भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको विषयमा निर्वाचन आयोगले उपसभामुख गंगाप्रसाद यादवलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
दुई नम्बर प्रदेशमा हुन गइरहेको स्थानीय तह निर्वाचन प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरी आचारसंहिता उल्लंघन गरेकोमा आयोगले स्पष्टिकरण माग गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन्।
आयोगले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई पनि २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। नेपाली काँग्रेसले मंगलबार ललितपुरमा गरेको कार्यक्रममा उपस्थित रहेको भन्दै स्पष्टिकरण सोधेको हो।
आयोगले भनेको छ, 'नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष पदमा रहेको पदाधिकारी कुनै दल विशेषले आयोजना गरेको राजनीतिक कार्यक्रममा संलग्न हुने कार्य निर्वाचन आचारसंहिता विपरीतको कार्य हुँदा यहाँलाई निर्वाचन आचारसंहित उल्लङ्घन गरेबापत कारबाही गर्नुपर्ने हो होइन?'
यादव र दाहाल दुवैलाई निर्वाचन आचारसंहिताअनुसार स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता ढकालले बताए।