झण्डै एक वर्षअघि माघ ११ गते सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडिओ भाइरल भयो।
ओमन्स वारियर नामक फेसबुक समूहबाट भाइरल भएको भिडिओ देखिन्थ्यो,साँझपख एक यात्रुवाहक बसमा यात्रा गरिरहेकी युवतीको कपालभरि वीर्य।
फेसबुकमा भिडिओ भाइरल भएसँगै यसको कडा आलोचना भयो।
यस प्रकारको घटनाले सार्वजनिक बसमा युवतीहरू कत्तिको सुरक्षित छन् भन्ने प्रश्न नै खडा गरिदियो।
एक दिन दुई दिन हुँदै सो भिडिओ झन् भाइरल भयो।
कतिपय पोर्न साइटहरूले पनि अपलोड गरे।
महानगरीय प्रहरी परिसर ललितपुर, काठमाडौं प्रहरी परिसर र अपराध महाशाखा अनुसन्धानमा जुट्यो तर अश्लिल हर्कत गर्ने ती व्यक्तिलाई पक्राउ गर्न सकिएन।
एक वर्षअघिसम्म फरार रहेका उनलाई महागरीय अपराध महाशाखाको टोलीले चितवनबाट सोमबार राति पक्राउ गरी मंगलबार काठमाडौं ल्याएको छ।
तनहुँको अरुणोदय घर भई चितवनमा लुकेर बसेका २१ वर्षीय रविन सार्की भन्ने रविन रुचाललाई प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको हो।
अश्लिल भिडिओ फेसबुकमा भाइरल भएपछि फेसबुकमा आफूले बनाएको समूहमा नै आफूहरूलाई ज्यान मार्नेसम्मको धम्की आएको रुचालले बताएका छन्।
‘मैले भिडिओ पोष्ट गरेपछि सबै जनाले मलाई गाली गरे, कतिले त मलाई मार्ने धम्कीसमेत दिएपछि एक हप्ताभित्रै बसबाटै म नयाँ दिल्ली गएँ’, रुचालले प्रहरी समक्ष बयान दिएका छन्।
नयाँ दिल्लीमा पुगेर उनले त्यहाँ मस्म बनाउने कारखाना ३ महिना काम गरेको र त्यहाँबाट कमाइ राम्रो हुने भन्दै साथीहरूसँग कास्मिर गएको उनले बताएका छन्।
४ महिनापछि रुचाल फेरि नयाँ दिल्लीमा नै आएर केही समय बसे।
रुचाल करिब २ महिनाअघि नयाँ दिल्लीबाट बसबाटै नेपाल आए।
नारायणघाटमा ओर्लेर त्यस्तै बस्न थालेका थिए।
‘लामो समयसम्म अनुसन्धान चलिरहँदा रुचाल प्रहरी निगरानीमा थिए, नेपाल आएर बस्न थालेको सुइँको पाएपछि हामीले उनलाई पक्राउ गर्यौं, अपराध महाशाखाका एसएसपी सहकुल थापाले सेतोपाटीसँग भने।
प्रहरीसँगको बयानमा रुचालले साथीहरूले भिडिओ पोष्ट गर्दा जति भ्युअर भयो सोही अनुसार आम्दानी पनि धेरै हुने बताएकाले आफूले पनि पैसा कमाउन लागि भिडिओ बनाएर पोष्ट गरेको बताएका छन्।
'साथीहरूले युट्युबमा भिडिओ हाल्दा राम्रो कमाइ हुन्छ भनेका थिए, त्यसपछि मैले युट्युब एकाउन्ट खोल्ने प्रयास गरें, खोल्न जानिनँ', रुचालले भने, 'फेसबुकमा समूह बनाएर अश्लिल भिडिओ पोष्ट गर्न थालेँ।'
‘राम्रो भ्युअर भए महिनामा २/३ लाखसम्म कमाइ हुने साथीहरूले बताए र म पनि उनीहरूकै लहैलहैमा लागेर भिडिओ बनाउन थालें’,उनले थप बयानमा भने।
कक्षा १२ सम्म पढेका रुचाल एक वर्ष अघिसम्म ठमेलमा रिक्सा चलाएर गुजारा टार्ने गर्दथे।
पक्राउ परेका रुचाललाई प्रहरीले साइबर अपराधमा मुद्दा चलाउने एसएसपी थापाले जानकारी दिए।
यी पनि:
बसभित्र अश्लिल हर्कत गर्ने रुचाल भागेर नयाँदिल्ली र कास्मिर पुगेका थिए
एक वर्षपछि पक्राउ परे बसभित्र अश्लिल हर्कत गर्ने युवक