चितवनको राप्ती-२ गड्यौलीका राजकुमार प्रजा साउन १ गते साथीहरूसँग माछा मार्न र घोंगी खोज्न चितवन राष्ट्रिय निकुञ्जभित्र छिरे।
निकुञ्जबाट साँझ फर्किंदा उनीहरूका हात रित्ता थिए। हातमा केही नभए पनि शरीरभरि निलडाम बोकेर उनीहरू घर आएका थिए। त्यो दिन निकुञ्जभित्र के भयो उनीहरूले कसैलाई भनेनन्। मनको पीडा मनमै लुकाए।
राती सुत्ने बेला निलडाम देखेपछि सोधीखोजी भयो। परिवारका सदस्यले बल्ल थाहा पाए-दिउँसो निकुञ्जभित्र उनीहरूलाई निर्घात कुटपिट गरिएको रैछ।
राजकुमारको आडैमा घर भएका सन्तलाल चेपाङको ढाडमा अहिले पनि निलडाम छ। उनी दु:खाइ कम हुने औषधी खाइरहेका छन्।
सन्तलाल पो जिउँदा छन् र औषधी खाइरहेका छन्, कुटाइले थलिएका राजकुमारले संसार छोडिसकेका छन्। शरीरका निलडाम निको नहुँदै साउन ७ गते उपचारका क्रममा उनको मृत्यु भयो।
माछा मार्न र घोंगी खोज्न सँगै गएको साथीको अकालमा ज्यान गएपछि उनको परिवारलाई न्याय दिलाउन सकिन्छ कि भनेर सन्तलाल अचेल दैनिक सदरमुकाम धाइरहेका छन्। कहिले प्रहरी कार्यालय त कहिले जिल्ला प्रशासन कार्यालयको अगाडि भेटिन्छन्, उनी।
सन्तलालका अनुसार निकुञ्जको ज्युडी खोलामा उनीहरू कुटिएका थिए। समूहमा पाँच जना पुरूष र दुई जना महिला थिए।
‘एक जना सैनिकले खोलामा डुबाएर बुट र लाठीले निर्घात कुटे। ठूला मुढाहरू बोकाएर निकुञ्जको लिगलिगे पोष्ट पुर्यायो’, घटना विवरण सुनाउँदै सन्तलालले भने,‘पछि अरू साथीलाई बोलाएर बाटोमा पनि कुट्दै पोष्ट पुर्यायो।’
त्यो दिन उनीहरूलाई साँझमात्र पोष्टबाट छाडिएको थियो। राप्ती-२बाट निकुञ्जभित्रको उक्त क्षेत्रमा पुग्न पैदल डेढ घन्टा लाग्छ।
राजकुमार स्थानीय ब्लक उद्योगमा काम गर्थे। लकडाउनका पछि उनको काम नियमित थिएन। त्यो दिन उनी आमा आइतीमायालाई ‘माछा मारेर ल्याउँछु है’ भनेर घरबाट हिँडेका थिए। घर निकुञ्जबाट नजिकै भए पनि उनी पहिलो पटक माछा मार्न गएका थिए।
पहिलो पटक माछा मार्न गएका राजकुमारले माछा मार्न सकेनन् बरू निलडाम बोकेर घर फर्किए।
‘दुई दिनपछि त उसको मुखबाट रगत आउन थाल्यो,’ आइतीमायाले भनिन्, ‘मेडिकलबाट औषधी ल्याएर खायो। निको भएन।’
मेडिकलको औषधीले निको नभएपछि साउन ७ गते साँझ उनलाई भरतपुर अस्पताल पुर्याइयो। उपचार सुरू गर्नुअघि नै उनको मृत्यु भयो।
राजकुमारको बाबु विष्णुलाल प्रजा सैनिकको कुटाइबाट छोराको मृत्यु भएको भन्दै जाहेरी दिन साउन ८ गते नै जिल्ला प्रहरी कार्यालय पुगेका थिए। तर त्यो दिन प्रहरीले जाहेरी दर्ता गरेन। भोलिपल्ट जाहेरी दर्ता भयो। उनीहरूले दोषीलाई कारबाही गरेर क्षतिपूर्ति नदिँदासम्म शव नै नबुझ्ने अडान राखेका छन्। प्रमुख जिल्ला अधिकारीको रोहवरमा पटक–पटक वार्ता भए पनि कुरा मिलेको छैन।
