तमु पत्रकारिता पुरस्कार २०७४ बाट नागरिक दैनिकका पर्यटन पत्रकार अमृत भादगाउँले सहित ७ जना पत्रकार बिहीबार पुरष्कृत भएका छन् । उनीहरुलाई तमु सञ्चारकर्मी संघले सम्मानित गरेको हो ।
गुरुङ समुदायको समृद्धिका लागि पत्रकारिता मार्फत योगदान पुर्याएस्वरुप भादगाउँलेलाई संघले पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
हरेक वर्ष दुई जना पत्रकारलाई जनही २० हजार १ रुपैयाँ राशीको पुरस्कार प्रदान गरिन्छ । यसपाली भादगाउँले र एबिसी टेलिभिजनका पत्रकार डण्ड गुरुङलाई उत्त पुरस्कार प्रदान गरियो।
गुरुङ पत्रकारहरुको साझा संस्था एटजोनले बर्सेनी ७ जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ। अन्य पुरस्कार पाउनेहरुमा स्याङ्जाका मोहन गुरुङले तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार, लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट रोल्पाकी देवीकुमारी गुरुङ, सुश्री भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट लमजुङकी प्रेमकुमारी घले, सीआई टेकबहादुर गुरुङ तथा श्रीमती रसकुमारी गुरुङ पत्रकारिता पुरस्कारबाट रुपन्देहीका रामबहादुर गुरुङ र तमू पत्रकारिता पुरस्कारबाट पोखराका फोटोपत्रकार राम गुरुङ छन् ।
पुरस्कार वितरण गर्न पत्रकार खिम घले संयोजकत्वमा शान्ति गुरुङ र भीम गुरुङ सदस्य रहेको छनोट समिति बनाइएको थियो ।
कार्यक्रममा पत्रकार घले, भादगाउँले, डण्ड गुरुङ, रविन गुरुङ र गंगा गुरुङ लगायतले पुरस्कारबारे बोलेका थिए ।
त्यस अबसरमा संघको प्रकाशन ‘गुरुङ न्यूज डटकम’ सार्बजनिक गरिएको थियो । पत्रिकामा तमू कुलमा जन्मिएर विभिन्न क्षेत्रमा स्थापित भएकाहरुको जीवनकथा समेटिएको छ ।