स्थलगत रिपोर्टिङ
चितवनको माडीस्थित चेपाङ बस्तीमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगो लगाएको भन्दै सर्वत्र आलोचना भइरहेको छ।
माडी नगरपालिकाको वडा नम्बर ९ मा रहेको कुसुम खोलामा रहेको बस्तीमा साउन ३ गते शनिबार निकुञ्जको टोली ७ हात्तीसहित पुगेको थियो। उक्त टोलीले त्यहाँका खेत र पाखामा लगाइएको बाली नष्ट गर्नुका साथै त्यहाँ रहेका घर, गोठ तथा बाली हेर्न बनाइएका मचानहरू भत्काइदियो। दुइटा घरमा आगो लगाइदियो।
कुसुम खोला चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ।
निकुञ्जले जलाएका घरहरू अहिले स्थायी बसोबास हुँदै आएका घर नभई बाली कुर्न बस्न मिल्ने घर हुन्। भत्काइएका कतिपय घरहरू भने वर्षौंदेखि बस्दै आएका पनि छन्।
निकुञ्जले आगजनीको विषयमा औपचारिक रूपमा बोलेको छैन। ११ वटा छाप्रा भत्काएको र ८ कट्ठामा लगाएको मकै नोक्सान भएको जानकारी निकुञ्जले दिएको छ।
वन मन्त्री शक्तिबहादुर बस्नेतले भने घर नभई बाली कुर्न बनाइएको मचान जलाइएको र गोठ भत्काइएको अभिव्यक्ति दिएका थिए। मन्त्रीको अभिव्यक्ति आउनुअघि नेपाल सरकारका सह-सचिव नेतृत्वको टोली कुसुमखोला पुगेको थियो।
माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले निकुञ्जले अनावश्यक बलमिच्याइँ गरेको बताए। उनले स्थानीय चेपाङको घर भत्काएर जलाइएको भन्दै मन्त्रीले पनि झुठो अभिव्यक्ति दिएको बताए।
बस्ती सार्ने प्रयास भइरहँदा यसलाई बिथोल्ने प्रयास भएको मेयर ढकालको भनाइ छ।
निकुञ्जको टोलीले हात्ती लगाएर घर भत्काइदिएपछि स्थानीयबासीहरू त्रसित छन्। स्थानीय कविता चेपाङ सपनामा पनि हात्तीले तर्साउने गरेको बताउँछिन्।
‘दिउँसो काम गर्ने समयमा पनि दिमागमा हात्ती नै आउँछ,’ उनी भन्छिन्।
४ वर्षे छोरा र ३ वर्षीया छोरी काखमा च्यापेर बसेकी उनको आँखा अगाडि अहिले पनि निकुञ्जका सेना, कर्मचारी र हात्तीले घर भत्काएको, जलाएको, अन्न नष्ट गरेकोदेखि ‘गोली ठोक्छु’ भनेर धम्की दिएको दृश्य झल्झली आउँछ।
बस्ती स्थानान्तरण गरेर तल झार्ने निर्णय भएपछि कविताको जस्तै करिब एक दर्जन परिवारले पनि तयारी थालेका थिए।
त्यत्तिकैमा कोरोना भाइरसको महामारी सुरू भयो। लकडाउन घोषणा भयो। सामान सार्न अप्ठ्यारो परेपछि एक बाली उब्जाउन पाइन्छ कि भन्ने सोचले मकै लगाए।
शनिबार चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको टोलीले उनीहरूले लगाएको मकैमात्रै स्वाहा पारेन, आश्रय लिँदै गरेको घर भत्कायो। केही घरमा आगै लगाइदियो।
