संघीय निजामती सेवा विधेयकको 'कुलिङ पिरियड' मा भएको हेरफेरबारे छानबिन गर्न गठन भएको समितिले आजै निष्कर्षसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ।
समितिलाई छानबिन गर्न दिइएको समयसीमा आइतबार सकिएको छ।
आइतबार राति अबेरसम्म बसेको बैठकबाट निष्कर्ष नआएपछि सोमबार बिहानै ७ बजेदेखि समितिको बैठक बसिरहेको छ।
आइतबार समितिलाई दिइएको समयसिमा सकिए पनि आइतबारकै बैठकको निरन्तरता भनेर सोमबार बिहानदेखि बैठक बसिरहेको छ।
समितिका सभापति जीवन परियारले सोमबारको प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गर्ने तयारी रहेको बताएका छन्। प्रतिनिधि सभा बेठक दिउँसो १ बजे बस्ने तय छ।
आइतबार राति सम्मको बैठकमा कुलिङ पिरियड निष्प्रभावी बनाउने दफा कसरी विधेयकमा पर्यो भन्ने पत्ता लाग्न बाँकी नै छ। प्रतिवेदन लेखन र बिग्रनुमा क-कसको संलग्नता छ भन्नेबारे सांसदहरूले आ-आफ्नो धारणा राखेका थिए।
खासगरी कुलिङ पिरियडमा त्रुटी कसरी भयो र त्यसमा कसैको संलग्नता भेटिए कस्तो कारबाही गर्ने भन्ने विषयमा समितिका सांसदहरू साझा निष्कर्षमा पुग्न सकेका छैनन्।
समितिले नेपाली कांग्रेस र एमालेसँग यसबारेमा छलफल पनि गरेको थियो।
समितिमा नेपाली कांग्रेसबाट सांसद जीवन परियार, सुशीला थिङ, नेकपा (एमाले) बाट नारायण आचार्य र ईश्वरी घर्ती तथा प्रतिपक्षी दल माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन्।
कुलिङ पिरियडमा कर्मचारीलाई अवकाश वा राजीनामाको दुई वर्षसम्म नियुक्ति गर्न नमिल्ने व्यवस्था राखे पनि प्रतिनिधि सभाबाट विधेयक पारित हुँदा उक्त विषयमा हेरफेर भएको पाइएको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले छानबिन समिति बनाएका थिए।
यो पनिः कुलिङ पिरियड सम्बन्धी छानबिन समितिमा व्यक्त गरेको आफ्नै धारणामा हस्ताक्षर गर्न कर्मचारीले गरे अस्वीकार