ठूलो तामझामका साथ सुरू गरिएको चितवनको कोरोना अस्थायी अस्पताल अलपत्र परेको छ। नेपालमा कोरोना भाइरसको महामारी सुरू हुँदै गर्दा २०७६ चैत ७ गते अस्थायी अस्पतालको उद्घाटन गरिएको थियो।
‘भरतपुर महानगरपालिकाले बिजुली गतिमा ७२ घन्टामा अस्पताल स्थापना गर्यो’ भनेर व्यापक प्रचार गरिएको उक्त अस्पतालले सेवा दिन छाडेको डेढ महिना भयो।
असार २ गते विज्ञप्ति जारी गर्दै निर्मलीकरणका लागि केही दिन अस्पताल बन्द रहने भनिएको थियो। तर अहिलेसम्म पनि अस्पताल सञ्चालनको तयारी छैन। बरू बेवास्ताका कारण झार बढेर मूल ढोका नै छोप्न लागेको छ। मूल गेटसँगै जोडेर राखिएको स्वचालित डिसइन्फेक्सन मेसिन छेउमा थन्क्याइएको छ। गेटमा राखिएको सूचना पार्टी झिकिएको छ।
कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै विभिन्न स्थानमा पुनः लकडाउन सुरू गरिएको छ। अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ। तर यहाँ भने कोरोना संक्रमितको उपचारकै लागि भनेर ठूलो रकम खर्चिएर स्थापना गरिएको अस्पताल नै अलपत्र अवस्थामा छ।
भरतपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको भए पनि केही हप्तामै यसको स्वामित्व भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको थियो। स्वामित्व हस्तान्तरणको क्रममा अस्पतालमा रहेका सामान शंकास्पद रूपमा निकालिँदै गरेको भिडिओ सार्वजनिक भएपछि अस्पताल व्यवस्थापनको व्यापक आलोचना भयो। सुरूआतदेखि नै आर्थिक पारदर्शिता नअपनाएको आरोप झेल्दै आएको अस्पताल अहिले ‘न खुल्ने न बन्द हुने’ अवस्थामा छ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारी अस्थायी अस्पताललाई निर्मलीकरण गर्ने कार्य सकिएको धेरै समय भइसके पनि पुनः सञ्चालन गर्ने नगर्ने टुंगो नलागेको बताउँछन्। विगतको जस्तो तरिकाबाट अस्पताल सञ्चालन गर्नु हुँदैन भन्ने पक्षमा आफू रहेको उनले बताए।
‘विशेष अस्पताल भनेर सञ्चालन गरिसकेपछि कोरोना भाइरसको सबै उपचार त्यहीँ हुनुपर्छ। कम्तिमा पनि भरतपुर अस्पतालको जत्तिको सेवा सुविधा त्यहाँ हुनुपर्छ,’ उनले भने, ‘तर हामीले चलाएको अस्थायी अस्पतालमा त्यस्तो कुनै सेवा छैन। नाममात्रैको अस्पताल चलाउनुको अर्थ छैन।’
उनले भरतपुर अस्पतालले पहिलेकै जस्तो अस्पताल पुनः त्यही ठाउँमा चलाउनुभन्दा अस्पतालभित्रै एउटा ब्लक छुट्टाएर चलाउनु उपयुक्त हुने बताए।
‘पहिलेजस्तो अस्पताल चलाउने भए स्थानीय तहले चलाउन सक्छन्, हामीलाई त्यसरी चलाउनु आवश्यक छैन,’ उनले भने, ‘स्रोत र साधनको राम्रो व्यवस्था भयो भने मर्मत गरेर सेवा सुविधा थप गरी चलाउन सकिन्छ।’
अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले भरतपुर अस्पतालसँगै रहेको सिटिइभिटीको भवनलाई अस्थायी अस्पतालका रूपमा विकास गर्ने विकल्प रहेको बताए।
‘हामीले उक्त प्रस्ताव मन्त्रालयमा पठाएपछि स्वीकृत पनि भइसकेको छ,’ उनले भने, ‘ठूलै विपद् आइपरे पहिलेको अस्थायी अस्पताल पनि प्रयोगमा ल्याउँला नत्र अस्पताल परिषर भित्रै तयार गरौं भनेर लागेका छौं।’
