दाङमा एकजना मरिसकेका भनिएका व्यक्ति फर्केर घर आएपछि उनको घर परिवारमा खुसियाली छाएको छ। शोकमा डुबेको एक परिवारले सकुशल घर फर्किएका व्यक्तिलाई अबिर मालाले स्वागत गरेका छन्।
दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाट निवासी ४५ वर्षीय महेन्द्रप्रसाद चौधरी सकुशल घर फर्किएपछि खुसियालीमा उनलाई अबिर र माला लगाएर परिवारजनले खुसी मनाएका हुन्।
असार २१ गते राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियास्थित कालिका सामुदायिक वनमा सडेगलेको अवस्थामा एउटा व्यक्तिको शव फेला परेपछि महेन्द्रप्रसाद चौधरीका आफन्तले उक्त शव महेन्द्रप्रसादकै भएको अनुमानसहित घर लगेर अन्तिम संस्कार गरेका थिए ।
महेन्द्रप्रसादका छोरा अनुप चौधरी र दाजु इन्द्रप्रसाद चौधरीले शव सडेगलेको अवस्थामा फेला प रेपनि कपडा र जिउडालका आधारमा पहिचान गरी शव लगेर अन्तिम संस्कार गरेका थिए।
‘आफ्नै छोरा र दाजुलेसमेत शव पहिचान गरेर महेन्द्रप्रसादकै भनेर लैजानु भएको हो । त्यसमा प्रहरीको कुनै दोष छैन,’ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख एवं प्रहरी निरीक्षक रवीन्द्रराज पाण्डेले भने, ‘छोराले बाबु र दाजुले भाइ नचिन्ने कुरै भएन भन्ने सोचमा हामी पुग्यौं।’
स्थानीय भद्रभलाद्मीको रोहवरमा शव बुझेर उनीहरूले हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरी सकेर परिवारका सदस्य किरिया बस्ने तयारी गर्दा कसैले महेन्द्रप्रसाद जीवितै रहेको भन्ने सूचना दिएपछि बल्ल उनको खोजी सुरू भएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए।
महेन्द्रप्रसाद मदिराका अम्मली रहेको तथा उनी यसअघि पनि हप्ता दश दिन बेपत्ता हुने गरेको हुँदा परिवारजनले उनको खोजी कार्यमा कुनै वास्ता नगरको प्रहरीले बताएको छ।
महेन्द्रप्रसाद बेपत्ता भएको बारेमा परिवारजनले आफैंले पनि नखोजेको र प्रहरीमा समेत कुनै जानकारी नदिएको पाण्डेले बताए।
महेन्द्रप्रसादको मृत्यु भइसकेको भन्ने खबरपछि परिवारका सबै सदस्य तथा आफन्त शोकमा थिए । तर आइतबार देउखुरीको लालमटिया निवासी सुवास भुसालले भारतको इटुवामा महेन्द्र चौधरी काम गर्न गएको भन्ने सूचना दिएपछि छोरा अनुप चौधरी र दाजु इन्द्रप्रसाद चौधरी खोजीमा निस्किएका थिए ।
महेन्द्रप्रसादका दाजुले भारतको इटुवाबाट सकुशल भाइलाई घरमा ल्याएपछि उनलाई घरमा अभिर र फूलमाला लगाएर स्वागत गरिएको हो ।
‘सडेगलेको शव हेर्दा भाइको जस्तै थियो। हामी भाइको मृत्यु भएको निश्चयका साथ अन्तिम संस्कार पनि पुरा गरेका थियौं । तर आज मेरो भाइ सकुशल घर आएको छ । यो एउटा अचम्मैको घटना भयो,’ दाजु इन्द्रले भने।
उनले भाइको आगमन शोकमा डुबेका आफन्त तथा घर परिवारमा खुसियाली छाएको बताए । उनले भाइ भनि अर्कै व्यक्तिको शवको अन्तिम संस्कार गर्दासम्म २५ हजार बढी खर्च भएको बताए ।
‘भाइ भनेर अर्कै व्यक्तिको संस्कार गरिएछ,’इन्द्र चौधरीले भने ‘ भाइ हप्ता दिनदेखि बेपत्ता थियो, सडेगलेको शवमा कपडा त्यस्तै देखिन्थ्यो हामीले राम्रोसँग शवको पहिचान गर्न नसक्दा यस्तो हुन पुग्यो ।’
महेन्द्रप्रसाद चौधरी पत्नीको मृत्युपछि एक्लै बस्दै आएका थिए । उनका छोरासमेत भिन्दै बस्दै आएको हुँदा उनी झनै मदिराका अम्मली बन्न पुगेका परिवारजनले प्रहरीलाई बताएको छ ।