झन्डै पाँच वर्षदेखि बुढापाकाको उपचार गर्दै आएका विशेषज्ञ (जेरियाट्रिसियन) डा. रमेश कँडेललाई शुक्रबार पहिलोपटक स्वास्थ्य सेवा महाशाखाले बोलायो। कारण थियो, कोरोना भाइरसको भय।
यो भाइरस संक्रमणले संसारभर वृद्ध उमेरका नागरिकको ज्यान संकटमा परेको देखिइरहँदा नेपालका बुढापाकाको कसरी सुरक्षा गर्ने भन्ने विषयमा विचार-विमर्श गर्न उनलाई बोलाइएको थियो।
हाम्रो मुलुक कथंकदाचित कोरोना संक्रमण फैलियो भने तत्काल के-कसरी बुढापाकाका मामलामा सावधानी अपनाउन सकिन्छ भनेर महाशाखा प्रमुखले प्रश्न गरेका थिए।
'अन्तका तुलनामा नेपालका बुढापाकाको अवस्थादेखि लिएर परिआएको खण्डमा आवश्यक पूर्वाधारसम्मका मामलामा हामी बढी जोखिममा छौं,' कँडेलले उता दिएको जवाफ सुनाए, 'सामाजिक आइसोलेसन र विद्यमान दीर्घरोग नियन्त्रणमा मात्रै ठोस कदम चाल्न सकियो भने पनि उनीहरूलाई सम्भावित खतराबाट बचाउन सकिन्छ।'
मैले यसै कुरालाई आमपाठकका निम्ति विस्तारमा बताइदिन डा. कँडेललाई अनुरोध गरेँ।
सबभन्दा पहिले त बुढापाकाका निम्ति पनि बेग्लै डाक्टर हुँदा रहेछन् भन्ने नै थाहा थिएन।
'स्वास्थ्य विज्ञानको विकास हुँदा सुरूमा डाक्टर मात्र भनिन्थ्यो,' उनले बताए, 'तर, फरक उमेर समूहमा फरक समस्या देखिने भएकाले पछि-पछि त्यहीअनुसारका विशेषज्ञ तयार हुँदै गएका हुन्।'
कँडेलका अनुसार संसारमा बुढापाकाको विषयमा विज्ञता हासिल गर्ने चिकित्सक (जेरियाट्रिसियन)को अवधारणा आएको पाँच दशकजति भयो।
'नेपालमा भने यस विषयको म पहिलो डाक्टर हुँ,' उनले थपे, 'पाँच वर्षयता म एक्लैले यो सेवा दिँदै थिएँ। पछिल्लो समय थप दुई जना चिकित्सक गरेर तीनजना भएका छौं।'
पछिल्लो समय संसारभर जेष्ठ नागरिकको आयु बढ्दो रहेकाले उनीहरूका निम्ति बेग्लै चिकित्सिकको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको डा. कँडेल बताउँछन्। नेपालीको पनि औसत आयु बढ्दो रहँदा भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सबाट उनले यो विषयमा विज्ञता हासिल गरेर फर्केका हुन्।
'बुढापाकामा कुनै रोगको लक्षण वयस्कमा भन्दा फरक हुन्छ,' उनी भन्छन्, 'त्यो फरक लक्षण छुट्याउन जान्ने र नयाँ-नयाँ स्वास्थ्य समस्यासँग जुझ्ने नै हाम्रो काम हो।'
कोही बुढेसकालमा पनि तन्नेरीजस्ता देखिने भएकाले उमेरलाई 'क्रोनोलोजिकल' र 'बायोलोजिकल' गरेर दुई किसिमले छुट्याइन्छ।
'जस्तो सत्यमोहन जोशीको स्वास्थ्य अवस्था र सक्रियता हेरेर उहाँलाई सय वर्षको वर्गीकरणमा राख्न मिल्दैन,' उनले प्रष्ट पारे, 'त्यो भनेको जोशीको बायोलोजिकल उमेर हो।'
यति हुँदा हुँदै पनि बायोलोजिकल उमेरमा धेरै 'भेरिएबल' हुने भएकाले नेपालमा ६० वर्ष पार गरेकालाई आफूहरूले हेरचाहको दायराभित्र ल्याउने गरेको उनले प्रष्ट पारे। उनका अनुसार यही उमेर लक्षित 'ज्येष्ठ नागरिक ऐन २०६३' पनि जारी छ। जबकि, विकशित देशहरूमा ६५ वर्ष लागेपछि बल्ल वृद्ध मानिन्छ।
वृद्धहरूमा देखिने समस्या के हुन्?
