प्रदेश नं. ५ मा सोमबार बाढी पहिरोबाट मृत्यु हुनेको संख्या सात पुगेको छ । रोल्पामा १८ दिनकी शिशुसहित तीन जना र बाँके जिल्लामा चार गरि सातको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरले जानकारी दिएको छ ।
अविरल बर्षाका कारण आएको बाढीमा परेर बाँकेमा दुई बालबालिकासहित ४ जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतले जानकारी दिएका छन् ।
डिआईजी बस्नेतका अनुसार बाँकेको बैजनाथ गाउँपालिका,कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिकामा गरि सोमवार दिउँसोसम्म चारको मृत्यु भएको हो । मृत्यु हुनेमा दुईजना बालबालिका, एकजना अधवैंशे व्यक्ति र एकजना जेष्ठ नागरिक रहेका छन् ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ३ का ६५ बर्षीय तुलाराम बुढा, बैजनाथ ५ का ३५ बर्षीय लोकबहादुर सुनार, कोहलपुर नगरपालिका वडा नम्बर ४ गौवागाउँ निवासी ४ बर्षीय बालक रन्जित पासी र डुडुवा गाउँपालिका वडा नम्बर २ निवासी ४ बर्षीया रिमाकुमारी यादवको अविरल बर्षापछि आएको बाढीले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको बताए ।
डिआईजी बस्नेतका अनुसार ६५ बर्षीय बुढाको जेठी नालामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो भने ३५ बर्षीय सुनारलाई स्थानीय ज्वालीपुर नालाले बगाउँदा मृत्यु भएको हो ।
दुई बालवालिका मध्ये एकजनाको कोहलपुर गौवागाउँका ४ बर्षीय बालक पासीको सडकबाट चिप्लिएर खाल्डोमा खस्दा डुवेर मृत्यु भएको र डुडुवाकी ४ बर्षीया रिमाकुमारी यादवको घर नजिकैको पानीमा डुबेर मृत्यु भएको बाँके प्रहरीले दिएको डिआईजी बस्नेतले सेतोपाटीलाई जानकारी दिए ।
शनिबारदेखि परेको वर्षाका कारण बाँकेका विभिन्न स्थान डुबानमा परेको, बर्दियामा १५ घर परिवार विस्थापित भएका छन् ।
रोल्पामा तीनको मृत्यु
त्यस्तै ५ नं. प्रदेश प्रहरी प्रमुख डिआईजी बस्नेतले रोल्पा जिल्लामा घर भत्किदा १८ दिनकी शिशु,उनकी आमा र अर्की एक किशोरीको मृत्यु भएको बताए ।
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ५ सैवाङ गाउँमा सोमवार विहान पौने ११ बजेतिर घर भत्किदा २२ बर्षीया आमा कमला विक, उनकी १८ दिनकी छोरी आयूसा विक र छिमेकी १५ बर्षीया चित्रा विकको मृत्यु भएको प्रदेश प्रहरीले जानकारी दिएको छ । छिमेकीको घरको पर्खाल भत्कदा विकको घरमा परेपछि त्यसले घर ढल्न पुग्दा उनीहरुको मृत्यु भएको प्रदेश प्रमुख बस्नेतले बताए ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्र फूँयालका अनुसार आयूसा र चित्राको घटनास्थलमै मृत्यु भएको र सुत्केरी कमलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। सुत्केरी आमा छोरी भान्सा घरमा आगो तापेर बसेको सयमा ढुङ्गाको गारा युक्त घर छिमेकीको पर्खाल ढल्न पुग्दा भत्किएको थियो । १५ बर्षीया छिमेकी किशोरी भने सुत्केरीलाई सघाउन गएकी थिइन् ।
डिआईजी बस्नेतले बाढी पहिरो र डुवानमा परेका स्थानका जनतालाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको र कुनै पनि स्थानमा विपत्तिमा परेको खवर पाउन साथ खटिने गरि प्रहरीलाई हाई अलर्ट राखिएको बताए ।
१२ वटै जिल्लाका प्रहरी प्रमुख तथा मातहतका ईकाइहरुलाई हाईअलर्टमा बस्न निर्देशन दिएको डिआईजी बस्नेतले बताए । उद्धार सामाग्री सहित तयारी अवस्थामा रहन निर्देशन दिइएको भन्दै उनले मुख्य गरि राप्ती र बवईको तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजग रहन उनले आग्रह गरिएको बताए ।
त्यस्तै अविरल बर्षा भइरहेको हुँदा पहिरोका उच्च जोखिम रहेका स्थानका पहाडी जिल्लाका जनतालाई पनि सावधानी अपनाउन आग्रह गरिएको डिआईजी बस्नेतले सेतोपाटीलाई बताए ।