नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलताको मुद्दा कुनै एउटा राजनीतिक दल विशेषको मात्रै नभएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार भएको लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यक्रममा बोल्दै सभापति देउवाले यो विषय समग्र सामाजिक रूपान्तरणको एक महत्त्वपूर्ण विषय भएको बताए।
यसमा सबै संवेदनशील बन्ने हो भने मात्रै सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने उनको भनाइ छ।
‘लैङ्गिक संवेदनशीलता कुनै विशेष दलको मात्रै होइन। यो समग्र सामाजिक रुपान्तरणको एक महत्त्वपूर्ण विषय पनि हो। हामी सबै यो विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिन्छ,’ सभापति देउवाले भने, ‘लोकतान्त्रिक समाजवादसँग आवद्ध दलहरू, राजनीतिज्ञहरू, सामाजिक आन्दोलनकाबीच समन्वय र सहकार्यको माध्यमबाट प्रभावशाली वैकल्पिक राजनीतिक धारको निर्माण गर्न सकिन्छ। लैङ्गिक संवेदनशीलताको सुझावहरूलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्नेछ।’
सभापति देउवाले लैङ्गिक संवेदनशीलताका विषयलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्ने बताए।
(न्युज एजेन्सी नेपाल)