कँडेलका अनुसार वयस्क र वृद्धमा हुने प्रायः समस्या एकै हुन्छन्। जस्तो, निमोनिया दुवैमा हुन्छ।
'तर, वयस्कलाई निमोनिया हुँदा सामान्य मान्यता अनुसारै ज्वरो आउने, स्याँस्याँ हुने, छाती दुख्ने हुन्छ भने वृद्धमा ज्वरो वा खकार नदेखिएरै पनि निमोनिया हुनसक्छ,' उनले थपे, 'बुढापाकाका हकमा श्वासप्रश्वास र सोच्ने क्षमतामा गडबढी (डेलिरियम) बाट हामीले निमोनिया भएको लक्षण थाहा पाउँछौं।'
वयस्क उमेरमै देखिएका रोगका जटिलता वृद्धावस्थामा थपिँदै लैजानु अर्को समस्या हो। जस्तो तन्नेरीमै मधुमेह वा उच्च रक्तचाप भएकाको वृद्धावस्थामा पुगेर मिर्गौला, मुटु जस्ता अंगमा समस्या देखिन थाल्छन्। तन्नेरीमा धुम्रपान गरेकालाई बुढेसकालमा दम देखिन्छ।
वृद्धहरूमा जोर्नी दुख्ने, निन्द्रा पातलो हुनेजस्ता समस्या आम नै हुन्छन्।
'दिसा-पिसाब चुहिने समस्या त चिकित्सकलाईधरि जानकारी दिन संकोच मान्छन्,' उनले भने, 'जबकि यो एकदमै धेरै हुन्छ।'
त्यसैगरी अत्यधिक बुढ्यौलीसँगै शरीरको सन्तुलन नमिल्ने भएकाले लड्ने समस्या पनि हुन्छ।
'हाम्रो समाजमा अहिले वृद्धहरूमा डिप्रेशन पनि विकराल देखिएको छ,' उनले भने, 'जीवनसाथी एवं पुराना साथी-आफन्तको मृत्युबाहेक अहिले ग्रामिणबाट सहरी जीवनमा प्रवेश, सन्तानबाट टाढा रहनुजस्ता कारणले यो समस्या जटिल भइरहेको छ।'
यी सबैबाहेक असाध्यै धेरै देखिइरहेको समस्या भनेको अल्जाइमर्स र पार्किन्सन हो। यिनै समस्यासँग जुधिरहेका बुढापाकामा पछिल्लो समय विश्वभर देखिएको कोरोना भाइरस संक्रमणका खतरा पनि थपिएका छन्।
तथ्यांकले पनि त्यही नै देखाइरहेको छ। चीनमा सुरूको पचास हजार संक्रमितको तथ्यांक अध्ययन गर्दा ८५ वर्षभन्दा बढी उमेरका संक्रमण हुँदा मृत्युदर १५ प्रतिशत देखिएको छ। त्यसैगरी ७० देखि ८५ वर्षकामा ८ प्रतिशत मृत्युदर देखिएको छ। जबकि आम जनसंख्या हिसाबले हेर्दा २ देखि ४ प्रतिशतको मात्र मृत्यु भएको देखिन्छ।
अर्थात्, अहिले सबभन्दा बढी सुरक्षा आवश्यकता बुढापाकालाई छ। त्यसको कारण पनि डाक्टर कँडेलले अर्थ्याए।
'कुनै पनि ब्याक्टेरिया वा भाइरस प्रवेश गर्नेबित्तिकै हाम्रो शरीरभित्रकै रोगविरोधी क्षमताले लडेर हामीलाई स्वस्थ बनाउँछ,' उनले भने, 'बुढापाकाको सन्दर्भमा त्यो रोगविरोधी क्षमता विस्तारै क्षय हुँदै गएको हुन्छ।'
त्यस्तो अवस्थामा त्यसले जुन सक्रियताका साथ त्यस्ता ब्याक्टेरिया वा भाइरससँग लड्नुपर्ने हो, त्यो सक्दैन। रोगसँग लड्ने क्षमता कमजोरीकै कारण बुढापाका धेरै जोखिममा हुने डा. कँडेलले बताए।