हामी कुसुम खोला पुग्दा ५१ वर्षीय काजीराम प्रजा जलेर कोइला र खरानीमात्रै बाँकी रहेको स्थानमा टोलाउँदै गरेका भेटिए।
२०४८ सालमा लोथरको नेत्राङबाट बाँदरझुला बसाइँ सरेको काजीरामको परिवार केही वर्षपछि कुसुम खोला झरेको रहेछ। सात जना बस्दै आएको उनको घर हात्तीले ढलाइदियो। त्यसपछि जलाइयो।
‘दुइटा हात्ती लगाएर घर भत्काए’, काजीरामले सुनाए, ‘भत्काएपछि आगो लगाइदिए।’
बन्दुक बोकेका मान्छेहरू बेस्सरी कराउन थालेपछि डरले केही बोल्न नसकेको उनले सुनाए।
काजीरामले निकुञ्जका कर्मचारीले सात दिनभित्र बस्ती खाली हुनुपर्छ भनेको बताए।
‘वर्षाको समयमा कसरी सामान झार्ने? गएर कहाँ बस्ने?,’ उनले प्रश्न गरे, ‘हामीलाई केही समय चाहिन्छ। तल बस्ने व्यवस्था मिलेपछि गइहाल्छौं।’
‘अहिलेको बाली लिएर तल झर्छौं केही नगर्नुस्’ भनेर बिन्ती गर्दा कसैले नसुनेको कविता चेपाङले बताइन्। निकुञ्जले काजीरामसँगै दीपबहादुर चेपाङको घरमा आगो लगाइदिएको थियो।
कुसुमखोला बस्ती स्थानान्तरणको कथा
माडी कुसुम खोलामा बस्ती बसेको दुई दशक बढी भयो। यो बस्तीलाई त्यहाँबाट विस्थापित गर्न खोजिएको पनि केही वर्ष बित्यो। चितवन राष्ट्रिय निकुञ्जको मात्र जोडबलले बस्ती सार्न सकिएको थिएन। २०७६ वैशाखमा निकुञ्ज, माडी नगरपालिका र राष्ट्रपति चुरे तराई मधेस कार्यक्रमबीच बस्ती स्थानान्तरणको सहमति भयो। बस्ती कहाँ सार्ने निर्णय भने हुन सकेन।
पछि मध्यवर्ती क्षेत्रको बस्ती सारेर मध्यवर्ती क्षेत्रमै बसालिन सहमति भयो।
उक्त सहमतिपश्चात यहाँका एक सय ५० घर स्थानान्तरणका लागि तयार भए, दश घर तल झरेनन्। कुसुम खोला पुग्न माडी नगरपालिकाको बगई (भरतपुर–माडी–ठोरी हुलाकी मार्ग)बाट दुई घन्टा हिँड्नु पर्छ। चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको यो बस्ती माडीका अन्य बस्तीभन्दा उचाइमा छ।
चितवनकै विभिन्न गाउँ तथा छिमेकी जिल्लाहरूबाट समेत आएका चेपाङ, भुजेल, तामाङहरूले यहाँ बस्ती बसाएका थिए। अब बाँकी चेपाङमात्रै छन्। कुसुम खोलामा मकै, कोदो, तोरीलगायत बालीको राम्रो उत्पादन हुन्छ। खोलानजिकै बस्ती रहेका कारण केहीले धानसमेत रोप्ने गरेका छन्।
चेपाङलाई आधा वर्ष अनिकालमा बिताउनु पर्ने बाध्यता भएको समुदायको रूपमा बुझिन्छ। तर यहाँका बासिन्दाले आफूलाई पुर्याएर खाद्यान्न बिक्री गर्दै आएका थिए। स्थानीय जनप्रतिनिधि पूर्णिमाया चेपाङका अनुसार यहाँका सबै परिवारले वार्षिक १५ क्विन्टलसम्म तोरी बेच्थे। स्थानान्तरणपछि त उनीहरूलाई खानाको समेत समस्या पर्न थाल्यो।