उनले कोरोना अस्थायी अस्पताल सञ्चालन गर्दा अनावश्यक विवाद आइलागेको भन्दै यसप्रति पनि सजग बन्दै अस्पतालले निर्णय लिने बताए।
कोरोना विशेष अस्थायी अस्पताल चलाइएको भवन चितवन उद्योग संघको स्वामित्वमा रहेको औद्योगिक प्रदर्शनी केन्द्रको हो। तीन महिनाका लागि भनेर मागिएको केन्द्रमा अझै पनि अस्पतालका संरचना छन्। तर उद्योग संघलाई कुनै पनि संस्थाले अस्पताल फेरि चलाउने वा नचलाउने आधिकारिक जानकारी दिएका छैनन्।
‘अस्पतालको सेवा बन्द छ तर अब पुनः सुचारू हुने हो कि होइन भनेर हामीलाई कसैले जानकारी गराएको छैन’, संघका अध्यक्ष राजु पौडेलले भने, ‘कोराना भाइरसको अवस्था कस्तो हुन्छ भन्ने एकिन नभएका कारण हामी पर्खिरहेका छौं।’
उपचारमा सहज होस् भनेर भवन उपलब्ध गराइएको भन्दै उनले सम्बन्धित निकायले बेवास्ता गरे पनि केही समय कुर्ने बताए। उनले सुरूमा महानगरपालिकाले सक्रियता देखाएर भवन मागेका कारण महानगरले नै अब के गर्ने भन्ने जानकारी देला भनेर पर्खिरहेको बताए।
करिब ३ महिनाको अवधिमा कोरोना अस्थायी अस्पतालले शंकास्पद ९ सय ५३ जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाएको थियो। तीमध्ये २८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएकोमा ४ जना यही अस्पतालबाट निको भएर घर फर्किएका थिए।
असार २ गते उक्त अस्पतालले १८ जना संक्रमितलाई भरतपुर अस्पतालमा पठाएर सेवा स्थगन गरेको थियो। त्यसअघि अस्पतालको लापरबाहीका कारण बिरामी राख्ने ठाउँमा वाथरूमको पानी छिरेको भन्दै आलोचना भएको थियो।
कोरोना अस्पताल सञ्चालन गर्न सुरूआतमा भरतपुर महानगरपालिकाले ६ लाख ५० हजार रुपैयाँ छुट्टाएको थियो। पछि चैत २० गते बागमती प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट छुट्टायो। यसबाहेक भरतपुर अस्पतालले सामान्य खर्चमात्रै गरेको अस्पतालका अध्यक्ष डाक्टर अधिकारीले बताए। यहाँ ५० शैयाको जेनरल वार्ड र १० शैयाको एचडियू थिए। अहिले पनि ती संरचनाहरू यही छन्।
दश आइसियू र दुई भेन्टिलेटरको भर
चितवनमा कोरोना संक्रमितको उपचार अहिले भरतपुर अस्पतालमा मात्रै हुन्छ। जिल्लाका अन्य अस्पतालमा संक्रमित पुष्टि भए पनि उपचारका लागि भरतपुर अस्पतालमै लैजाने गरिएको छ।
कोरोना संक्रमितको उपचार हुने जिल्लाकै एक मात्र अस्पतालमा अहिले १० वटा आइसीयू कक्ष छन्। भेन्टिलेटर दुइटामात्रै छन्।
‘यी कोरोना संक्रमितकै लागि भनेर बनाइएका हुन्’, डा.तिवारीले भने, ‘पर्याप्त छैनन्, थप गर्नुपर्छ भनेर केन्द्रमा माग गरेका छौं।’
उनले चितवनमा अहिले संक्रमण घटेजस्तो देखिए पनि फेरि बढे अहिले भएको संरचनाले नपुग्ने बताए। जिल्लाका सबै अस्पतालमा गरी करिब ५ दर्जन भेन्टिलेटर छन्। तर, कोरोना देखिहाले भेन्टिलेटरकै बिरामीलाई पनि भरतपुर अस्पताल पठाउने चलन छ।
भरतपुर अस्पतालले कोरोना संक्रमितकै लागि भनेर ७५ वटा सामान्य शैया पनि तयार पारेको छ।
जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार चितवनमा अहिलेसम्म १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ। अहिले भरतपुर अस्पतालमा ६ जना माडीमा ८ जना संक्रमित उपचारका क्रममा रहेको स्वास्थ कार्यालयका प्रमुख दीपक तिवारीले बताए।
जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टिनहरुमा ४ सय जना छन्। उनीहरूमध्ये अधिकांश भारतबाट फर्किएका छन्। भारतपछि खाडी मुलुकबाट फर्किनेको संख्या बढी छ।
स्वास्थ्यकर्मीले कोरोना भत्ता अझै पाएनन्
सरकारले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहनका लागि २ सय प्रतिशतसम्म कोरोना भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो। तर केन्द्रीय अस्पतालका रूपमा रहेको भरतपुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले अहिलेसम्म यो सुविधा पाएका छैनन्।
भरतपुर अस्पतालले तीन महिनाको कोरोना भत्ता उपलब्ध गराउन ४ करोड रुपैयाँ आवश्यक पर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको छ। प्रोत्साहन भत्ताको टुंगो अझै लागेको छैन।
‘तत्कालका लागि डेढ करोड रुपैयाँसम्म आउँछ कि भन्ने कुरा छ’ अध्यक्ष डा.अधिकारीले भने, ‘यति आयो भने पनि स्वास्थ्यकर्मीलाई प्रोत्साहन हुन्थ्यो।’
यसअघि अस्पताल विकास समितिले सबै स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई २५ प्रतिशत भत्ता उपलब्ध गराएको थियो। सरकारले ढिलै भए पनि भत्ता पठाउने ग्यारेन्टी गरिदिए तत्कालका लागि अस्पताल विकास समितिको बजेट खर्च गर्न सकिने उनले बताए।
‘पछि सोधभर्ना गर्न मिल्नेगरी खर्च गर्न सकिन्थ्यो। यसले स्वास्थ्यकर्मीलाई प्रोत्साहन मिल्थ्यो’, उनले भने।
कोरोना भाइरसको संक्रमण सुरू भएयता यससँग सम्बन्धित खर्च मात्रै करिब २ करोड भएको भरतपुर अस्पतालले जनाएको छ। उक्त खर्चको करिब ५० प्रतिशत सरकारले सोधभर्ना गरे पनि अन्य रकम अस्पताल विकास समितिबाटै भइरहेको अध्यक्ष डा. अधिकारीले बताए।
भरतपुर अस्पतालले स्वास्थ्यकर्मीका लागि पिपिई खरिदमा मात्रै ५० लाख रुपैयाँ खर्च गरेको छ। अस्पतालका सम्पूर्ण कर्मचारीलाई एक महिना कोरोना भत्ता दिन ६० लाख र अस्पतालमा कोभिड १९ को उपचारका लागि आवश्यक संरचना बनाउन ५० लाख रुपैयाँ खर्च भएको अधिकारीले बताए।
प्रयोगशालाका छुट्टै दुःख
खर्च अभावका कारण सञ्चालनमा समस्या रहँदै आएको भरतपुर अस्पताल मातहतको कोभिड १९ परीक्षण प्रयोगशालाका लागि सरकारले केही दिनअघि मात्रै ५० लाख रुपैयाँ उपलब्ध गराएको छ।
प्रयोगशाला सञ्चालनमा आएको महिनौंपछि सरकारले बजेट दिएको हो। उक्त रकमले प्रायोगशालाका लागि भएको खर्चको करिब आधा रकममात्रै सोधभर्ना गर्न पुग्छ। भरतपुरमा रहेको प्रयोगशालाले चितवन र आसपासका विभिन्न जिल्लामा संकलन गरिएको स्वाब परीक्षण गर्दै आएको छ।
स्थानीय स्रोत साधनबाट सुरू गरिएको प्रयोगशालामा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललगायतका कर्मचारीले सोही अस्पतालको तलब सुविधा लिएर काम गर्दै आएका छन्। जोखिम मोलेर फ्रन्टलाइनमा काम गर्दै आएका यहाँका कर्मचारीले अहिलेसम्म प्रोत्साहन भत्ता पाएका छैनन्।