'कसैगरी बुढापाकामा कोरोना संक्रमण भए त्यो बढी खतरनाक हुन्छ,' उनी भन्छन्, 'त्यसैले उनीहरूको मामलामा अझ बढी सतर्कता अपनाउनु पर्नेछ।'
जहाँसम्म हाम्रो सन्दर्भ छ, हाम्रा बुढापाकामा यो समस्या देखिए झनै कठिन अवस्था उत्पन्न हुने डा. कँडेल सुनाउँछन्।
'भाग्यवश हामीकहाँ अहिलेसम्म समस्या देखिएको छैन,' उनी भन्छन्, 'हाम्रोजस्तो मुलुकले कसरी हुन्छ पूरा, जोडबल लगाएर यो संक्रमण फैलन नदिनु नै सबभन्दा बुद्धिमानी हुन्छ।'
तर, विश्व स्वास्थ्य संघजस्ता निकायले दक्षिण एसियाली मुलुकमा खतराको व्यापक सम्भावनामा औंल्याइसकेपछि नागरिकस्तरबाट समेत घरघरमा होसियारी अपनाउनु उनी जरूरी देख्छन्।
'यसमा सबभन्दा मुख्य ध्यान दिनुपर्ने, बुढापाकालाई भिडभाड हुने स्थानमा जानै दिनुभएन,' उनले स्पष्ट पारे, 'हाम्रो सन्दर्भमा यति बेला मन्दिर वा भजनमा जान रोक्दै बुढा बा-आमाको चित्त बुझ्नेगरी घरैमा पूजाआजाको प्रबन्ध मिलाइदिनुपर्छ।'
भोजभतेरमा बुढापाकालाई लैजाँदै नलैजाने सुझाव पनि उनी दिन्छन्।
'परिवारका कसैमा लक्षण मात्र देखियो भने पनि बुढापाकाको सम्पर्कबाट उनीहरूलाई टाढा राख्नुपर्छ,' उनले भने, 'जुनसुकै कारणले पनि खोकी, ज्वरो आइरहेको छ भने पनि बुढापाका नजिक पर्न दिनु हुन्न।'
स्वस्थ मानिसले पनि साबुन पानीले हात धोएर र मास्क लगाएर मात्र बुढापाकालाई भेट्नु उचित हुने उनको सुझाव छ।
यति बन्दोबस्त मिलाइसकेपछि घरका बुढापाकाको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि परिवारले ध्यान दिनुपर्ने डा. कँडेल सुझाउँछन्।
'विशेषगरी सागपात, फलफूल र अरू पौष्टिक खानेकुरा बढी खुवाउनुपर्छ,' उनले थपे, 'त्यसबाहेक शारीरिक गतिविधि पनि बढाउनुपर्छ।'
घरभित्रै पनि करेसाबारी वा बगैंचामा सक्रिय हुन दिनु उपयुक्त हुने उनी बताउँछन्। केही नभए बसेकै ठाउँमा एक घन्टामा कम्तीमा सात-आठ पटक उठ्न लगाउँदा पनि व्यायाम पुग्छ।
'यसरी खानपान र शारीरिक व्यायामबाहेक उहाँहरूका दीर्घरोग पनि नियन्त्रणमा राख्ने पूरा प्रयास गरिनुपर्छ,' उनी भन्छन्, 'रक्तचाप, मधुमेह नियन्त्रित छ कि छैन? मुटुका औषधि खाइरहेकालाई त्यो नियमित छ कि छैन? त्यसैगरी दम बढ्नुभएन।'
अहिलेको परिस्थितिमा यस्ता कुरा नियन्त्रण नभए यसले जोखिम अझ बढाउँछ। यति प्रबन्ध गरिसकेपछि सम्भव भएसम्म बुढापाकाका निम्ति तयार पारिएका खोप पनि लगाइदिने हो भने अझ बुद्धिमानी हुने उनी बताउँछन्।
पाँच वर्षयता बुढापाकालाई पनि विभिन्न प्रकारका खोप उपलब्ध छन्। यो याममा सामान्य रुघाखोकीको सम्भावना बढी हुन्छन्। निमोनियाको पनि खोप आइसकेको छ। अस्पतालमा उपलब्ध यी खोप लगाइदिने हो भने बुढापाकाको रोग प्रतिरोधी क्षमता बढ्छ। अहिलेको भयावह कोरोना संक्रमण परास्त गर्न सघाउ पुर्याउने पनि डा. कँडेल सुनाउँछन्।
नेपालमा ६० वर्षमाथिका जनसंख्या लगभग नौ प्रतिशत छ। त्यो भनेको तीन करोडलाई आधार मान्दा करिब २७ लाख। जबकि यस्ता उमेर समूहको उपचारमा विज्ञता हासिल गरेका अहिलेसम्म केवल तीनजना चिकित्सक रहेछन्। ती पनि सबै काठमाडौंमै केन्द्रित।
'जनशक्तिको यो कमी तत्काल समाधान गर्न नर्सहरूलाई तालिम कार्यक्रम गरिसकेका छौं,' डा. कँडेल भन्छन्, 'त्यसैगरी दुरदराजमा जाने एमबिबिएस डाक्टरलाई पनि तालिम दिन तयारी भइसकेको छ।'
त्यसबाहेक सरकारसँग मिलेर आफूहरूले १२ वटा अस्पतालमा जेष्ठ नागरिक लक्षित वार्ड बनाउन काम थालेको जानकारी उनले दिए।
'आठ वटा अस्पतालमा सुरू भइसकेको छ,' उनले भने, 'यो आर्थिक वर्षमै थप चार अस्पतालमा विस्तार हुनेछ।'
त्यसैगरी कान्ति बाल अस्पताल भनेजस्तै केन्द्रमा एउटा बुढापाकाको मात्र अस्पताल बनाउने लक्ष्य छ। त्यसलाई एउटा रिफरल सेन्टरका रूपमा विकास गर्ने र प्रदेश वा जिल्लामा भएकै अस्पतालमा बुढापाकाको बेग्लै वार्ड राख्ने सपना डा. कँडेलले देखेका छन्।
गत वर्ष रेडबुकमै मुलुकभर सय शैयाभन्दा माथिका प्रत्येक अस्पतालमा जेष्ठ नागरिक वार्ड सञ्चालन गर्ने उल्लेख भइसकेको उनले जानकारी दिए।
केहीगरी हाम्रा बुढापाकामा कोरोना संक्रमण भए उनीहरूले अमेरिका, इटाली वा चीनमा पाइरहेको सुविधाका तुलनामा कस्तो सेवा पाउने अवस्था छ?
यो प्रश्नको उत्तरमा डा. कँडेलले सबभन्दा पहिले त बुढापाकामा कोरोना लाग्नेबित्तिकै मृत्यु हुन्छ भन्ने त्रास नै बेकार रहेको बताए।
'हामीले अहिले गर्नुपर्ने काम भनेकै सकभर यसलाई फैलिनै नदिने हो,' उनले भने, 'फैलिएछ भने पनि सय जनामा संक्रमण देखियो भने नब्बे जना त स्वास्थ्य भएरै घर फर्किन्छन्।'
यस्तो कुरामा सरकार, स्वास्थ्यकर्मीदेखि लिएर परिवारका प्रत्येक सदस्य उत्तिकै जिम्मेवार हुनुपर्ने डा. कँडेलको सुझाव छ।
'हामी जिम्मेवार नहुने हो भने एउटा कुरा बुझ्नु जरूरी छ,' उनले सत्य उजागर गर्दै भने, 'युरोप र अमेरिकामा समेत संक्रमित बुढापाकाको अवस्था डरलाग्दो भइरहेको बेलामा हामीकहाँ श्रोतसाधनले धान्ने अवस्थै नरहेकाले झन् भयावह हुनेछ।'
तर, माथि भनिएजस्तै सबै जिम्मेवार भएर लागिपर्ने हो भने त्यस्तो अवस्था आउनबाटै रोक्न सकिने उनी स्पष्ट पार्छन्।