‘हामीले लिखित सहमति चाहियो भनेका छौं। उहाँहरू मौखिक रूपमा यसो गर्छौं, उसो गर्छौं भनिरहनुभएको छ,’ सन्तलालले भने।
राजकुमारको शव पोष्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ। चितवनमा विशेषज्ञ नभएका काठमाडौं पठाइएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए। सोमबार पोष्टमार्टम गरिए पनि त्यसको रिपोर्ट आउन केही दिन लाग्छ।
न्याय कुर्दै परिवार
राजकुमारकी डेढ वर्षीया छोरी छन्। छोरीलाई काखमा च्यापेर बसिरहेकी श्रीमती रिपुमायाको चिन्ता तिनै छोरीलाई कसरी हुर्काउने भन्ने छ।
‘उहाँकै कमाइले घर चलेको थियो। उहाँ नै गएपछि यो नानीलाई के खान दिने, कसरी हुर्काउने’, उनले दुःख सुनाइन्।
उनले श्रीमानलाई सेनाले किन कुट्यो होला भनेर धेरैबेर सोचिन्, तर पत्ता लगाइनन्।
‘माछा मार्नै त गएका थिए। माछा मार्न खोज्दा मान्छे नै मर्नेगरी कुट्नु पर्थ्यो र?,’ उनले भनिन्, ‘त्यसरी कुट्नेको घरमा छोरा छोरी, श्रीमती थिएन होला? त्यत्ति मात्रै सम्झिएको भए पनि त हुन्थ्यो!’
राजकुमारको अहिले पिलर गाडेर छानोमात्र हालिएको घर छ। पर्खाल थोरै लगाइएको छ। बोराले बारिएको कुनामा रहेको खाटमा पल्टिएकी आमा आइतीमाया बेलाबेलामा बेहोस भइरहन्छन्। अर्धचेत अवस्थामा पनि उनी आफ्नो छोरामाथि अन्याय भएको भन्दै समाज जुटाएर न्याय दिलाएरै छाड्ने बताउँछिन्।
डेढ वर्ष अघि कान्छो छोरो गुमाएकी आइतीमायालाई त्यो घटना बिर्सन नपाउँदै अर्को बज्रपात आइलागेको छ।
उनका कान्छा छोरा आमोसको १२ वर्षको उमेरमा क्यान्सरका कारण बितेका थिए। राजकुमार पनि केही वर्षअघि मोटरसाइकल दुर्घटनामा परेका थिए। उपचारपछि निको भएका उनलाई पछिल्ला दिनमा स्वास्थ्यमा समस्या थिएन। निरन्तर काम गर्दै आएका थिए।
आइतीमायाका तीन भाइ छोरामध्ये अब माइला छोरा पदममात्रै बाँकी छन्। २१ वर्षीय पदम गाडीमा सहचालकको काम गर्दथे। अहिले उनको त्यो काम पनि छैन।
‘सबै दाइले नै चलाउनुहुन्थ्यो, बुबाले सक्नुहुन्न। मैले पनि काम पाइरहेको छैन, अब घर चलाउनै समस्या हुने भयो’, पदमले सुनाए।
घटनाबाट विक्षिप्त बनेका विष्णुलाल स्पष्ट सुन्दैनन्, धेरै बोल्दैनन्।
‘छोरोको मृत्यु सेनाको कुटाइकै कारण भएको हो। दोषीलाई कारबाही होस्, पीडितलाई न्याय मिलोस्’, उनले भने।
आफैंले बनाएको घरमा बहालमा
राजकुमार, उनको श्रीमती र छोरी बस्दै आएको टिनले छाएको पक्की घर पहिले उनीहरूकै थियो। कान्छाको उपचारका क्रममा खर्च अभाव भएपछि उनीहरूले त्यो घर बेचे। पछि त्यही घरमा भाडामा बस्न थाले।
विष्णुलालका अनुसार कान्छा छोराको उपचारमा ३ लाख ५० हजार खर्च भयो।
‘त्यो खर्च जुटाउन नसक्ने भएपछि घर नै ४ लाख ६० रुपैयाँमा बिक्री गरियो’, उनले भने,‘पछि जेनतेन अर्को घरको पिलर हालेर छाउन सकिएको थियो। यस्तो अवस्था आइलाग्यो।’
उनले निकुञ्जका कारण छोराको मृत्यु भएका कारण घर पनि निकुञ्जले बनाइदिनु पर्ने माग गरे।
‘मौखिक रूपमा यस विषयमा सहमतिजस्तो भए पनि हामीले लिखित मागिरहेका छौं’, उनले भने,‘लिखित सहमति गर्न कोही तयार छैनन्।’
पीडित परिवारले छोरालाई कुट्ने सैनिकलाई आफ्नो अगाडि उपस्थित गराएर कारबाही गर्नुपर्ने, मृतककी छोरीलाई पढाउने जिम्मा लिनुपर्ने र मृतककी श्रीमतीलाई क्षमताअनुसारको रोजगारी दिनुपर्ने माग राखेका छन्।
प्रशासन कार्यालयले पठायो रिपोर्ट
सेनाबाट कुटिएका व्यक्तिको मृत्यु भएको घटना सर्वजनिक भएपछि नेपाली सेनाले अनुसन्धान सुरू गरेको जनाएको छ। सेनाले विज्ञप्ति नै जारी गरेर अनुसन्धान थालेको बताएको छ। उक्त विषयमा छानबिन गर्न वन मन्त्रालयले बनाएको समिति पनि चितवन आएर फर्किएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले घटनाको सम्बन्धमा ढिलो जानकारी पाएको बताए। यद्यपी यस विषयमा रिपोर्ट तयार पारेर केन्द्रमा पठाइसकिएको उनले बताए।
‘मृत्यु भएपछि मात्रै हामीलाई घटनाको विषयमा जानकारी भयो। पहिल्यै भनेको भए केही गर्न सकिन्थ्यो होला’, उनले भने,‘अझै पनि घटनाको छानबिन गरी सत्यकुरा पत्ता लगाएर दोषीलाई कारबाही गर्नुपर्छ भनेर लागिरहेका छौं।’
उनले दोषीलाई कारबाही गर्ने विषयमा प्रशासन प्रतिवद्ध रहेको बताए।
‘केही समय लाग्ला तर सत्यतथ्य बाहिर आउँछ। पीडितले न्याय पनि पाउँछन्। यसका लागि हामीप्रति विश्वास हुनुपर्यो’, उनले भने।
उनले मृत्युको कुनै क्षतिपूर्ति नहुने भन्दै राहत उपलब्ध गराउने विषयमा प्रशासनले समन्वय गरिरहेको बताए।
प्रशासन कार्यालय चितवनकाअनुसार मृतकको परिवारका लागि घर निर्माण, छोरीलाई छात्रवृत्ति, श्रीमतीलाई काम लगायतका विषयमा गम्भीर बन्न राष्ट्रिय निकुञ्जलाई आग्रह गरिएको छ।
‘निकुञ्ज सकारात्मक पनि छ तर मृतकका परिवारले भनेजस्तो सहमति लिखित नै नहुन पनि सक्छ। विश्वास गर्नुपर्छ’, भट्टराई भन्छन्।
चितवन प्रहरीले पनि मृतकको परिवारका तर्फबाट उजुरी परेका कारण अनुसन्धान चलाइएको जनाएको छ। यस बाहेक प्रहरीले थप बोलेको छैन।