माडीको कुसुमखोलामा चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले जलाइदिएकै ठाउँमा स्थानीयले घर बनाएका छन्। साउनको ३ गते निकुञ्जका कर्मचारीहरूले यहाँका दुइटा घरमा आगो लगाउनुका साथै अन्य ८ वटा घर/गोठहरू भत्काइदिएका थिए।
मंगलबार बिहान ११ बजे कुसुम खोलाको धुपखोला पुग्दा दीपबहादुर चेपाङ नयाँ घरको अगेनामा आगो फुक्दै थिए।
खानाको तयारीमा रहेका उनी नयाँ मान्छे देखेर झस्किए। पहिले जलाइएकै ठाउँमा सानो घर बनाएका उनमा फेरि कोही आएर यो घर पनि भत्काइदिने हो कि भन्ने चिन्ता छ।
निकुञ्ज प्रशासनले एक हप्त भित्र गाउँ छाडेर जान उनीसहित यहाँका दश परिवारलाई उर्दी जारी गरेको थियो।
‘बस्ने ठाउँ नै नभएपछि आफैंले काठपात जोडेर यो घर बनाएँ। सहयोगी संस्थाहरूले दिएको त्रिपालले ओत लगाएको छु’, दीपबहादुरले सुनाए,‘अहिलेलाई घाम पानी छल्न मिलेको छ।’ उनले एक दिन पूरै समय लगाएर घर बनाएको बताए।
‘ठूलाबडाले यो झुप्रोलाई पनि मचान भन्ने होलान्’, उनले थपे, ‘उनीहरूलाई के थाहा चेपाङको घर नै यस्तै हुन्छ भन्ने ?’
दीपबहादुरको घरभन्दा केही पर रहेको दानबहादुर चेपाङको घर पनि तयार भएको छ। उनले पनि जलाइएकै ठाउँमा मकैको ढोडले बारेर घर तयार पारेका छन्।
बाँसको टाँड बनाएर सुत्ने बस्ने व्यवस्था मिलाएका छन्। आडैमा एउटा चुल्हो छ। चुल्होको माथि भाँडाकुँडा छन्। निकुञ्जले जलाइदिएको आफ्नो घरलाई गोठ भनेर प्रचार गरिएकोप्रति उनले असन्तुष्टि जनाए।
‘मेरो बस्ने घर नै त्यही थियो। बुवा-आमा पल्लो घरमा बस्नुहुन्थ्यो, म त्यहीँ घरमा बस्थें। त्यहीँ राखेको मेरो पैसा र नागरिकता जलेर खरानी भयो तर घर होइन गोठ हो भनेर भनेछन्’, उनले गुनासो गरे, ‘किन यसो गरियो त्यो त म जान्दिनँ तर त्यो कुरा झूटो हो।’
उनले पर रहेको आफ्नो गोठ पनि देखाए। त्यहाँ दुइटा गाई थिए।
‘यो गोठबाहेक कतै पनि हामीले गाई/गोरु बाँधेकै छैनौं’, उनले भने, ‘यही घरमा गाई बाँधेको फोटोहरू कसरी बनाइयो, किन बनाइयो मलाई थाहा छैन।’
घर छाडेर कता जाऊँ ?