स्थानीय सरकारले बस्ती स्थानान्तरण गर्ने भनेपछि प्रायः स्थानीयवासीले सहमति जनाए। उनीहरूलाई दुई कोठाको पक्की घर बनाइदिने सहमति थियो, जीवीकोपार्जनमा पनि सघाउने आश्वासन दिइएको थियो। यिनै आवश्वासनका साथ माडीको राइडाँडा, स्कुलडाँडा, परुई, खरिकुना, इन्द्रबस्तीलगायतका क्षेत्रमा एक-एक कट्ठा जमिन छुट्याइयो। माडी नगरपालिकाले राइडाँडा र स्कुलडाँडामा घर बनाउन सुरू गर्यो। २०७६ चैतमा घर बनाउन सुरू गर्दा २०७७ जेठमा बनाइसक्ने लक्ष्य थियो। यहाँमात्रै ७१ घर बनाउने तयारीमा नगरपालिका थियो। निर्माण कार्य सुरू भएको केही समयमै नगरपालिकाको काममाथि प्रश्न उठ्यो। घर बनाउने क्रममा रूख काटेर अपचलन गरेको आरोपसहितको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेपछि चितवन राष्ट्रिय निकुञ्जले निर्माण कार्य रोकिदिएको थियो।
कुसुम खोला फर्कनु बाध्यता
बस्ती स्थानान्तरणको निर्णय भएपछि नगरपालिकाले कुसुम खोलावासीलाई आफ्ना सामानसहित स्थानान्तरण हुन भनेको थियो। त्यहीअनुसार उनीहरू पोका पुन्तुरा बोकेर तल झरे। तर झरेको एक वर्ष बढी हुँदा पनि घर नबनेपछि बस्न नसक्ने अवस्था आएको स्थानीय धमबहादुर चेपाङ बताउँछन्।
‘खोला किनारमा लगेर जमिन देखाइदिए। यहीँ बाँध बाँधेर घर बनाइदिने कुरा थियो,’ उनले भने, ‘तर घर बनाउने मेसो कहिल्यै आएन। बस्ने ठाउँ पनि छैन, खाने ठाउँ पनि छैन। कसरी बस्ने त्यहाँ?’
धमबहादुरले बस्ने र खाने कुराको व्यवस्था नभएपछि पहिलेकै ठाउँमा फर्किएर खेती गर्न थालेको बताए।
‘सबै दाजुभाइको अवस्था यही नै हो। एक कठ्ठा जमिन दिएर हामी कसरी बाँच्ने? परिवार कसरी पाल्ने?,’ धमबहादुरले प्रश्न गरे। धमबहादुरले कुसुम खोलामा लगाएको मकै हात्ती लगाएर नष्ट गरिएको छ।
परुई खोलाको आडैमा बस्ती बसाल्ने बेलामा त्यहाँको जमिन वर्षौंदेखि चर्चिदै आएकाहरूले विरोधसमेत गरेका थिए। त्यो विरोध अझै बाँकी छ। केहीले त नम्बरी जग्गामा सुकुम्बासी बसाएको भन्दै आफूहरूलाई लखेट्ने प्रयास पनि गरेको काजीमान चेपाङ बताउँछन्। काजीमान चेपाङ पनि परुईमा व्यवस्थापन नहुने छाँट देखिएपछि फेरि गाउँ लागेका थिए। निकुञ्जबाट खटिएको टोलीले उनको पुरानो घर भत्काएर आगो लगाइदिएको थियो।
‘हामी रहरले कुसुमखोला फर्किएका होइनौं। बाध्यताले गर्दा फेरि यहीँ आउनु परेको हो,’ काजीमानले भने, ‘बाढीको समयमा खोलाले लैजालाजस्तो ठाउँमा कुनै बन्दोबस्त नगरी बस भनेर हामी कसरी बस्ने?’
आधिकारिक रूपमा बस्ती स्थानान्तरण गरिए पनि यहाँ खोतीपाती भइरहेको जानकारी निकुञ्जलाई सुरूबाटै थियो। निकुञ्ज प्रशासनले यहाँबाट हट्न स्थानीयलाई भनिरहेको थियो। तर उनीहरू लगाएको अन्न नथन्क्याइकन गाउँ छाड्न तयार भएनन्। अटेरी गरेको ठहर गर्दै निकुञ्जको टोली हात्ती र सेना लिएर बस्ती खाली गर्न पुगेको थियो। उक्त टोलीले त्यहाँ जंगली जनावरबाट बाली जोगाउन बनाइएका मचान, घर-गोठ भत्कायो। अनि दुइटा घरमा आगो लगाइदियो। यहाँ लगाएको मकै, केरालगायतका बाली हात्ती लगाएर नष्ट गरियो। एक हप्तामा गाउँ छाड्न उर्दी गर्दै टोली फर्किएको थियो। तर उनीहरूले गाउँ छाडिसकेका छैनन्।
निकुञ्ज भन्छ- ३ सय ३० रूख हराए
कुसुम खोला बस्ती स्थानान्तरण गरेर राइडाँडा र स्कुलडाँडामा ७१ वटा घर बन्दै थिए। चेपाङ जनता आवास कार्यक्रमअन्तर्गत बस्ती बनाउन लागिएको थियो। बस्ती बसाउने क्रममा ३ सय ३० वटा रूख काटिएको निकुञ्जको दाबी छ। तर ती रूख कता गए, निकुञ्जलाई जानकारी छैन।
रूख ढालिएको र बस्ती निर्माण हुँदै गर्दाको समयमा निकुञ्ज मौन बसेको थियो। निकुञ्ज तब सक्रिय भयो जब यहाँ बस्ती बसाल्ने क्रममा रूख काटेर अपचलन गरियो भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो।
‘राष्ट्रप्रेमी जनसमुदाय माडी नगरपालिका’ को नाममा परेको उजुरीमा चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाका प्रमुखसमेत आर्थिक प्रलोभनमा परेर वन फाँडानी गरिएको आरोप लगाइएको छ।
यो उजुरी परेपछि निकुञ्जले माडी नगरपालिकालाई पत्राचार गरेर घर निर्माण कार्य तत्काल रोक्न भनेको थियो।
निकुञ्जका अनुसार टम्टा अनार सामुदायिक वन क्षेत्रमा पर्ने राइडाँडामा १ सय ६६ र स्कुलडाँडामा १ सय ६४ वटा रूख काटिएका छन्। ती रूखहरूमध्ये अधिकांश सालका छन्। साथै बैकुण्ठ सामुदायिक वनअन्तर्गत पर्ने परियू खोलासँगै बस्ती बसाउने क्रममा पनि ठूलो संख्यामा सिसौ, खयरलगायतका रूख काटिएको स्थानीयको आरोप छ। परुई क्षेत्रमा जिल्ला वन कार्यालयले दिएका बिरूवा रोपिएको थियो।
मध्यवर्ती क्षेत्रमा एक रूख काट्दा २५ वटा नयाँ बिरूवा रोप्नुपर्ने प्रावधान छ। अवैध रूपमा रूख काट्नेलाई एक वर्ष जेल र सो रूखको दोब्बर मूल्य बराबरको सजाय हुने कानुनी व्यवस्था छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रूपाखेती कुसुम खोला क्षेत्रबाट अन्यत्र गइसकेका केही मानिसले हाल बसेको स्थानमा पनि भोगचलन गर्ने र छाडेर गएको कुसुम खोलामासमेत खेती गरी दोहोरो अतिक्रमण गर्ने प्रयास गरेको बताउँछन्। निकुञ्जले सालका रूखमा क्षति हुने गरी बस्ती बसाएको जानकारी पाएपछि संरचना निर्माण नगर्न पत्र काटेको उनले बताए।
‘सबै फडानी त होइन, तर राइटोलमा केही सालका रूखमा क्षति पुगेको सूचना पाएपछि कानुनसम्मत भएन भनेर नगरपालिकालाई पत्र लेखेका हौं,’ निकुञ्ज प्रमुख रूपाखेतीले भने, ‘हकभोग पुगेको जग्गामा बसाउनु नै स्थायी बसोबास हो, तर अहिलेको नयाँ बस्तीहरू दीगो बसोबास होइन भनेर रोकेका हौं।’ उनले के कति सालका रूखमा क्षति पुगेको छ भनेर अध्ययन भइरहेको बताए।
