उपप्रधान मन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमाना सिंह र सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलबीच आर्थिक वर्ष ०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ।
सहरी विकास मन्त्रालयको सभाहलमा उपप्रधानमन्त्री सिंहसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव सिग्देलले कार्यसम्पादन सम्झौता गरेका हुन्।
उपप्रधानमन्त्री सिंहले आर्थिक वर्ष ०८२/८३ मा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन आज भएको सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
उनले अघिल्लो आर्थिक वर्षमा समयमा काम हुन नसक्दा लक्ष्य हासिल नभएकोमा असन्तुष्टि जनाउँदै समयमा योजनाहरू किन सकिएनन् भनेर सोधेका थिए।
‘कर्मचारीहरूले निर्वाह गर्नुपर्ने भूमिका इमानदार भएर पूरा गर्नुपर्यो। समयमा गर्नुपर्ने निर्णय समयमा हुनुपर्यो। पन्छने प्रवृत्तिले समयमा काम हुन सक्दैन। गर्नुपर्ने काम समयमा गनुस्, जनतालाई छिटो रिजल्ट दिनुपर्छ,’ उनले भने।
सचिव सिग्देलले गत आवमा केही कारणले आर्थिक प्रगति कम भए पनि भौतिक प्रगति राम्रो भएको भन्दै चालू आवमा कार्यलक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।