चितवनमा ७९ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर महानगरपालिका–२ का ती वृद्धमा आज संक्रमण पुष्टि भएको हो।
भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको स्वाव परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो। चिकित्सकहरुले उनमा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमण समुदायमा पुगेको आशंका गरेका छन्।
ट्राभल हिस्ट्री हेर्दा उनी केही समय अघि घर नजिकैको एक स्वास्थ्य संस्थामा थेरापीका लागि जाने गरेका थिए। तर केही दिनदेखि भने उनी घरमै रहेको परिवारले बताएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए।
ती वृद्धको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार भरतपुर अस्पताल पुगेका थिए। त्यहीँ उनको स्वाव संकलन गरिएको थियो।
परिवारले दिएको जानकारी अनुसार उनी घरमा छुट्टै कोठामा बस्ने गरेका थिए। छोराले उनको स्याहार गर्दथे। भरतपुर अस्पतालकाअनुसार उनले सुगर र रक्तचापको औषधि सेवन गर्ने गरेका छन्।
उनले घरबाटै चिकित्सकहरुसँग परामर्श लिइरहेको र उमेर र स्वास्थ्यवस्थाका कारण अस्पतालमै राखेर उपचार गराउने तयारी भइरहेको सूचना अधिकारी पौडेलले बताए।
केही समय अघि चितवनमा ट्राभल हिस्ट्री नदेखिएकी एक सुत्केरी महिलामा कोरोना संक्रमण देखिएको थियो। उनी निको भएर घर फर्किइन्। अर्का एक वृद्ध व्यक्तिलाई अस्पतालको भेन्टिलेटरमा हुँदा संक्रमण देखिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भयो। त्यसयता कोरोना पुष्टि हुनेहरु विदेशबाट आएकाहरु छन्।
यहाँ ११ दिन यता कोरोना संक्रमित भेटिएका थिएनन्। चितवनमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ सय १६ पुगेको छ। बुधबार यहाँ १ सय ५२ जनाको स्वाव परीक्षण गर्दा १ सय ५१ जनाको रिपोर्ट भने नेगेटिभ देखिएको छ।