वाफल बेच्ने टुंगो गर्यौं,' उज्ज्वलले भने, 'वाफल वसन्तपुरको बजारमा नयाँ स्वाद हुन्छ भन्ने लाग्यो।'
तस्बिर: नेपाल फुड
बेल्जियमको परिकार वाफल ब्रेकफास्टदेखि खाजाका रूपमा खान सकिन्छ। प्रायः गुलियो स्वादमा हुने भएकाले डिजर्ट (मिठाइ) का रूपमा पनि खाइन्छ।
वाफल बनाउन सुरूमा पिठो (आँटा/मैदा) मा अन्डा, दूध, बटर, बेकिङ पाउडर र स्वाद (फ्लेभर) अनुसार सामग्री हालिन्छ। त्यसमा उपयुक्त मात्रामा पानी हालेर बाक्लो झोल (ब्याटर) बनाइन्छ। वाफल विशेष प्रकारको मेसिनमा पकाइन्छ। विभिन्न डिजाइन र आकारका (लाम्चो, गोलो, वर्गाकार, आयातकार) वाफल बनाउन अलग अलग मेसिन हुन्छ।
दुईतिर फलामका पाता भएको मेसिन बिजुलीले चल्छ। मेसिनमा ब्याट्री हालेपछि त्यसमा भएको बुट्टाअनुसार डिजाइन बन्छ। वाफल पाकेपछि बाहिर हल्का क्रन्ची (झुरूमझुरूम) र भित्र नरम (पाउरोटी जस्तै) हुन्छ।
यसरी विभिन्न डिजाइनमा पाकेको वाफलमा आफूले चाहेको स्वादअनुसार माथिबाट विभिन्न कुरा हालिन्छ — चकलेट, पिस्ताचियो (पिस्ता), क्रिम, चीज, बेरीज र विभिन्न फलफूल। यसरी माथिबाट हालिएका सामग्रीअनुसार वाफललाई फरक नाम दिइन्छ।
सफल, सिद्धार्थ र उज्ज्वलले नयाँ पुस्तामाझ लोकप्रिय बन्दै गएको यही परिकार आफ्नो व्यवसाय निम्ति रोजे। उनीहरूले आफूसँग भएको बचत रकम लगानी गरेर वाफल बनाउने मेसिन लगायतका सामान किने।
उता धमाधम सटरको काम हुँदै थियो, यता उनीहरू कसैलाई वाफल बनाउन आउँदैन थियो।
'हामीले युट्युब हेरेरै वाफल बनाउन सिक्यौं। रातरातभरि बसेर थरीथरी स्वाद बनायौं। खाना पकाउन रूचि भएका साथीहरू पनि हामीलाई सहयोग गर्न आउँथे,' उज्ज्वलले भने, 'हामी आफैले चाख्दै बनायौं। अरू साथीहरूलाई पनि चाख्न दियौं।'
यी सबै कामको भिडिओ हरेक दिनजसो उनीहरू आफ्नो टिकटक र इन्स्टाग्राममा राख्थे। उनीहरूका रमाइला भिडिओमा हजारौंले प्रतिक्रिया दिन थालिसकेका थिए।
छोटो समयमै, व्यवसाय सुरू नहुँदै उनीहरूले चर्चा बटुलिसकेका थिए। उनीहरूले के गर्लान्, के बेच्लान्, पसल कस्तो होला, कसरी चलाउलान् भन्ने धेरैलाई चासो थियो। अरू स्टार्ट–अप व्यवसायीहरूले पनि उनीहरूलाई याद गर्न थालिसकेका थिए।
'अचेल ब्रान्डको लोगो र डेकोरेसन (सजावट) मा बढी ध्यान दिने चलन छ। हामीले भने खानेकुराको स्वाद र गुणस्तरमा बढी ध्यान दियौं,' सफलले भने।

यसरी आफै चाख्दै, चखाउँदै उनीहरूले धेरै स्वादमा वाफल बनाए। अहिले पनि नयाँ नयाँ स्वाद बनाउन हरेक दिन प्रयासरत छन्।
हाल मिस्टर वाफल्समा पाइने वाफल हुन्— ओरियो बाइट्स, स्ट्रबेरी किस, रोयल पिस्ताचियो, मिल्की बार, किटक्याट मन्च, ओरिगन ब्लुबेरी, डार्क फेन्टासी, हाइ अन चकलेट, कोको पान्डा, म्यांगो म्याडनेस, ओरियो एन्ड जुलिएट, टाइनी पिस्ताचियो, ब्लुबेरी बेबी, डार्क नाइट, चोको मोको, मिनी मिनियन्स।
वाफलको मूल्य ९९ रूपैयाँदेखि ३४९ रूपैयाँसम्म पर्छ। वाफलमा माथिबाट थप केही कुरा हाल्न पनि सकिन्छ जसलाई टपिङ्स भनिन्छ। टपिङ्समा ओरियो बिस्कुट, किटक्याट, रेनबो (मसिना रंगीबिरंगी मिठाइ), चोकोचिप्स पाइन्छ। यसको बेग्लै पैसा तिर्नुपर्छ जुन ३० देखि ४० रूपैयाँ पर्छ।
मिस्टर वाफल्समा सबभन्दा चलेको रोयल पिस्ताचियो वाफल हो। यो 'कुनाफा चकलेट' को स्वादमा हुन्छ। कुनाफा चकलेट दुबईमा बनेको हो जुन केही समययता संसारकै युवामाझ निकै लोकप्रिय र सामाजिक सञ्जालहरूमा भाइरल छ।
यी तीन सञ्चालकले आ–आफ्नो कामको बाँडफाँट पनि गरेका छन्। उज्ज्वल आफ्नो सोख र पढाइअनुसार पकाउने काम गर्छन्। पैसा र आवश्यक सामानको व्यवस्थापन गर्ने जिम्मा सिद्धार्थको हो। अनि, ग्राहकको जिम्मा अर्थात् आएका ग्राहकलाई ध्यान दिनेदेखि भिडिओहरू बनाउने र सामाजिक सञ्जाल व्यवस्थापन सफलले गर्छन्।
सामाजिक सञ्जालको भरपुर सदुपयोग गरेर, मानिसहरूसँग जोडिएर आफ्नो काम अगाडि बढाइरहेका तीन युवा सिद्धार्थ, सफल र उज्ज्वल अब व्यवसाय राम्ररी चलाउन सक्नेमा आत्मविश्वासी छन्।
'हामीले सुरूदेखि नै विभिन्न चुनौती सामना गर्दै काम गर्यौं। त्यसले हामीलाई अप्ठ्यारो र गाह्रो स्थितिमा कसरी काम गर्ने भन्ने सिकाएको छ,' सफलले भने, 'त्यसैले अब मुस्किल स्थितिमा पनि काम गर्न सकिन्छ भन्ने आत्मविश्वास भएको छ।'
चार महिनामै मंगलबजारमा खुलेको दोस्रो आउटलेट उनीहरूको त्यही आत्मविश्वासको नतिजा हो।
***