यी क्षेत्रमा नगरपालिकाले अस्थायी पुर्जा बिनै पक्की घर बनाउन लागेको थियो। २० हात मोहडा ८० हात पिछाड हुने गरी १ कट्टठा बराबरको जग्गा भोगचलन गर्ने गरी घर बनाउन लागिएको थियो। यी बस्तीमा केही सालका ठुटा, गोलाई र रूखका हांगाहरू यत्रतत्र देख्न सकिन्छ। तर, यी काठ कहिले काटिएका थिए भन्नेबारे स्थानीय बेखबर देखिन्छन्।
बस्ती सार्न खोज्दा भाँजो हालियो: मेयर ढकाल
मेयर ठाकुरप्रसाद ढकालले निकुञ्जका कारण बस्तीको निर्माणकार्य रोकिएको बताए।
‘उजुरीकै आधारमा घर बनाउन नदिने हो भने चेपाङहरूले बस्ने ठाउँ पाउँदैनन्,’ ढकालले भने, ‘कुसुम खोलाबाट सार्न भूमिका खेलेकोमा सम्मान गर्न छाडेर उल्टो भाँजो हाल्न निकुञ्ज उत्रियो।’
उनले कुसुम खोलाबाट सरेर आएका चेपाङको घर बनाउन नगरपालिकाले अगुवाई गरेको बताए। जबकी, चेपाङहरू भने जनप्रतिनिधिले घर बनाइदिने आशा देखाउँदै बस्तीबाट निकालेको दाबी गर्छन्।
‘ऐलानी र प्रतिजग्गा खोजेर सुरक्षित बसोबासको व्यवस्था मिलाउन थालेका थियौं,’ मेयर ढकाल भन्छन्, ‘तर निकुञ्ज सधैं असहयोगी बन्यो।’
४ सय विघा जमिन खाली गरिदिएर अन्यत्रै घर बनाउन खोज्दा फेरि अवरोध भएको उनले बताए।
वडा-९ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदी तटबन्धन गरेर, शौचालय, खानेपानी लगायतका सुविधा सहितको घर बनाउँदै गर्दा निकुञ्जले अवरोध गरेको बताउँछन्। असोजसम्म कुसुमखोला खाली नभए निकुञ्जसँगै समन्वय गरेर सार्ने योजना रहेपनि निकुञ्ज प्रशासनले दमनकारी शैली अपनाएको उनले बताए।
सोही वडाकी सदस्य पूर्णिमाया प्रजाका अनुसार कुसुमखोलाबाट सरेर आएकाहरूले राइटोलमा ४५ वटा अस्थायी घर बनाएका थिए। जसमध्ये २८ वटा परिवार २ कोठे पक्की घरमा परिसकेका छन्। स्कुलडाँडामा २६ घरमध्ये १३ वटा घरमा टिनको छानोमात्रै राख्ने काम बाँकी छ।
‘यहाँ पहिले सुकुमबासी बस्ती थियो, त्यही बेला सालका रूख काटिए होलान्,’ उनी भन्छिन्, ‘केही कुकाठ र सालका हाँगा सफा अहिले भयो होला, तर अहिल्यै वनफडानी भएजस्तो आरोप लगाउनु गलत छ।’
उनका अनुसार एउटा पक्की घर बनाउन २ लाख नगरपालिकाले र १ लाख बराबरको श्रमदान गरिएको छ। कुसुम खोलाबाट झरेकाका लागि खरिकुनामा ७ घर पक्की बन्दैछन्। परुईमा ५३ परिवारको बसोबास छ। अन्य केही इद्रबस्ती, प्याउलीलगायतका ठाउँमा छन्।
मेयर ढकालले कुसुम खोलाका बासिन्दाका लागि नमूना बस्ती बसाएर हातमा पुर्जा दिएरै छाड्ने अठोट भने गरेका छन्। माडी पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र पनि हो। केही दिन अघि बाढी प्रभावितलाई भेट्न माडी पुग्दा उनले सुकुम्बासी समस्याको दीगो समाधान खोजिने बताएका थिए।
परुईमा सरेका चेपाङ अगुवा छविलाल चेपाङ नेताहरूलाई बोलीमा मात्रै नभई व्यवहारमै उचित बसोबासको व्यवस्था मिलाउन आग्रह गर्छन्।
‘वर्षौदेखि बसेको ठाउँ छाडेर झरेका हौं, फेरि फर्केर उहीँ जाने चाहना छैन,’ उनी भन्छन्, ‘खोलामा बलियो तटबन्धन होस्, अब बाढी र निकुञ्जले छुन नसकोस्, ढुक्कले बस्न पाइयोस्।’