२०५४ सालमा स्थानीय निर्वाचन हुँदै थियो। तत्कालीन विद्रोही नेकपा माओवादीसँगको भिडन्तमा गोली लागि नेपाल प्रहरीमा कार्यरत् गोपालकृष्ण गौतम घाइते भए।
स्याङ्जाको वालिङमा माओवादी बुथ कब्जा गर्न जाँदा दोहोरो भिडन्त भएको थियो। शरीरभरि गोलीको छर्रा लागेका गोपाल चार वर्ष ओछ्यान परेर २०५८ सालमा बिते।
तत्कालीन सरकारले गोपालको उपचारमा खासै चासो नराखेको उनकी पत्नी इन्दिरा बताउँछिन्।
इलाम रोङ्ग गाउँपालिका–१ सिरीसेकी ४८ वर्षीया इन्दिरा पनि नेपाल प्रहरीमै थिइन्। २०४३ सालमा उनीहरूबीच प्रेम विवाह भएको थियो। उनीहरूको बिहेलाई परिवारले राम्ररी स्वीकारेको थिएन।
श्रीमानको मृत्युपछि इन्दिराले सेवाबाट अवकाश लिइन्।
श्रीमान् बित्नु, सेवाबाट अलग हुनु, कलिला लालाबालाको हेरचाह थाप्लोमा आउनु चुनौतीपूर्ण छँदै थियो, यी सबै खेपिरहेकी इन्दिराको जीवनमा बज्रपात सुरू भयो।
श्रीमान बितेको चार वर्ष नबित्दै २०६२ मा जेठा छोरा दुर्गा, ०६३ मा माइला छोरा सरोज र ०६४ मा कान्छा छोरा मनोजको मृत्यु भयो। जेठा र माइला छोराको ब्रेन ट्युमरका कारण मृत्यु भएको थियो। कान्छा मनोजको निमोनियाँबाट मृत्यु भएको थियो।
छ वर्षको बीचमा श्रीमान् र तीन छोराहरू बितेको पीडाले उनको दिमागले निर्णय क्षमता गुमाउन थालेको थियो।
श्रीमानको निधन भएपछि छोराहरूको स्वास्थ्य र शिक्षा बीचैमा अलपत्र पर्यो।
यसैबीचमा इन्दिरा घरबाट निकालिइन्।
घर निकाला भएपछि झापाको राजगढमा आफ्ना छोराहरु लिएर बस्न थालिन्।
राजगढ बस्नुको कारण थियो– दुबैले प्रहरीमा हुँदा त्यहाँ सेवा गरेका थिए। प्रहरी सेवामा रहँदा एक बिगाहा जग्गा किनेका थिए। तीन छोराका साथ राजगढमा थतथलो बसाउँदै थिइन्।
छोराहरू पनि बितेपछि उनलाई पीडाको पहाडले थिच्यो।
पीडा खप्न नसकेर धेरैपटक आत्महत्या प्रयास गरेकी इन्दिरालाई राजगढका स्थानीयले बचाए। मर्न पासो लाग्दै गर्दा छिमेकीले उद्धार गरेको घटनाले यतिबेला इन्दिरालाई झस्काउँछ।
‘विष खाएर मर्न पनि तयार भएँ, बिरिङ नदीको बाढीमा पनि हाम्फाल्न तयार भएँ। तर, छिमेकीले मलाई एकैछिन छोड्नु भएन,’ उनी भन्छिन्, ‘मरेकी भए मैले अरूलाई जिउन सिकाउन नपाउने रहेंछु।’
परिवारविहीन भएकी इन्दिरा हिजोआज सामाजिक काममा क्रियाशील छिन्।
नेपाल प्रहरीमा हुँदा श्रीमान् श्रीमतीले जोडेको सम्पत्तिबाट उनले आफैं सानो कपडा उद्योग खोलेकी छन्। संस्था दर्ता गरी सामाजिक काममा लागेकी छन्।
शिवसताक्षीस्थित झिलझिलेमा नगरका एकल, बाढीबाट विस्थापित, असहाय, बिपन्न वर्गका ३६ जना महिलालाई निःशुल्क सिलाइबुनाइ तालिम दिइरहेकी छन्। उनले भनिन्, ‘मेरोजस्तो कथा कसैको नबनोस् भनेर उनीहरूलाई आत्मनिर्भर गराउन खोजेकी हुँ।’
सिप सिकाएर उनीहरूलाई रोजगारी दिने इन्दिराको लक्ष्य छ। कच्चापदार्थ आफैं उपलब्ध गराउने र सिलाइ बुनाइको ज्याला उनीहरुलाई दिने उनले बताइन्। ‘यति गर्दा उनीहरूले प्रतिव्यक्ति २० हजारसम्म कमाउँछन्,’ इन्दिराले दाबी गरिन्।
उनका अनुसार नेपाललगायत अन्य मुलुकका ठूला बजारमा झिलझिलेमा उत्पादित लुगा सस्तो मूल्यमा बिक्री हुने गरेको छ।
जाडोको सिजन सुरू भएकाले उनले ज्याकेट, सुइँटर, ढाकाको कोट, पाइन्ट, सर्ट, ब्लाउज, पेटिकोट, सुरुवाल, थर्मकोट, ट्रयाक सुट लगायतका लुगा उत्पादन गर्न सुरू गरेकी छिन्। इलाम, झापा र मोरङबाट लुगाको माग आएको इन्दिराले बताइन्।
यहाँको कमाइले आफ्नो जीवन सहजै धान्छ। दैनिक जीवन चलेर आउने बाँकी पैसा आफ्नो संस्थामा हाल्छिन्।
काठमाडौं टोखामा प्रधान कार्यालय रहेको गोपाल–गौरी दिगो विकास प्रतिष्ठान नामक संस्था उनको छ। उनले ०७४ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संस्था दर्ता गरेकी थिइन्।
इन्दिरा सो संस्थाकी संरक्षक र अध्यक्ष हुन्। सो संस्थाले मुलुकका विभिन्न जिल्लामा शाखा विस्तार गरेको छ। इन्दिराले संस्थामार्फत झापा, सुनसरी, सिराहा र सप्तरीमा ०७३ सालको बाढीबाट विस्तापित परिवारलाई खाद्यान्नलगायत लत्ताकपडाको वितरण गरेकी थिइन्।
सुस्त मनस्थिति भएका ६ जनालाई काठमाडौंमा अध्यापन गराइरहेकी छिन्। आफ्नो नाममा रहेको सबै सम्पत्ति संस्थाका नाममा दर्ता गराएकी छन्।
इन्दिराको बाल्यकाल पनि सहज थिएन। शिवगञ्ज–७ झिलझिलेमा २०२६ सालमा जन्मिएकी इन्दिरा गरिबीका कारण काका मोहन पोखरेलको घरमा हुर्किएकी थिइन्। कक्षा ४ सम्म पढेकी थिइन्।
इन्दिराको जीवनको उद्देश्य हो- कोही नभएकाले सहारा पाउन्। गरिबीले थिचिएर जीवनको लक्ष्य उद्देश्यले बाटो नबिराओस्। आत्महत्या गर्न हिँडेका दिन सम्झिँदा अहिले झसंग हुन्छिन्।
‘बाँचुञ्जेल सामाजिक कार्य गरेर बिताउँछु, मेरो नाममा रहेको संस्थाले गरिब दुःखीको सेवा गर्छ भनी चिनाउँछु,’ इन्दिराले संकल्पसाथ भनिन्।