झापाको मेचीनगरमा बिहीबार राति भएको आगलागीको क्षतिको विवरण सार्वजनिक भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख भीम ढकालले सेतोपाटीलाई दिएको जानकारी अनुसार सो घटनामा १ करोड ४३ लाख ५५ हजार ५ सय रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ।
सो आगलागीमा २३ वटा छाप्रा घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए।
प्रहरी उपरीक्षक ढकालका अनुसार क्षतिको विषयमा प्रहरीको यो प्रारम्भीक अनुमान हो। मेचीनगर नगरपालिका ६ नम्बर वडा स्थित काकडभिट्टा बधशाला नजिकका २३ वटा घरमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा गए राति आगो लागेको थियो।
आगलागीबाट नविन राई, मणीप्रसाद गुरूङ्ग, भुपाल तामाङ्ग, केसर लिम्वु, गोले साईला, सविना राजवंशी लगायत २३ जनाको घर जलेको छ।
आगलागी पीडित बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय झापाले राहत वितरण गरेको छ। पूर्ण रूपमा जलेका छाप्रा धनीलाई नगद १० हजार र आंशिक जलेकालाई ५ हजार राहत वितरण गरिएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।
यस्तै नेपाल रेडक्रस सोसाईटी झापा शाखाले भाडा वर्तन, लत्ता कपडा, लगायत खाद्यन्न सामाग्री वितरण गरेको ईलाका प्रहरी कार्यलय काकडभिट्टाले जनाएको छ ।
आगलागीबाट पीडित अधिकांश परिवार आफन्तकोमा आश्रय लिएका छन्। केही पाल टाँगेर बसिरहेका छन्।