वैकल्पिक व्यवस्था बिना घर छाड्न बाध्य पारिएको कुसुम खोलाबासीको गुनासो छ। माडी नगरपालिकाले केहीका लागि घर बनाइदिए पनि आफ्नो लागि केही व्यवस्था नभएका कारण गाउँ छाड्न नसकेको गुनासो गर्छन् दीपबहादुर चेपाङ।
‘यसपालि त हात्ती लगाएर मकै पनि बिगारिदिए’, उनले दुःख सुनाए, ‘के खाएर बाँच्ने हो थाहा छैन,’ चुल्होमाथि झुण्ड्याइएको करिब १० झोली मकै देखाउँदै उनले भने, ‘यसपालिको मकै यत्ति हो। पहिले त मकै वर्षभरि खान पुग्थ्यो।’
हात्तीले घर भत्काएको धमबहादुर चेपाङले मेयर ठाकुरप्रसाद ढकालले गाउँमा आएर वर्षायामपछि नयाँ घर बनाएर सार्ने आश्वासन दिएको बताए।
‘हामी घर बनाइदिएर ५ कट्ठा जमिन उपलब्ध गराइदिए मात्रै सर्न तयार छौं’, उनले भने, ‘बस्ने, खाने व्यवस्था नभएसम्म अब हट्दैनौं।’
उनले जस्तोसुकै समस्या आए पनि गाउँ नछाड्ने बताए।
बलराम चेपाङले कुसुमखोलाको १० कट्ठा जमिनमा धान रोपेका छन्। गाउँ पुगेका मेयरले धान थन्काउन पाउने आश्वासन दिएको भन्दै उनले खुसी दर्साए।
‘तै पनि फेरि कोही आएर बिगार्दिने हो कि’, उनको मनमा डर भने बाँकी नै छ।
‘हामीलाई न कतै जमिन दिएको छ, न कतै घर बनाइदिएको छ’, उनले भने, ‘यहाँ पनि नबस, गैहाल् भनेर कहाँ भयो र? हामी कहाँ जाने, कसरी बस्ने त टुंगो लगाइदिनुपर्यो नि।’
माडी नगरपालिकाले कुसुम खोला बस्ती स्थानान्तरण गरी विभिन्न ठाउँमा बस्ती बसाल्ने प्रयास गरेको थियो।
तर, नयाँ बस्ती बसाल्नेक्रममा रूखहरू काटेर अपचलन गरिएको भन्दै उजुरी परेपछि चितवन राष्ट्रिय निकुञ्जले घर निर्माण कार्य रोकेको छ।
चेपाङको गुनासो : मन्त्रीको अभिव्यक्तिले दु:खी बनायो
कुसुम खोलाबासीले वन मन्त्रीले दिएको अभिव्यक्तिले दुःखी बनाएको बताए।
वन मन्त्री शक्तिबहादुर बस्नेतले घर नभई अन्यत्र घर भएका व्यक्तिले बाली कुर्नका लागि बनाइएको गोठ र मचान जलाएको/भत्काएको बताएका थिए।
‘चेपाङलाई हेपेर त्यसो भनेका होलान्’, धमबहादुरले भने, ‘हामीलाई नागरिक नै होइन भन्ने ठानेका होलान्।’
उनले महलमा बस्नेले झुप्रोलाई घर नदेख्ने भन्दै जनताको सेवा गर्लान् भनेर आशा गरेको मन्त्रीको भनाइले चेपाङहरूको चित्त दुखेको बताए।
‘चेपाङहरूलाई त त्यही झुप्रो पनि ठूलो महल लाग्छ, बमबहादुर चेपाङले दुखेसो पोखे, ‘महलमा बस्नेलाई झुप्रो पनि मचान लाग्दो रहेछ। साह्रै दुःख लाग्यो।’
उनले साइकलसम्म पनि नभएका चेपाङलाई मोटरसाइकल चढेर बाली हेर्न आउँछन् भनेर आफूहरूलाई आरोप लगाइएको गुनासो गरे।
समाचार पढेर सहयोग
यसअघि सेतोपाटीमा प्रकाशित समाचार पढेपछि अमेरिकामा रहेका नेपालीहरूले कुसुम खोलामा रहेका चेपाङ समुदायलाई सहयोग गरेका छन्। अमेरिकाको भर्जिनियामा रहेका मोरङको बेलबारीका दिनुप पराजुली र सचिता कार्की, अमेरिकाकै लस एन्जलसमा रहेका चितवनका अनिष सापकोटा र बाल्टिमोरमा रहेका आशिष भण्डारीले सहयोग गरेका हुन्।
उनीहरूले पठाएको रकमले कुसुम खोलाका १० घरका ५६ जनाका लागि ब्ल्यांकेट, १४ जना बालबालिकाहरुका लागि ट्रयाक सुट, झुल, ब्रस, मञ्जन, साबुन, बिस्कुटलगायतका सामग्री सहयोग गरिएको थियो ।