बुधबार अपरान्ह चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एउटा दुर्लभ दृश्य देखियो।
पर्यटकीय नगरी सौराहानजिकै रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनको घाँसे मैदानमा विचरण गर्दै थिए, भगौडी र तिखे। साथमा उनीहरूका केटाकेटी पनि थिए।
भगौडी र तिखे बाघमाराका रैथाने पोथी गैंडा हुन्। यी दुईले यसपालि केही दिनको फरकमा बच्चा जन्माए। बाघमारा हात्ती चढेर गैंडा हेर्नका लागि प्रख्यात वन हो। सौराहाका अधिकांश निजी हात्ती पर्यटक बोकेर यही वनमा डुल्ने गर्दछन्।
अहिलेसम्म दुइटा गैंडाले यति छोटो अन्तरमा बच्चा जन्माएका थिएनन्। दुइटा पोथी गैंडाले केटाकेटी स्याहार्दै गरेको दृश्य एउटै फ्रेममा हुनु दुर्लभ संयोग हो।
बाघमारामा रहेको अर्को गैंडा पनि गर्भवती छ।
‘अब एक हप्तामा सिंग बांगेले पनि बच्चा जन्माउँछे होला,’ वनका अध्यक्ष जीतबहादुर तामाङले भने, ‘यो त इतिहास नै हुने भयो। हामीले यस्तो दृश्य कहिल्यै देखेका/सुनेका थिएनौं।’
गैंडाले १८ महिनामा बच्चा जन्माउँछ।
१८ वर्षदेखि यस वनमा वन हेरालुको काम गर्दै आएका तमबहादुर तामाङ वर्षमा एउटा गैंडाले बच्चा जन्माएको देख्दै आए पनि एकै पटक एकै ठाउँमा दुइटा गैंडालाई केटाकेटीको साथमा कहिल्यै नदेखेको बताउँछन्।
‘अब त अर्कीले पनि बच्चा जन्माउने बेला हुन थाल्यो,’ उनले सुनाए, ‘त्यो त झन अनौठो संयोग हो।’
भगौडी सुत्केरी भएको दुई हप्ता भयो। करिब एक महिनाअघि तिखेले बच्चा जन्माएकी थिई। भागिरहने भएका कारण बाघमारा वनले उनको नाम भगौडी राखेको थियो। सिङ तिखो भएका कारण अर्कीको नाम तिखे राख्यो। गर्भवती सिंगबांगेको बांगो सिङ छ।
बाघमारा वनले गत वर्ष ४० हेक्टर नयाँ क्षेत्रमा घाँसे मैदान तयार पारेको थियो।
घाँसे मैदानको व्यवस्थापन राम्रो हुँदै गएपछि एक सिंगे गैंडाको संख्या बढ्न थालेको अध्यक्ष तामाङले बताए। यहाँ करिब दुई दर्जन रैथाने गैंडा छन्। अन्यत्रबाट आइरहने पनि गरेर १५ देखि २० वटासम्म एक सिंगे गैंडा यस वनमा भेटिन्छन्।
पर्यटकको चहलपहल बाक्लो हुने यस वनमा साढे चार महिनायता पर्यटक पुगेका छैनन्। हात्ती सफारी बन्द छ। लकडाउनअघि दैनिक ७० वटा हात्ती पर्यटक बोकेर यस जंगलमा पस्थे। एउटा हात्ती एक दिनमा कम्तिमा दुई पटक जंगल पस्थ्यो।
सफारी कहिले खुल्ने भन्ने अझै टुंगो लागेको छैन। वन्यजन्तुमा कोरोना भाइरसको असरको विषयमा अनुसन्धान भइरहेको भन्दै अध्यक्ष तामाङले अनुसन्धानको रिपोर्ट आएपछि हात्ती सफारी सुरू हुने बताए। ‘यद्यपी हामीलाई कसैले पनि हात्ती चलाउ वा नचलाऊ भनेका छैनन्,’ उनले भने, ‘हामी आफैं रोगप्रति सचेत बन्दै निर्णय लिन्छौं।’
बाघमारा वनको प्रमुख आयस्रोत भनेकै हात्ती सफारी हो। यस वनले पर्यटनमार्फत भएको आम्दानीको ठूलो हिस्सा स्थानीय क्षेत्रको शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतमा खर्च गर्ने गरेको छ।
तस्बिरहरू: